५४ जनामा हैजा पुष्टि

काठमाडौं । असार २ देखि काठमाडौंमा फैलिएको हैजा संक्रमण १ भदौं सम्म आइपुग्दा ५४ जनामा देखिएको छ ।

इडीसीडीका अनुसार काठमाडौं भक्तपुर, ललितपुर, नुवाकोट र धादिङमा गरी यस वर्ष हैजा संक्रमितको संख्या ५४ जनामा देखिएको हो ।

काठमाडौंका कागेश्वरी मनोहरा, गोकर्णेश्वर, चन्द्रागिरि, नागार्जुन, बुढानीलकण्ठ र कीर्तिपुर नगरपालिकामा पनि हैजा देखिएको छ । ललितपुरका महालक्ष्मी र भक्तपुरको मध्यपुर थिमि, चाँगुनारायण, सूर्यविनायक लगायतका ठाउँमा समेत हैजा देखिएको छ ।

त्यसैगरी, उपत्यकाबाहिर भने नुवाकोटको ककनी र धादिङको थाक्रे गाउँपालिकामा हैजा संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

संक्रमित हुनेमध्ये सातजना १४ वर्षमुनिका बालबालिका छन् । परीक्षण गरिएकामा धारा, ट्युबेल, जारलगायत सबै स्रोतका पानीमा हैजा फैलाउन सक्ने जीवाणु भेटिएकाले पानी उमालेर मात्रै पिउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ६ : २६ बजे