देशलाई निकास र विकास दिन एमालेको सरकार आवश्यक : उपाध्यक्ष नेम्वाङ

कपिलवस्तु । नेकपा (एमाले)का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले सर्वोच्च अदालतको परमादेशबाट जन्मिएको वर्तमान गठबन्धन सरकारले जनताका निम्ति कुनै काम गर्न नसकेको बताउनुभएको छ । 

उहाँले अहिले देश अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको बताउँदै देशलाई निकास र विकास दिन अब एमालेको सरकार आउनुपर्ने बताउनुभयो । 

नेकपा (एमाले) कपिलवस्तुले आइतबार आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले निर्वाचन आयोगले सिफारिस गर्दा समेत वर्तमान गठबन्धन सरकार निर्वाचन गराउन नचाहेको भन्दै एमालेले पटक पटक दबाब दिएका कारण नै सङ्घ र प्रदेशको निर्वाचनको मिति तोक्न बाध्य भएको औँल्याउनुभयो ।

एमालेका सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले पार्टी सङ्गठनको शुद्धीकरण, सुदृढीकरण र पुनः व्यवस्थित गर्दै अहिले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो  ।उहाँले मङ्सिर ४ को निर्वाचनबाट एमाले पुनः सबैभन्दा ठुलो दल बन्नबाट कसैले रोक्न नसक्ने बताउनुभयो ।

सचिव विश्वकर्माले स्थानीय तहको निर्वाचनको समीक्षा गर्दै र कमी कमजोरीहरूलाई सच्याउँदै पार्टी अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा नयाँ उर्जाका साथ आजैबाट लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।  

पार्टीका पोलिटव्यूरो सदस्य विमला घिमिरेले पार्टीलाई मजबुत बनाएर अगाडि बढ्न जरुरी रहेको बताउनुभयो । 

केन्द्रीय सदस्य गिरधारीलाल न्यौपानेले समाजवादी व्यवस्था स्थापना गर्नका निम्ति सङ्घ र प्रदेशको चुनावमा एमालेले जित्नै पर्ने बताउनुभयो । उहाँले गठबन्धनले जित्यो भने काँग्रेसको नेतृत्वमा समाजवाद नभई देश बरबाद हुने र दलाल पुँजीवाद आउने भनाई राख्नुभयो । 

नेकपा(एमाले) जिल्ला कमिटीका अध्यक्ष डम्मर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा लेखा आयोगका उपाध्यक्ष विष्णु पन्थी, केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज बलराम अधिकारी लगायतले पनि मन्तव्य राख्नुभएको थियो । 

प्रशिक्षण कार्यक्रममा करिब पाँच सय अगुवा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । 

 

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ७ : ४२ बजे