प्रधानमन्त्री देउवासँग मुक्त कमलरीका समस्या समाधान गर्न माग

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल सरकार र कमलरीबीच भएको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्न माग गरिएको छ ।

मुक्त कमलरी विकास मञ्चको अग्रसरतामा गएको प्रतिनिधिमण्डलले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा उहाँलाई भेटेर कमलरीका समस्या सम्बोधन गर्न आग्रह गरेको मञ्चका संस्थापक अध्यक्ष मन्जिता चौधरीले जानकारी दिनुभयो ।

सङ्घीय सांसद शान्ता चौधरी नेतृत्वको प्रतिनिधिमण्डलले तत्काल मुक्त कमलरी बस्दै आएको छात्रावासमा यसअघि सरकारले गर्दै आएको खान बस्नको प्रबन्धलाई नियमितता दिन र कमलरीका लागि स्नातक तहको छात्रवृत्ति कटौती नगर्न आग्रह गरेको हो । 

यसबाहेक मुक्त कमलरीको पुनः स्थापनलगायत विषयमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराइएको संस्थापक अध्यक्ष चौधरीले बताउनुभयो । 

सो अवसरमा प्रधानमन्त्री देउवाले उपरोक्त समस्या समाधानका लागि तत्काल मातहतका निकायलाई निर्देशन दिने आश्वस्त पार्नुभएको थियो । 

सरकार र कमलरीबीच समस्या समाधानका लागि २०७४ साल जेठ २४ गते १० बुँदे सम्झौता भएको थियो । 

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ७ : २७ बजे