राजनीतिमा परिवारवादको लोभ गर्नु हुँदैन : अध्यक्ष ओली 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा परिवारवादको लोभ गर्नु नहुने बताउनुभएको छ 

उहाँले आफू अहिलेसम्म नातावाद–कृपावादबाट टाढा रहेको भन्दै योगदानबिना नेतृत्वमा पुर्‍याउने प्रवृत्ति पार्टीमा नरहेको बताउनुभयो।

राष्ट्रिय युवा सम्मेलनमा अध्यक्ष ओलीले पार्टीमा म नातावाद–कृपावादको आरोप नलागेको मान्छे हुँ भन्नुहुँदै आफ्नो परिवारका व्यक्तिहरू सक्षम भए पनि आफूले राजनीतिमा नल्याएको बताउनुभयो । 

उहाँले आफ्नो श्रीमती दुई विषयमा मास्टर्स गरेको बैङ्कमा काम गरेर रिटायर भएको तर, राजनीतिमा लोभ गर्नु हुँदैन भनि परिवारका सदस्यलाई आफुले राजनीतिमा नल्याएको  बताउनुभयो ।  उहाँले श्रीमती पनि राजनीतिमा हुँदा मैले नताने पनि अर्काले श्रीमती तान्यो भन्ने ठान्ने पनि बताउनुभयो ।

“मैले नेतृत्व गरिरहेको पार्टीमा कमसेकम यस्तो छैन । म नातावाद–कृपावादको आरोप नलागेको मान्छे हुँ । मेरी श्रीमती दुई विषयमा मास्टर्स हुन् । बैङ्कमा काम गरेर रिटायर भएकी हुन् । तर, राजनीतिमा लोभ गर्नु हुँदैन । मेरी श्रीमती पनि राजनीतिमा हुँदा मैले नताने पनि अर्काले श्रीमती तान्यो भन्ने ठान्छ ।” उहाँले भन्नुभयो । 

योगदान  बिना पार्टीको नेतृत्वमा आउन नहुने भन्नुहुँदै योगदानबिना  कहीपनी नेतृत्व चाहिन्छ भनेर दाबी नगर्न सबैलाई उहाँले आग्रह गर्नुभयो । 

“मेरो आफ्नो र अर्को भन्ने हुँदैन । तपाईँहरूले मेरो भाइ छ आफ्नै, मेरो बुवाको छोरा भन्ने सुन्नुभएको छ ?  उसले राजदूत, एमडी हुन बल गरेको छ ? अहिले पनि १० कट्ठा जमिनमा हलो जोतेर बस्छ । वडा कमिटीमा सङ्गठित छ । उसले थाहा पाएदेखि राजनीति गर्‍या हो । तर भद्रपुर नगरपालिकाको वडा कमिटीमा छ । मेरो भाइले संसद्मा उम्मेदवारी पाउने वाला छैन । तपाईँहरू ढुक्क हुनुस् । मेरो आफ्नै भाइ किन वडा कमिटीमा छ भने उसले गरेकै काम त्यत्ति हो । जसले जे गर्छ त्यसअनुसारको जिम्मेवारी पाउँछ । खुशीसाथ आफ्नो काम गर्छ र जिविका चलाउँछ ।”, उहाँले भन्नुभयो । 

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  १२ : ०० बजे