युवा भएपछि सबै थोक हुन्छ भन्ने सोच्न हुँदैन : अध्यक्ष ओली  

​​​​​​​​​​​​​​काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उपचार गर्न पैसा नभएको बताउनुभएको छ । 

राष्ट्रिय युवा सम्मेलनमा अध्यक्ष ओलीले आफ्नो र श्रीमतीको नाममा भएको सबै सम्पत्ति सरकारको नाममा गरिदिएकाले बिरामी हुँदा उपचार गराउने खर्च समेत नभएको बताउनुभएको हो  ।

उहाँले सांसदबाट आउने पैसाले अहिले उपचार गराइरहेको बताउनुभयो ।  “सांसद भएकाले अलिअलि त्यहाँबाट आउँछ । नभए म र मेरो श्रीमतीसँग केही छैन । हामीले हाम्रो सबै सम्पत्ति सरकारको नाममा गरिदिएका छौँ । तपाईँहरूलाई थाहा छदै छ होला सरकारको नाममा गरिदिएपछि त्यसलाई बेच्न वा धितो राखेर पैसा निकाल्न मिल्दैन । अब तपाईँहरूले उपचार गराइदिनुभयो भने छुटै कुरा नभए मसँग उपचार गर्ने पैसा छैन ।”, उहाँले भन्नुभयो । 

अध्यक्ष  ओलीले आफूभन्दा ज्येष्ठ नागरिकका कुरा पनि सुन्न युवाहरूलाई आग्रह गर्नुभयो । उहाँले यो बुढो प्रोफेसर, यसकै कुरा मात्र किन सुन्ने भन्नुभयो गलत हुन्छ भन्नुभयो । उहाँले बुढाहरूसँग के सिक्नु भन्न थालियो भने कुनै पनि कुराको विकास गर्न नसकिने समेत बताउनुभयो । 

उहाँले युवा भएपछि सबै थोक हुन्छ भन्ने सोच्न नहुने बताउनुभयो । उहाँले युवामा शालीनता, विनम्रता, सिक्ने प्रवृत्ति, आफैले सिक्नुपर्छ भन्ने प्रवृत्ति हुनुपर्छ भन्नुहुँदै म जान्दछु छु,  म जानकार छु भन्ने भावना पलायो भने त्यस दिनदेखि मान्छेले जान्न छोड्दछ भन्नुभयो । 

ज्ञान भनेको जसरी नै प्राप्त गर्न सकिन्छ भन्नुहुँदै अध्यक्ष ओलीले ज्ञानले परिपूर्ण छु भन्ने भावना त्याग्नुपर्ने बताउनुभयो 

उहाँले युवाहरू नयाँ जोस, जाँगर, कार्यशैली ज्येष्ठ नागरिकको तुलनामा बढी हुने भए पनि ज्येष्ठ नागरिकको पनि कुरा सुन्नुपर्ने र उनीहरूको योगदान भुल्न नहुने बताउनुभयो ।

युवा उमेर भने सृजनशील र ऊर्जायुक्त उमेर हो भन्नुहुँदै अध्यक्ष ओलीले युवा अवस्था भनेको ज्ञान आर्जन गर्ने र सँगसँगै ऊर्जाशील अवस्था भएकोले ऊर्जावान् र सिजर्नशिल बिचारको सोचाइहरू विकास गर्दै अगाडि बढ्न सकिने बताउनुभयो । 

  ​​​​​​​

 

 

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ११ : २१ बजे