एमालेले गरेका राम्रा काम लिएर जनतामा जान उपमहासचिव ज्ञवालीको आग्रह 

परासी । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनबाट तर्सिनुपर्ने आवश्यकता नरहेको बताउनुभएको छ ।

पाँच दलीय गठबन्धनको घेराबन्दी र एक मात्र उद्देश्य एमाले हराउने हुँदा पनि स्थानीय निर्वाचनमा एमाले लोकप्रिय मतसहित पहिलो दल भएको चर्चा गर्दै उपमहासचिव ज्ञवालीले सत्ता गठबन्धनसँग सजग भने रहनुपर्ने बताउनुभयो । 

नेकपा (एमाले) जिल्ला कमिटी पश्चिम नवलपरासीको आयोजनामा शनिवार बर्दघाटमा भएको बृहत् प्रशिक्षण कार्यक्रममा नेता ज्ञवालीले उक्त धारणा राख्नुभएको हो । 

उहाँले काँग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा लगायतका दलको स्वार्थ भनेको सत्ता प्राप्ति मात्र रहेको, देश र जनताको पक्षमा बोल्ने र काम गर्ने पार्टी एमाले मात्र रहेको बताउनुभयो ।  

राष्ट्रियता र लोकतन्त्रको पक्षमा बोल्ने पार्टी एमाले एक्लै भएका कारण अहिले एमाले विरुद्ध मोर्चाबन्दी गरिएको बताउँदै उपमहासचिव ज्ञवालीले कार्यकर्तालाई उच्च मनोबलको साथ अघि बढ्न आग्रह गर्नुभयो । 

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमाले नेतृत्वको सरकारले गरेका राम्रा काम लिएर जनता माझ जान आग्रह गर्दै उपमहासचिव ज्ञवालीले वर्तमान सरकारका कारण भइरहेको महँगी, भ्रष्टाचार, अनियमितता, राष्ट्र हित विरोधी कार्यहरूको विरुद्ध उत्रन कार्यकर्तालाई निर्देशन दिनुभयो ।

एमालेका जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज सरिता खनाल, केन्द्रीय सदस्य एवं जिल्ला सह इन्चार्ज विमला अर्याल,  केन्द्रीय सल्लाहकार परिषद्का सदस्य खेमलाल पोखरेल, प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ लगायतले प्रशिक्षण दिनुभएको जिल्ला सचिव धीरज शर्मा बस्यालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ९ : ५७ बजे