राष्ट्रपति भवनमा घटस्थापना

नागरिकता विधेयकका केही बुँदाप्रति राष्ट्रपतिको गम्भीर चासो, विधेयक फिर्ता हुनसक्ने 

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिवार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्तामा बहुचर्चित नागरिकता विधेयकको सम्बन्धमा गम्भीर चासो व्यक्त गर्नुभएको छ । 

राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटघाटमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवासमक्ष विधेयकमा समेटिएका केही प्रावधानबारे गम्भीर चासो व्यक्त गर्नुभएको हो । 

राष्ट्रपति भण्डारीले झन्डै दुई घण्टाको छलफलमा नागरिकता विधेयक प्रमाणीकरणपछि पर्न सक्ने दूरगामी प्रभावबारे चिन्ता व्यक्त गर्नुभएको थियो । 

राष्ट्रपति कार्यालय उच्च स्रोतका अनुसार, राष्ट्रपति भण्डारीले विधेयक समेटिएका बुँदाहरूमा गम्भीर चासो र चिन्ता व्यक्त गर्नुभएको थियो ।

“नागरिकता विधेयकका विषयमा केही बुँदाहरू प्रतिध्यानाकर्षण भएको छ। यी बुँदाहरूमा ग्यारेन्टी लिन सक्ने हो भने प्रमाणीकरण गर्छु”, राष्ट्रपति भण्डारीको भनाई उद्धृत गर्दै उच्च स्रोतले भन्यो, “अन्यथा संसद्मा फिर्ता पठाइदिन्छु। संसद्मा फेरि छलफल गरी केही प्रावधानहरू मिलाउनु भए हुन्छ।”  

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्नुअघि कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) र महान्यायाधिवक्ता खम्मबहादुर खातीसँगको भेटमा पनि नागरिकता विधेयकका सम्बन्धमा सोधपुछ गर्नुभएको थियो । 

सरकारले संसद्मा प्रस्तुत गरेको नागरिकता ऐन संशोधन विधेयकमाथि छलफलपश्चात् प्रतिनिधिसभाले साउन ७ गते पारित गरेको थियो। त्यस्तै राष्ट्रिय सभाले साउन १२ गते विधेयक पारित गरेको थियो।

सभामुख अग्निप्रसाद सापकोटाले विधेयक प्रमाणीकरणका लागि साउन १५ गते राष्ट्रपति कार्यालयमा  पठाएका थिए। राष्ट्रपतिलाई अर्थबाहेकका विधेयकमाथि विचार गर्न १५ दिनको समय सीमा छ। नेपालको संविधानको धारा ११३ को उपधार (३)मा प्रमाणीकरणका लागि पेस भएको विधेयक (अर्थबाहेक) मा पुनर्विचार गर्नु आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा विधेयक पेस भएको मितिले सन्देशसहित विधेयक उत्पत्ति भएको सदनमा फिर्ता पठाउन सक्ने व्यवस्था छ।

राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

त्यस्तै विधेयकलाई संशोधनसहित पारित गरी पुनः पेस गरेमा त्यसरी पेस भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने हुन्छ। राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्र विधेयक ऐन बन्छ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ७ : ५९ बजे