नेपाली जनताको मुड मुलुकमा राष्ट्रको पक्षमा अडान लिने स्थिर सरकार बनोस् भन्ने छ, परमादेशबाट जन्मेको गठबन्धनका नाममा भागशान्ति जयनेपाल गरेर सिनो लतारेझैँ पाँच वर्ष घिसारेर चलाइने जरासन्ध सरकार बनोस् भन्ने चाहना नेपाली जनताको पटक्कै देखिन्न । एक्लै लडेर जनतासँग हात थापेको भए नेपाली काङ्ग्रेसलाई तै तै बहुमत दिन नेपाली जनता तयार हुन्थे पनि होलान् ! धेरै बुढो भए वा सानो छँदा बिरालो मारेको छ भने पनि मान्छेका हात काम्छन् भन्छन्, खै कुन्नि किन हो बूढो दल भएर हो वा “किलो शेरा टू” जस्ता अपरेसनका नाममा धेरै जनतालाई बिरालो मारेझैँ मारेर हो कि उसका हात थरथरी कामे ! उसले जनताका अगाडि आफूले बहुमत पाउने गरी चाहिने जति उम्मेदवारका कटौरा नै थाप्ने आँट नगर्ने निधो जस्तै भयो । एमालेले पाँच वर्ष अघि लगिदिएको उसको सातो अझै सञ्चो भएको रहेनछ ।
त्यसैले आफूलाई लोकतन्त्रको खाँटी सिक्का ठान्ने काङ्ग्रेस लोकतन्त्रका ठिमाहा, खोटा र नचल्ने सिक्का कन्तुरमा मिसाएर गठबन्धनका नाममा चुनावमा जाँदै छ । यसले केको चुनाव जित्नु बरै ! लौ, फेरि यस्तै अर्काको हाँडीबाट उछिट्ट्एका ठेट्ना बटुलेर सङ्ख्या सिटको गणित पुर्याएछ भने पनि सरकार बनाउन कसको पाउमा लम्पसार पर्छ र कस्तो सरकार चलाउँछ भन्ने कुरा त देखिएकै छ । दिल्लीमा गएर ङिच्च गरेको, एमसीसीमा आफैले पिच्च थुकेको, हत्तेरी भन्दै त्यै थुक ल्याप्प चाटेको, अनि सिसिटिभी मुसोले बजेटका महँगा लुगा कुत्रुकुत्रु काटेको, बिहेको जग्गेमै वधूपक्षले कन्यादान गर्दा हाताहाती वरपक्षले नागरिकता प्रमाणपत्र दान गर्ने व्यवस्था मिलाएको, महँगीको चुली खडा गरेको जस्ता अनेकौँ चमत्कारी छलाङ्का विभिन्न जात्रा जनताले देखेकै छन् । त्यसैले यस्तो नान्जाती सरकार मुलुकमा आओस् भनेर जनताले चाहने त कुरै छैन, यसलाई कहिले बिदा गर्ने होला भनेर व्रत बसेका छन् र त्यसको साङ्गे मङ्सिर ४ गते गर्ने सुरमा पनि छन् ।
मैले टिकट पाए जित्छु र अरूले पाए हराउँछु भनेर अहिले पनि कोही सुर कसेर बसेको छ भने एमालेको सबैभन्दा ठुलो शत्रु त्यो बाहेक अर्को होइन भनी बुझे भयो । टिकट पाउने बेलासम्म कुँदाकुँद ठिकै हो, तर टिकट जसले पाए पनि त्यो उम्मेदवार म नै हो भन्ने भाव यो पल्ट कार्यकर्ता र नेतामा आउनुपर्यो ।
नेकपा एमालेका लागि अहिले बहुमत प्राप्त गर्ने चुनौतीपूर्ण अवसर छ । विगतमा एकपल्ट सूर्यमा झ्याप झ्याप छाप लगाएर बहुमत दिएर जिताएर पठाएका हेवीवेट नेतामध्ये केही हरामी बनेर आफ्नै सरकार गिराएर उता गएको, केही चाहिँ पेन्डुलम झैँ लामो समयसम्म यता न उता गरेर “दशा” देखाएको पनि जनताले देखैकै छन् ।
त्यसै कारणले सातो गएका जनता अझै पनि बेला बेला खङ्ग्रङ्ग खङ्ग्रङ्ग गर्न छाडेका छैनन् । अहिले भोट दिएर फठायो, फेरि पनि आफ्नै सरकार गिराउने खेल खेलिन्न भन्ने के ग्यारेन्टी ? जनताले यो विश्वाससहितको ग्यारेन्टी चाहेका छन् ।
तर यति हुँदाहुँदै पनि नेकपा एमाले एउटै पार्टी भएर चुनावमा गयो भने यसपल्ट एमालेलाई बहुमत दिने नेपाली जनताको तीव्र मुड छ, अथवा यसो भनौँ जनताले यो एक ढिक्का छ भनेर पत्याए भने एमालेको विजयलाई कसैले रोक्न सक्तैन । त्यसका लागि अहिले चुनावमा टिकट वितरणमा एमालेले निकै कठोर निर्णय गर्नु जरुरी छ । अब म धेरै कुरा नगरी यसपल्ट कसरी र केमा ध्यान दिएमा नेकपा एमालेले बहुमत ल्याउला त भन्ने प्रश्नतर्फ केन्द्रित हुँदै म केही कुरा राख्न चाहन्छु ।
पहिलो कुरो, नेकपा एमालेले चुनाव जित्यो भने संसद् विघटन गर्छ, “संसद् विघटन प्रतिगमन हो” भन्ने यिनीहरूले स्थापित गरेको गलत भाष्यका जरा उखेल्नुपर्छ । निमुखा जनताका रगतले लत्पतिएको क्रूर उद्दण्ड व्यक्तिका हातमा करिब करिब दुई तिहाइ सिट जानबाट रोक्न केपी ओलीले संसद् विघटन गरेर मुलुकलाई ठुलो गुन लगाएका हुन् । केपी ओलीलाई सफाया गरेर मुलुकमा दुई तिहाइका बलमा संविधान संशोधनमार्फत ल्याउन लागिएको “दाहालवाद” नामको नयाँ संस्करणको जहानियाँ शासन रोक्ने काम केपी ओलीले जुन गरे त्यसले नै मुलुक बचेको हो ! भन्ने मेरो ठम्याइ छ । केपी ओलीको त्यो बेलाको संसद् विघटन जनताका आदेश विपरीत सदन कब्जा गरी वितण्डा मच्चाउने र सम्भावित घातक निरङ्कुशता रोक्ने साहसिक कदम थियो भन्ने कुरो जनतामाझ लानु जरुरी छ । किनकि संसद् विघटन देश दुर्घटना जोगाउने “न भूतो न भविष्यति” घटना हो, र अब कहिल्यै त्यस्तो हुँदैन पनि ।
दोस्रो कुरो, नेकपा एमालेले समानुपातिक तर्फका उम्मेदवार छान्दा नेताका नाता र परिवारबाट यो एकपल्टका लागि कहीँ कोही पनि समावेश नगरे जनताले जाद्रै जाती मान्थे । यसको साटो बरु पार्टीका केही हेवीवेट नेताहरूलाई यसपल्ट समानुपातिकमा समावेश गर्दा उपयुक्त हुन्थ्यो होला ! त्यसो भयो भने तत् तत् स्थानका कार्यकर्तामा स्थायी गुट निर्माणको खतरा नहुने, गुट निर्माण गर्ने प्रवृत्ति रोकिने र मुलुकभरि निर्वाचनको माहौल ल्याउन सकिने सम्भावना पनि छ । नत्र “फलानाको पुत्रीवाद र ढिस्कानाको पत्नीवादमा फरक छुट्याऊ” भनेर सोधियो भने जनताले कसरी फरक छुट्टाउँछन् ? जनताले सादा र सफा ठानेका बालेन, हर्क, र सुनिता शैलीका मान्छे जस्ता पार्टीलाई कहिल्यै धोका नदिने मान्छे, एमालेभित्र पार्टीका लागि जीवन समर्पण गरेका मान्छे र जनसेवामा इस्पात भएर लागेका मान्छे कति होलान् कति ! कहीँ कतै सीमान्तकृत भएर बसेका यस्ता होनहार कार्यकर्ता सर्च गरौँ, छानौँ र तिनै मध्येबाट प्रत्यक्षतर्फ नयाँ र युवालाई अगाडि बढाऔँ । किनकि अब उम्मेदवारमा यो क्षेत्र मेरो हो भन्ने जमिनदारी र मोहियानी प्रथाको अन्त्य जरुरी छ । प्रतिबद्ध, राम्रो र जनअडिट भएकालाई र सकभर नयाँलाई मौका दिनेतिर एमालेको ध्यान जानु जरुरी छ ।
तेस्रो र दुवै भन्दा चुरो कुरो पार्टीभित्र देखिएको गुठी प्रथाको अन्त्य जरुरी छ । माधव नेपालको समूहले निर्माण गरेको गुट सकिएपछि एमालेमा गुटका विभिन्न गुठी र धामहरू परमधाम हुन्छन् र पार्टी एक ढिक्का हुन्छ भन्ने जुन सोच थियो, स्थानीय निर्वाचनमा आफ्नै उम्मेदवार हराउन निर्वस्त्र भएर नाच्ने, अनि त्यै मान्छे पार्टीको ठुलो नेता भइरहने, निकै त्यागी र खाँटी कार्यकर्ता पनि भइरहने, सार्वजनिक मञ्चमा एमालेले जित्छ भनेर खोक्ने, गुट वा गुठीभित्र भित्रभित्रै एमालेले जितेछ भनी कान काटेर फालिदिन्छु बनेर बाजी ठोक्ने झारहरू धेरै उम्रेका रहेछन् भन्ने पनि देखियो । तिनलाई गोडमेल कसरी गर्ने र व्यवस्थापन कसरी गर्ने भन्ने मनन गर्नु जरुरी छ । पार्टीले उठाएका होनहार उम्मेदवारका बिरुवा मार्ने बनमारा झार जो जो बनेका छौँ वा जजसले त्यसलाई मलजल गरेका छौँ, आ-आफ्नो नाम सम्झेर मम: भनौँ, त्यो अन्तर्घाती गनाउने अनुहार आ-आफै सफा गरौँ ।
यसरी एमालेमा कार्यकर्ताको तहसम्म सल्केको गुटको गिर्खो निको हुनु जरुरी छ र मैले टिकट पाए जित्छु र अरूले पाए हराउँछु भनेर अहिले पनि कोही सुर कसेर बसेको छ भने एमालेको सबैभन्दा ठुलो शत्रु त्यो बाहेक अर्को होइन भनी बुझे भयो । टिकट पाउने बेलासम्म कुँदाकुँद ठिकै हो, तर टिकट जसले पाए पनि त्यो उम्मेदवार म नै हो भन्ने भाव यो पल्ट कार्यकर्ता र नेतामा आउनुपर्यो । जनताले आश र विश्वास गरेको नेकपा एमाले पार्टीलाई “गाउँ फर्के शैलीमा” पार्टीको उम्मेदवार बनाउँदैमा सूर्य चिह्न मात्र हेरेर भोट हाल्छन् भनेर भन्ने भाष्यमा संशोधन हुनु जरुरी छ भन्नेबारे नेतृत्वले पनि सोच्नु जरुरी छ ।
जनताको नजरमा चोखो हुन नसकेका, आफ्नो क्षेत्रमा विकासको मुसो मार्न नसकेका, तर पार्टीका “यति वटा भोटा फटालेँ” भनेकै आधारमा र सूर्य चिह्नको लोकप्रियताका आडमा अलोकप्रिय व्यक्तिले चुनाव जित्छ भनेर सोच्नु बेकार छ । सकभर उम्मेदवार चाहिँ पुरानोभन्दा नयाँ चाहिँदो रहेछ र पुरानो भए पनि अर्ग्यानिक र नातागोता नपोसेको र कमाऊ धन्दामा बात नलागेको उम्मेदवारलाई जनता भोट हाल्न भोकाएका छन् भन्ने कुरो स्थानीय निर्वाचनका केही झट्काले पनि सङ्केत गरेकै छन् ।
अब पनि नेपाली जनताको भरोसा नेकपा एमाले माथि नै छ, अझै केपी ओलीको नेतृत्व माथि नै छ । ओलीभित्र युवा सोच छ र पारिवारिक लोभ छैन, ओली बारेको जनअडिटले पनि यही नै भन्छ । उहाँको स्थापित राष्ट्रवादी अडान छ, केपी ओलीमा जुन भिजन र सोच छ त्यसलाई पूरा हुन नदिएको र नेकपा कालमा दिनुसम्म सास्ती दिएर सचिवालय बहुमतका नाममा हात खुट्टा बाँधेर अनेक बखेडा झिकेको तथ्य दुनियाँले बुझेको छ र एकपल्ट देशको निर्भीक नेताले एक कार्यकाल देशको अकण्टक नेतृत्व गरेको हेर्ने जनताको तिर्खा यथावत् छ ।
अन्त्यमा अरू पार्टीका कुकृत्यको भन्डाफोरले मात्र चुनावी खुराक नपुग्ने हुँदा आफ्ना आक्रामक एजेन्डा पनि पस्किने र अझै पनि एमाले हुँ भन्नेहरू लोभ लालच नगरी एकपल्ट प्रतिरोधी चेतनाका साथ चुनावमा उत्रने अनि उल्लिखित जनचाहना अनुसारका कार्यतर्फ नेतृत्वको दृष्टि पुगेमा जनता एमालेलाई बहुमत दिने मुडमा तम्तयार देखिएका छन्, है । अहिलेलाई यत्ति !
प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार १० : ४५ बजे
प्रतिक्रिया