राष्ट्रपति भवनमा घटस्थापना

मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन

काठमाडौँ – सरकारले मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट गृहका सहसचिव डा. भीष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बिहान गृहमन्त्री खाँण, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजीसम्बन्धी समस्या समाधानका लागि उपायहरू पहिचान गरी अपराधीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन र भविष्यमा यस्ता अपराध हुन नदिन आवश्यक पहल कदमी लिन निर्देशन दिनु भएको थियो ।

कार्यदलका सदस्यमा नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान ब्युरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा रहेका छन् ।

कार्यदलको सदस्य सचिव नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत नायव उपरीक्षक रोशन खड्कालाई मनोनयन गरिएको छ । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।

कार्यदललाई मिटरब्याजी समस्या बढी भएका जिल्लाहरूमा स्थलगत भ्रमण गरी समस्याका कारक तथा समाधानका उपाय पहिचान गर्ने, मिटरब्याजी अपराधमा संलग्न व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउन अन्तरनिकाय समन्वय र सहकार्य गर्ने तथा आगामी दिनमा यस्तो अपराध न्यूनीकरण गर्न अबलम्बन गर्नुपर्ने उपायहरूका सम्बन्धमा सिफारिससहितको प्रतिवेदन पेस गर्ने लगायतका कार्यादेश दिइएको छ। 

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  २ : २८ बजे