गोसाईंकुण्डमा १० हजारभन्दा बढी भक्तजन

रसुवा । हिन्दुहरूको चाड जनैपूर्णिमा पर्वका अवसरमा स्नान तथा पूजाका लागि हजारौँ भक्तजन गोसाईंकुण्ड आइपुगेका छन् । 

देशभरिबाट जनैपुर्णिमा मनाउनका लागि १० हजारभन्दा बढी भक्तजन बिहीबार अवरेसम्म गोसाइँथान आइपुगेका हुन् । 

कोरोना महामारी न्यूनीकरण भएपछि पहिलो पटक यति ठुलो सङ्ख्यामा भक्तजन गोसाईंकुण्ड आइपुगेको स्थानीयले जनाएका छन् । 

भक्तजनको स्वास्थ्यमा समस्या नदेखियोस् र उचाइका कारण लेक लागेका बिरामीलाई उपचार गराउन लौरी विनायकमा रसुवा जिल्ला अस्पताल, चौलाङपार्टीमा नेपाली सेना र गोसाइँकुण्डमा हिमालय उद्धार सङ्घबाट खटिएका चिकित्सक समूहले उपचार सेवा गरिरहेका छन् ।

गोसाईंकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार कुण्ड गहिरो भएका कारण भक्तजनले स्नान गर्ने क्रममा हुन सक्ने जोखिम न्यूनीकरण गर्नका लागि र भक्तजनलाई लेक लाग्न सक्ने भएको कारण पनि सो बारेमा जानकारी दिन र उपचारका लागि स्याफ्रुबेँसीस्थीति श्यामेवाङ्फेल माविका जुनियर रेडक्रस सर्कल परिचालित गरिएको छ। 

समुन्द्र सतहदेखि चार हजार तीन सय ८० मिटरको उचाइमा रहेको कुण्डमा आउने तिर्थालुको हेरचाहका लागि नेपाल प्रहरी, सशष्त्र प्रहरी र नेपाली सेना पनि खटिएका छन् ।

समुन्द्र मन्थनको क्रममा विष पिएका महादेव शिवले यही स्थानमा आएर त्रिशूल गाडे पछि गोसाईंकुण्ड उत्पत्ति भएको धार्मिक विश्वास रहँदै आएको छ । 

समुन्द्र मन्थनको क्रममा उत्पत्ति भएको विषको व्यवस्थापन गरी दिनु पर्‍यो भनी भगवान् शिव समक्ष पुगेपछि शिवले त्यो विष आफूले पिएका थिए तर त्यो विष घाँटीमा अड्किएपछि, आफ्नो छटपटीलाई शान्त पार्न भौतारिदा शिव निलाद्री पर्वतमा आई त्रिशूल भित्तामा प्रहार गरेपछि त्यहाँ धारा बनेको र त्यसै धाराबाट बगेर आएको पानीले कुण्ड बनेको भन्ने धार्मिक मान्यता रहँदै आएको छ । 

सोही कुण्डमा भगवान् शिवले विषको डाह शान्त पारेकाले गोसाईंकुण्डमा स्नान, दान र तर्पण गर्नाले पितृहरू उद्धार भई स्वर्ग जाने, जीवनभर गरेको पापबाट मुक्ति पाउने र आफ्नो मनोकाङ्क्षा पूरा हुने धार्मिक मान्यता रहेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  १० : ११ बजे