सरकारी कार्यालयमध्येमा नागरिकहरूको धेरै नै भिडभाड हुने ठाउँ यातायात कार्यालय र मालपोत कार्यालय हो । यी दुई सरकारी कार्यालयमा सबैभन्दा बढी नागरिकहरूको चाप रहेको हुन्छ ।एक वर्ष अघिसम्म मालपोत कार्यालयमा जग्गा खरिदबिक्री गर्नेहरूको लाइन धेरै नै हुने भएकाले त्यहाँ खुट्टा राख्ने ठाउँ पनि हुँदैन थियो । त्यस्तै यता यातायात कार्यालयमा पनि सवारीसाधन खरिदबिक्री गर्नेहरूको त्यस्तै भिड हुन्थ्यो ।
अहिले एक वर्षको बिचमा त्यसको ठ्याकै उल्टो भएको छ । अहिले मालपोत कार्यालय र यातायात कार्यालय सुनसान देखिन्छ ।मानिसहरू अहिले घरजग्गा बिक्री गर्नका लागि विभिन्न ठाउँ धाइरहेका हुन्छन् तर किन्ने मानिसहरू भने कतै पाउँदैनन् । त्यस्तै यता निजी प्लेट , भाडाका गाडीहरूको पनि खरिदबिक्री ठ्याप्पै बन्द भएको छ । मालपोतमा अहिले हेप्यो भने सुनसान देखिन्छ ,घरजग्गा खरिदबिक्री र नामसारी काम ठप्प भइसकेको छ ।
मालपोत कार्यालयका सरकारी कर्मचारी बताउँछन् ६ महिना अघिसम्म घरजग्गा किनबेच हुने गर्दथ्यो तर अहिले त घरजग्गाको किनबेच नै हुँदैन । कहिलेकाहीँ दिनमा १ देखि २ ओटासम्म नामसारी हुन्छ भने कहिले त त्यो पनि हुँदैन । यता यातायात कार्यालयका कर्मचारीहरू पनि तीन महिनाअघि सम्म सवारीसाधन नामसारी गर्ने मानिसहरूको निकै भिड हुन्थ्यो तर अहिले दिनमा १ देखि २ ओटा हुन पनि गाह्रो भइसक्यो भनेर बताउँछन् ।
त्यस्तै मालपोत तथा यातायात कार्यालयमा लेखनदास गर्नेहरू एक वर्षअघि लेखनदास गरेर दिनमा दश हजारदेखि लाखसम्म कमाउँथे । तर अहिले काम नपाएर यीहरूसँग चिया खानेसमेत पैसा हुँदैन । यसरी घरजग्गा र सवारीसाधनको मूल्य घट्नु वा मन्दी आउनुको कारण व्यक्तिसँग पैसा नहुनु र बैङ्क, फाइनान्स र सहकारीहरूले कर्जा दिन नसक्नु हो ।
पछिल्लो समय बैङ्क, फाइनान्स र सहकारीहरूले कर्जाको त कुरै टाढा , पैसा राख्नेहरूको रकम समेत दिन नसकेर भागाभाग गरिरहेका छन् । दुई वर्ष अघि मानिसहरूले घरजग्गा, गाडी र सेयर सबै धितो राखेर बैङ्क, फाइनान्स र सहकारीबाट कर्जा लिए । दुई वर्षअघि यी वस्तुहरूको मूल्य धेरै नै बढेको थियो । मानिसहरूले त्यस बेला नाफा हुन्छ भनेर ऋण लिएर घरजग्गा , गाडी र सेयर किने । तर अहिले ती वस्तुहरूको मूल्य घटेर रुनु कि हाँस्नु अवस्थामा पुगेका छन् ।
आनाको ५० लाखमा किनेको घडेरी अहिले सस्तोमा वा आधा भाउमा बेच्छु भन्दा पनि बिक्री हुँदैन । त्यस्तै यता एक वर्षअघि २० लाखमा किनेको दुई वा चार पाङ्ग्रे सवारीसाधन अहिले ५ लाखमा बेच्छु भन्दा पनि बिक्री हुने गर्दैन ।
यसरी घरजग्गा किन्ने मानिसहरू हराउनुमा पनि कारण रहेको छ । मानिसहरूले पहिला नाफाको लोभमा ऋण लिएर घरजग्गा, गाडी र सेयरमा लगानी गरे तर अहिले भने ती वस्तुको बिक्री पनि हुँदैन र बैङ्क, फाइनान्स र सहकारीहरूले कर्जा पनि दिँदैनन् । जो व्यक्तिले पहिला घरजग्गा, सेयर, गाडी आदि धितो राखेर कर्जा लिए अहिले उनीहरू हाम्रो ती वस्तुहरू नै लिलाम गर्नुस् भनेर हात उठाउँछन् ।
२०७८/४/२१ गते एकै दिन २२ अर्बको सेयर किनबेच भएको थियो । अहिले सेयरको किनबेच घटेर दिनमा २ अर्ब पनि हुँदैन । २५ सय मा किनेको एक वर्षअघि एक कित्ता सेयर अहिले ५ सयमा बेच्छु भन्दा पनि बिक्री हुदैँन । यी वस्तुहरूमा मन्दी आउँदा अहिले वित्तीय संस्था भाग्दै , जनता डुब्दै छन् ।
बैङ्क, फाइनान्स तथा सहकारीहरूले भने नाफाको लोभमा यी सबै वस्तुहरुमा नै लगानी रहेको पाइन्छ । यसरी यी जेठो वा धितोहरूको मूल्य घटेपछि बैङ्कबाट ऋण लिने ऋणीहरूको भागाभाग भइरहेको छ । बजारमा घरजग्गा, गाडी र सेयरको मूल्य अहिले कवाडीको भन्दा पनि कम रहेको छ । मूल्य बढाउने दलालीहरू पनि डुबेर भागाभाग गरिरहेका छन् । अहिले सेयर, घरजग्गा र गाडीको मूल्य बढाउने दलालीहरू ऋण तिर्न नसकेर भाग्ने प्रक्रियामा आबद्ध रहेका छन् ।
कतिले त आफ्नो ज्यान बचाउनका लागि नेपाल नै छोडिसकेका छन् भने कति छोड्ने तयारीमा छन् । बैङ्क, फाइनान्स तथा सहकारीहरूमा घरजग्गा, गाडी र सेयर धितो राख्ने मानिसहरू भागेपछि अब ती वस्तुहरू यी वित्तीय संघ संस्थाहरुले बेच्छु भन्दा पनि कोहीले खरिद गर्दैन । अर्थविद्हरूका अनुसार घरजग्गा, गाडी र सेयरको मूल्य अझै पनि घट्छ र देशमा ठुलो आर्थिक सङ्कट आउँछ ।
विज्ञहरूका अनुसार पनि यी वस्तुहरूको मूल्य अझै १५ वर्षसम्म बढ्ने छैन। यता जनताहरु पनि नेपालको अर्थतन्त्र श्रीलङ्काभन्दा नाजुक हुन्छ भनेर भन्छन् । नागरिकहरू बैङ्क, फाइनान्स र सहकारी डुब्नभयो भन्दै बिहानदेखि बेलुकासम्म लाइन बसेर पैसा निकाल्न थालिरहेका छन् । नागरिकहरू प्रत्येक दिन आफ्नो पुँजी निकाल्न बैङ्क, फाइनान्स र सहकारी धाउने गर्छन् ।
बैङ्क, फाइनान्स र सहकारीबाट दिनहुँ अर्बै निक्षेप नागरिकहरूले निकालिरहेका छन् । अहिले बैङ्क,फाइनान्सर सहकारीमा पैसा राख्ने कोही छैन भने निकाल्ने मानिस गणना गरेर साध्य छैन । सहकारीहरू पनि डुबेर दिनहुँ भागिरहेका छन् । पछिल्लो समय डुब्ने डरले गर्दा नागरिकहरूले बैक, फाइनान्स र सहकारीमा पैसा राख्न छोडिसकेका छन् ।
बैङ्क, फाइनान्सको नाममा ८० प्रतिशत जनताहरुको घरजग्गा र ९० प्रतिशत गाडी र सेयर रहेको छ । जनताहरूले यी वस्तु बैक, फाइनान्समा धितो राखेर कर्जा लिएका छन् । अहिले ऋणीहरु यी वस्तुको मूल्य घटेर डुबिसकेका छन् ।
अब वित्तीय संस्थाहरूले दिएको कर्जा लिन पनि सक्दैनन् र धितो बेच्दा पनि यिनीहरूलाई घाटै घाटा हुने छ । त्यस कारण वित्तीय संस्थाहरू डुब्छ भनेर जनताको कानमा पुगेपछि पैसा निकाल्ने मानिसहरूको सङ्ख्या ह्वात्तै बढिरहेको छ । बैङ्कहरूले ब्याज बढाउछौ भनेर भन्दा पनि नागरिकहरू आफ्नो पुँजी राख्न तयार छैनन् । ब्याजको लोभमा साँवा नै डुब्छ भनेर नागरिकहरू सचेत भएका छन् ।
बैङ्क खोल्ने बित्तिकै पैसा निकाल्नेहरूको लाइन लाग्छ । यता कति सहकारीहरूले डिपोजिटरहरुको पैसा फिर्ता गर्न नसकेर सहकारीका सञ्चालक तथा अध्यक्षहरु भागिसकेका छन् । सहकारीमा मानिसको खातामा २० लाख छ भने पैसा निकाल्न जाँदा ५ हजार मात्रै लैजानु भनेर भन्ने गर्छन् ।
सहकारी, बैङ्कहरूमा बजारबाट व्यापारी तथा नागरिकहरूले पैसा राख्न छोडिसकेका छन् । यस्तो बेलामा पनि कसरी घरजग्गा, सेयर र गाडीको मूल्य बढ्ला । के उँभो गएको खोला फेरि पनि फर्कन्छ । अहिले नै मानिसहरूलाई बैङ्क, फाइनान्स र सहकारीबाट लिएको ऋण तिर्न नसकेर मर्नु कि बाँच्नु, ओकल्नु कि निल्नु भइरहेको छ ।
सहकारीमा मानिसहरूको भएको सम्पूर्ण रकम डुबिरहेको छ । सहकारीमा रहेको ८ अर्बभन्दा बढी ऋण जनताको सबै डुबिरहेको छ भने ८ अर्बभन्दा बढी ऋण लिएर सहकारीहरू भागाभाग गरिरहेका छन् भने यता नागरिकको घरमा रुवाबासी चलिरहेको छ । जनताले पसिना बगाएर कमाएको पेसा लिएर सहकारीहरु भागिरहेका छन् ।
यता सहकारी संस्थाका सञ्चालकहरू नागरिकको पैसा वा बचत लिएर मोज मस्ती गरिएका छन् । सहकारी संस्था डुब्नुमा सहकारी आफ्नैको हात रहेको छ । यिनीहरूले ९० प्रतिशतभन्दा बढी लगानी घरजग्गा, गाडी र सेयरमा गरेर नागरिकको जीवनभरको बचत डुबाएका छन् । सहकारी संस्थाहरूले यस्तो गर्नुमा पनि राजनीतिक पार्टीको सहयोग रहेको देखिन्छ । होइन भने यत्रो सहकारीहरू नागरिकको पैसा लिएर भाग्दा कसैले किन आवाज उठाउँदैन, किन कारबाहीको दायरामा ल्याउँदैन । सहकारी संस्थामा अहिले प्रत्येक दिन मानिसहरूको लाइन लागिरहेको देखिन्छ । मानिसहरू सहकारी खोल्नुअघि नै पैसा झिक्न लाइन ल्याएर बस्छन् ।
यसरी नागरिकको यति धेरै पैसा डुबाएर सहकारीहरू भाग्दा सहकारी विभाग किन मौन बसिरहेको छ । अहिले पनि सहकारीहरूले १८ देखि २२ प्रतिशत ब्याज दिन्छु भनेर जनतासँग पैसा उठाइरहेका छन् । जसले गर्दा सिधा साधी नागरिकहरू ब्याजको प्रलोभनमा परी साँवा नै डुबाइरहेका छन् । मानिसहरूलाई अहिले बैङ्क, सहकारी र फाइनान्सबाट आफूले नै राखेको पैसा आफूले नै निकाल्न पाउँदा ठुलो युद्ध जितेको जस्तो भइरहेको छ ।
नागरिकहरूले अहिले ब्याज चाहिन्न बरु डिपोजिट मात्र दिनुभन्दा पनि सहकारी र बैङ्कहरूले नागरिकको पैसा फिर्ता गर्न सकेको छैन । अबको एक वर्षभित्रमा सबै सहकारीहरू भाग्छन् वा बन्द हुन्छ भनेर सबै अर्थविद्हरू बताउँछन् ।नागरिकहरू अहिले बिहानै पैसा लिन सहकारी जान्छन् र दिनभरि त्यहीँ पैसा पाइन्छ भनेर कुर्छन् तर बेलुका खाली हात फर्कने गर्छन् । मानिसहरू अहिले पनि घरजग्गा, गाडी र सेयरको मूल्य घट्छ र किन्छु भनेर पर्खेर बसिरहेका छन् । के अब फेरि पनि यी वस्तुमा लगानी गर्दा राम्रो हुन्छ र ?
अबको दिनमा यी वस्तुहरूको मूल्य घट्दै जान्छ र बैङ्क, फाइनान्स र सहकारीहरू टाटा पल्टिँदै जाने छन् । यता नागरिकहरूले बैङ्क, फाइनान्स र सहकारीमा भएको पैसा ल्याएर लुकाइसकेका छन् । तर राष्ट्रिय बैङ्क र अर्थ मन्त्रालय कानमा तेल हालेर सुतिरहेको छ । सहकारीहरूले यसरी नागरिकको पैसा डुबाएर भाग्दा पनि भूमि सुधार ,सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ निदाएर बसिरहेकी छिन् । जनता रुँदै मन्त्री निदाउँदै । यदि नागरिकको पुँजी बचाउन सकिँदैन भने मन्त्री भएको के काम र ।
यसरी निदाएर कहिलेसम्म बस्ने मन्त्रीज्यू । कहिलेसम्म जनता डुबेको हेरिरहने । सहकारी विभाग नागरिकको पैसा लिएर भाग्ने सहकारीलाई कारबाही गर्नुको साटो कताबाट पैसा आउँछ भनेर कुरेर बसिरहेको छ । यता मन्त्री निदाउने भने उता विभाग जनता डुबाउने काम गरिरहेको छ ।
बैङ्क, फाइनान्स तथा सहकारीहरू यसरी डुब्दा पनि सरकारले अहिलेसम्म जनतालाई सचेत गराउनका लागि केही सूचना प्रवाह गर्दैन । के नागरिकभन्दा ठुलो वित्तीय संस्था हो सरकार । नागरिक डुब्दै छन् सरकार मौन बस्दै छ ।सहकारीहरूले बजार प्रतिनिधि तथा कर्मचारीहरूलाई १ वर्षदेखि तलब नदिएको र ६ महिनादेखि घर भाडा तिरेको छैन भनेर पनि सुनिन्छ ।
यता बैङ्कहरूले पनि तीन महिनादेखि कर्मचारीहरूलाई तलब दिएको छैन भनेर सुनिन्छ । यसरी बैङ्क र सहकारीहरू डुबे भनेर सबै जनतालाई थाहा भए पनि पनि सरकाले अहिलेसम्म थाहा पाएको छैन । कहिलेसम्म कानमा तेल हालेर बस्ने सरकार । कहिले नागरिकलाई डुब्नबाट बचाउने । सरकार अब पनि निद्राबाट उठ्ने समय भएको छैन । अहिले पनि जनता डुब्दै छन् भने सरकार निदाउँदै छ । अब सरकारले ५ सय र हजारको नोटलाई प्रतिबन्ध लगाई दुई हजारको नयाँ नोट निकाल्नुपर्छ । बैङ्क, फाइनान्स र सहकारीबाट पैसा झिकेर नागरिकहरूले घरघरमा लुकाएको पैसा सबै राष्ट्रियकरण गर्नुपर्छ । सरकारले अब समयमै नागरिकलाई डुब्नबाट बचाउनुपर्छ ।
प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार ३ : २९ बजे
प्रतिक्रिया