जर्मनीमा बच्चामा पनि भेटियो मङ्कीपक्सको सङ्क्रमण

बर्लिन । जर्मनीमा बच्चामा पनि मङ्कीपक्सको सङ्क्रमण भेटिएको बताइएको छ । यहाँका  चार बर्षीया एक बालिकामा यो सङ्क्रमण पाइएको जर्मनीको रोबर्ट कोच इन्स्टिच्युटले सो जानकारी दिएको हो ।

उक्त इन्स्टिच्युटले दिएको जानकारीअनुसार यहाँ १५ र १७ वर्षका दुई जना किशोर सङ्क्रमित रहेका र उनीहरुसँगै बस्दै आएकी यी बालिकामा पनि सो सङ्क्रमण भेटिएको उक्त इन्स्टिच्युटले मङ्गलबार जनाएको छ ।

जर्मनीमा गएको मे महिनादेखि मङ्कीपक्सको सङ्क्रमण देखिएको हो । यहाँ अहिलेसम्म दुई हजार नौसय भन्दा बढीमा यो सङ्क्रमण भेटिइसकेको छ । तर बच्चामा भने यो पहिलो पटक पाइएको बताइएको छ ।

अहिले विश्वका दर्जनौँ देशमा यो सङ्क्रमण भेटिएको छ र ती देशमध्ये सबैभन्दा बढी अमेरिकामा नै यसको सङ्क्रमण बढ्दो छ ।  पछिल्लो तथ्यांकअनुसार अमेरिकामा मात्र मङ्कीपक्सका आठ हजार नौसय भन्दा बढीमा यो सङ्क्रमण भेटिएको पाइएको छ । 

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  २ : ०२ बजे