देश बन्ने वा बिग्रने सन्दर्भमा राजनीति वा दर्शनको ठुलो भूमिका रहने गर्छ । राजनीतिकै आधारमा विज्ञान प्रविधि तथा नवीन आविष्कारलाई ध्यान दिने कि नदिने भन्ने कुरा निर्क्योल हुन्छ । राजनीति र दर्शनकै आधारमा धेरै देशहरू ध्वस्त भए भने कतिपयले कल्पनै गर्न नसकिने किसिमले विकास गरे । दर्शनको कार्यान्वयन गर्ने सन्दर्भमा हजारौँ लाखौँ मानिसहरूको ज्यान समेत गएको छ । हिटलर एउटा आदर्श वा दर्शनबाट प्रभावित थिए र त्यसको विरोध गर्नेहरूलाई मात्रै उनले सिध्याएनन्, आफ्नै देश ध्वस्त नहुन्जेलसम्म पनि उनी झुक्न चाहेनन् । विध्वंसपछि विकासको युग आउँछ भन्ने दर्शनबाट अभिप्रेरित भई हाम्रो देशमा मात्र होइन, कैयन देशमा विनाशकारी कार्यहरू हुन पुगे । कतिपय देशहरू अझै यही माखेसाङ्गलोबाट प्रताडित भइरहेका छन् ।
नेपालमा यस्ता कारणहरू हाल त्यति गम्भीर नभए तापनि देश विकसित बन्न नसक्नुले धेरैलाई अचम्म समेत लाग्ने गर्छ । अझ अचम्मको कुरो त, यति मिलेको अर्थात् क्षेत्रफलको तुलनामा सबै किसिमको हावापानी, वातावरण, भूगोल भएको देश सम्भवतः विश्वमै नेपाल मात्रै हो । विश्व मानचित्रमा सानो ठाउँ ओगटेको हाम्रो देश जतिको विविधताले सुसज्जित देश अत्यन्तै कम छन् । प्रकृतिले हामीलाई अपार सम्भावना दिएको छ । माटो यति मलिलो छ कि ‘छरे मात्रै पुग्ने’ भनेजस्तो, हामीलाई भोकमरीबाट रोक्ने किसिमको छ । ठाँवंैपिच्छे विविधतापूर्ण जातजाति, संस्कृति र स्रोतको प्राप्यता छ, जसले हामीलाई अति नै प्रतिकूल अवस्थामा समेत बचाइराखेको छ ।
नेपालमा विज्ञान प्रविधि तथा नवीन आविष्कारको क्षेत्र अत्यन्तै निरीह मानिन्छ । राज्यले समेत यसले मन्त्रालय बाँडफाँडको सन्दर्भमा न्यून महत्त्व दिने गर्छ, जसले गर्दा यो आकर्षणको क्षेत्र बन्न सकेको छैन । यस क्षेत्रमा लागेका व्यक्तिहरू स्वभावले नै राजनीतिबाट टाढा छन्, जसले गर्दा उनीहरूको आवाज राज्यको संयन्त्रले सुन्ने गर्दैन । विडम्बना त यो छ कि, सबै राजनीतिज्ञहरू आफूलाई विज्ञान प्रविधिबारे जानिफकार ठान्छन् र यसबारे ठुलठुला कुरा गर्दै विभिन्न प्रतिबद्धता समेत गर्ने गर्छन् । यी कुराहरू यथार्थमा नहुनुका पछाडि विज्ञानप्रतिको उनीहरूको सतही चिन्तन र अचेतनता नै हो । नेपालमा विज्ञान तथा प्रविधिको यथोचित विकास नहुनुको एउटा प्रमुख कारण यो पनि हो ।
धेरै देशहरू नियम –कानुन नहुँदा वा संविधानको पालना नगरेर, मानव अधिकारको प्रत्याभूति नगरेर, गृहयुद्धमा गएर, बुद्धि विवेकको प्रयोग गरी आत्मनिर्भर हुने अवसर प्रदान नगरेर आदि कारणबाट विनाशको बाटोमा लाग्छन् (हरारी, २०११) । स्रोतको कमी र फाइदाको अनिश्चितताका कारण गरिबी हुन्छ । गरिब मानिसहरू सामान्यतया शिक्षा तथा सीपबाट वञ्चित भएका हुन्छन् । सीप र व्यवसायको निम्ति आवश्यक सुरुआत रकम नहुँदा समग्र राष्ट्र आर्थिक रूपमा समृद्ध हुँदै गए तापनि यो समूहले त्यसबाट खासै फाइदा लिन सक्दैन (कलाम, २०१८) । गरिबीको मारमा परेका जनताले सम्पत्तिको सिजना गर्न सक्दैनन् । गरिबीको रेखामाथि रहेको जनसमूहले मात्र सम्पत्ति जोड्न सक्छन् (शाक्य, २००९) ।
देश विकास गर्ने नाममा धेरै आयोगहरू बने, मन्त्रालय थपिए, पहुँचवालाहरूबाट अवलोकन भ्रमणहरू गरियो । तर, यसको उपादेयता के रह्यो ? कर्णालीको भोकमरी हामीले अझै पनि निर्मूल गर्न सकेनौँ । सहर बजारमा थुप्रने फोहर मैला समेत उठाउन नसक्ने अवस्थामा हामी पुगेका छौँ । हामीले विकासका हरेक कुराहरूलाई विज्ञानबाट छुट्याएर हेर्यौँ वा त्यसमा विज्ञानको महत्त्व देखेनौँ । हामी असफल हुनाको एउटा प्रमुख कारण यो नै हो ।
गरिबीको चुरो कारण
अफ्रिकाका अधिकांश देशहरू अत्यन्तै गर्मी र रुखो माटोका कारण अनुत्पादक हुन पुगेका छन् । युरोपका धेरै देशहरूमा अत्यन्तै चिसोका कारण वर्षको केही महिना मात्र प्रयोगमा ल्याउन सकिने वातावरण भएका छन् । यद्यपि उनीहरूले प्रविधिको सहयोगले हरेक कुरालाई आफू अनुकूल बनाउन सकेका छन् । हामीलाई त प्रकृतिले नै ठाउँ अनुसार किसिम किसिमको माटो, हावापानी, तापक्रम प्रदान गरेको छ, जसमा थोरै मात्र मिहिनेत गर्ने हो भने राम्रै प्रतिफल प्राप्त गर्न सकिन्छ ।
यी सबै सम्भावना हुँदाहुँदै हामी किन पछि परिरहेका छौँ ? यो आजको अत्यन्त गम्भीर प्रश्न हो र यसको जवाफ नै हाम्रो देशको कायापलट गर्ने उपाय हुन सक्छ । दोस्रो विश्वयुद्धपछि नेपालमा भएका विकासका कार्यहरूमा पुनरावलोकन गर्दा जस्तोसुकै राज्य व्यवस्था हुँदा पनि वैदेशिक सहयोगको भूमिका रहेको पाइन्छ । हरेक दशकमा विकासको प्रारूपमा परिवर्तन हुँदै अहिले हामी सहभागीमूलक विकासको अवस्थामा आइपुगेका छौँ । दोस्रो विश्व युद्धको लगत्तै सुरु भएको एकतर्फी दिने व्यवस्थाबाट आज हामी सबैले सरोकार राख्ने सहभागीमूलक विकासको चरणमा आइपुगेका छौँ । तर, यो चरणमा आइसक्दा पनि पराधीन सोचको हाम्रो अवस्थामा कुनै परिवर्तन हुन सकेको छैन, बरु बढ्दै गएको छ । अरूमा भर पर्ने वा पराधनि सोचबाट आमूल परिवर्तनको आशा गर्न सकिन्न । सयौँ वर्षअघि नै चीनका दार्शनिक लाओत्सुले ‘माछा दिएर होइन, माछा मार्ने तरिका सिकाएर’ परिवर्तन ल्याउन सकिने कुरा बताएका थिए ।
पराधीन सोचबाट सिर्जना आउन सक्दैन । विकास सिर्जनाबाट मात्र सम्भव हुन्छ । जब हाम्रो काम अरू कसैले गरिदिन्छ भने ऊबाट हामी झन् बढी सहयोगको आशा गर्छौँ । यसबाट हाम्रो परनिर्भरता बढ्दै जान्छ र हामीले केही गर्नुपर्छ भन्ने सोचलाई समेत हामी भुल्दै जान्छौँ । सरकार वैदेशिक सहयोगलाई प्रतिष्ठाको विषय बनाउँछ । गाउँ गाउँमा गैरसरकारी संस्थाहरू चिल्ला प्रतिवेदनको तयारी गर्न भत्ता बाँड्दै हिँड्छन् । युवाहरू आफ्नो ठाउँमा केही काम गर्दा प्रतिष्ठामा आँच आउने ठान्छन् । केही गर्न चाहनेहरूको निम्ति पनि पर्याप्त संरचनाको कमी छ । छेउबाट बग्ने खोलाले विध्वंस त धेरै ल्याएको हुन सक्छ, तर त्यसबाट बिजुली निकाल्ने वा खेतमा सिँचाइ गर्ने उपायका निम्ति हामीसँग पर्याप्त स्रोत र विवेक पुग्दैन । यस्ता विविध कारणहरूले अरू कारणको सूत्रपात गर्छन् । हामी कमजोर उत्पादकत्व, उद्यमशीलतामा कमी र स्रोतको पहुँचको कमीको माखे सङ्गलोबाट झन् झन् प्रताडित बन्दै जादैछौँ ।
भूपरिवेष्ठिताले हामी पछि प¥यौँ भन्ने हो भने स्वीटजरलैण्ड र लक्जेमवर्ग जस्ता देश हाम्रो सामु छन्, जनसङ्ख्या बढी भएर भन्ने हो भने चीनले अहिले देशको कायापलट गरेर देखाइसक्यो, स्रोतको कमीले भन्ने हो भने जापानले धरै पहिला त्यो कुरा असत्य साबित गरिसक्यो । बुद्धि र श्रमको कमी भन्ने हो भने गल्फ राष्ट्रहरूले वैकल्पिक सोचबाट आफूलाई विकसित गर्न थालिसके । कतिपयले हामीलाई हाम्रो धर्मले नै अल्छी हुन सिकाएको छ भन्ने गर्दछन् । ‘सन्तोषम् परमम् सुखम’ वा ‘काम गर, फलको आशा नगर’ भन्ने गीताको उक्तिलाई जोड्दै हामीलाई ठुलो चुनौती लिन सिकाइएन भन्ने धेरैको भनाइ छ । तर, यो भनाइमा कुनै सत्यता छैन र यो केवल असफताका लागि एउटा बहाना मात्र हो भन्ने धरैको राय छ ।
भौगोलिक रूपमा विकट भएर देश गरिब हुन्छ भन्ने सिद्धान्त अब गलत साबित भइसकेको छ । यस्तै हावापानी अथवा रोगहरूका कारण यसो भएको हो भन्न पनि मिल्दैन । गरिबी सम्बन्धी सांस्कृतिक सिद्घान्तले र अज्ञानताको सिद्घान्तले गरिबीको कारणलाई खोतल्ने प्रयास गरेको छ । सचेत र सबल नेतृत्व वर्गले उपयुक्त नीति नियमका माध्यमबाट कमजोर वर्गलाई माथि उठाउन सक्छन् ।
विकासोन्मुख तथा गरिब राष्ट्रहरूले शिक्षा क्षेत्रमा कम ध्यान दिएकै कारण उनीहरूले धेरै बिल गेट्स र अल्बर्ट आइन्सटाइनको सम्भावना बोकेका युवाहरूलाई अझ गरिब बनाउँदै आफ्नो अभिरूची नभएको काम गर्न उनीहरूलाई बाध्य बनाइएको धारणा एसमोग्लु र जेम्स (२०१३) राख्छन् ।
(लेखक त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा पीएचडी सेन्टरका अध्यक्ष हुनुहुन्छ ।)
प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार ९ : ४४ बजे
प्रतिक्रिया