एउटै निर्वाचन क्षेत्र र प्रणाली अन्तरगत निरन्तर बढीमा दुई पटक मात्र उम्मेदवार हुन सक्ने प्रावधान राख्नुपर्छ : सांसद डा. पाण्डे (भिडियो )

काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् डा. बिन्दा पाण्डेले प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो हुने निर्वाचन प्रणाली अन्तरगत उम्मेदवारी दिँदा प्रत्येक दलले लैङ्गिक आधारमा समानुपातिक उम्मेदवारी दिनुपर्ने बताउनुभएको छ । 

प्रतिनिधिसभाको मङ्गलवारको बैठकमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउने बारेमा ध्यानाकर्षण प्रस्ताव प्रस्तुत गर्दै सांसद डा. पाण्डे स्थानीय तहको निर्वाचनमा प्रमुख÷अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष, जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखमा हरेक दलले कम्तीमा ५० प्रतिशत महिला उम्मेदवारी दिनुपर्ने  बताउनुभएको हो ।

उहाँले  स्थानीय तहको वडामा दलित महिलाको उम्मेदवारी नपरेको अवस्थामा तोकिएको उम्मेदवारी दिने समय सकिएको भोलिपल्ट अल्पसङ्ख्यक वा सीमान्तकृत वा अरू कुनै समुदायको महिलाको उम्मेदवारी आव्हान गरी निर्वाचन गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो । 

सांसद डा. पाण्डेले स्थानीय तहको प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष, जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखको एउटै पदमा एउटै व्यक्तिले बढीमा दुई पटक मात्र उम्मेदवारी दिन सक्ने, (धारा २१५–७/२१६–७ पालिका प्रमुख/अध्यक्ष दुई पटक निर्वाचित भएपछि उम्मेदवार हुन नपाउने) व्यवस्था गर्नुपर्ने बताउनुभयो । 

उहाँले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक र पहिलो हुने दुवै निर्वाचन प्रणाली अन्तरगत एउटा व्यक्ति एउटै निर्वाचन क्षेत्र र प्रणाली अन्तरगत निरन्तर बढीमा दुई पटक मात्र उम्मेदवार हुन सक्ने प्रावधान राख्नुपर्नेमा संसद्को ध्यानाकर्षण गराउनुभएको छ । 

आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउने बारेमा ध्यानाकर्षण (भिडियो ):

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ८ : ४९ बजे