संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले इथियोपियाका खडेरी प्रभावितलाई मानवीय सहयताको खाँचो रहेकाले खाद्य उपलब्ध गराइने जनाएको छ ।
महासचिव एन्टोनियो गुटरेसका प्रवक्ताका अनुसार संयुक्त राष्ट्रसङ्घले मानवीय सहायता निकायलाई खडेरीबाट पीडित भएका एक करोड ६० लाख र बाढी प्रभावित १७ लाख इथियोपियालीलाई सहयोग गर्न आह्वान गरिएको छ ।
यहाँ गएको ४० वर्षयताकै सबैभन्दा खराबरुपमा खडेरी परेको पाइएको छ । यसबाट धेरैभन्दा धेरै नागरिक मानवीय सहायताको खाँचोमा परेका छन् ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले यहाँको खडेरी इतिहासकै सबैभन्दा खराब प्रकृतिको रहेको भन्दै यसबाट यहाँका लाखौँ मानिस विस्थापित भएका बताउनुभएको छ ।
उहाँले यो खडेरीका कारण यहाँका करिब ३५ लाख पशु चौपायासमेत मरेका जानकारी दिनुभएको छ । संयुक्त राष्ट्रसङ्घको मानवीय सहयातासम्बन्धी एजेन्सीलाई उद्धृत गर्दै उहाँले जनाएअनुसार यहाँका खडेरी पीडितमध्ये अधिकांशले खाद्यान्नको अभाव झेल्नुपरेको छ ।
साथै यहाँका बालबालिका तथा महिलाले आवश्यक पोषणको अभावमा विभिन्न प्रकृतिका रोगबाट झेल्नुपरेको पाइएको संयुक्त राष्ट्रसङ्घीय सो निकायले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घले यहाँ एकातर्फ खडेरीले मानिसमा यस्तो असर गरेको र अर्कातर्फ बाढीका कारण पनि धेरै नागरिकको ज्यान गएको र विस्थापित हुनुपरेको जनाएको छ ।
प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार ४ : ५२ बजे
प्रतिक्रिया