काँग्रेसी पासोमा प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादव

डरै डरका माझमा स्थानीय निर्वाचन गराएको देउवा सरकार अनपेक्षित रूपमा स्थानीय निर्वाचनमा आफ्नो रणनीति सफल भएपछि प्रदेश र सङ्घको निर्वाचनका लागि उत्साहित देखिन्छ । स्थानीय तहको निर्वाचन पर सार्न निकै बल गरेका देउवाले विपक्षी एमालेको दबाब र नागरिक दबाब थेग्न नसकेर निर्वाचनको मिति निकै ठुलो करै बलैले घोषणा गरेका थिए । तर सङ्घ र प्रदेशको निर्वाचनको मिति घोषणा गर्नुअघि प्रतिपक्षसँग सामान्य छलफल गर्ने लोकतान्त्रिक संसदीय प्रचलनको मर्यादासम्म पनि पालना गरेनन् । जे भए पनि निर्वाचन प्रतिपक्षले पनि चाहेको र नेपाली जनताले पनि चाहेका कारण मङ्सिर ४ मा सम्पन्न हुने गरी गरिएको निर्वाचन घोषणालाई सबैले समर्थन गरेकै छन् । 

के पी ओली नेतृत्वको नेकपा सरकार विगठन र नेकपा एमालेबाट निस्किए लगत्तै नेपाली काँग्रेससँग माया पिरती गाँसेका प्रचण्ड र माधव नेपालले देउवाको र काँग्रेसीका सयौँ लात घुस्सा सहेरै भए पनि सँगै मर्ने—बाँच्ने कसम खाएका छन् । त्यसैले सङ्घ र प्रदेश तहको निर्वाचनमा पनि गठबन्धनको निरन्तरताको माग गरेका छन् । 

हुन त काँग्रेसलाई घुर्की लगाउन र माधव नेपालको बाल क्रन्दनलाई थुमथुम्याउन प्रचण्डले एक—दुई हप्ता समाजवादी केन्द्रको गाना बजाना गरे, तर लगत्तै उनकै भनाइमा यसको च्याप्टर क्लोज पनि गरे । किन समाजवादी केन्द्रको कुरा गरे र किन च्याप्टर क्लोज गरे ? दुवैको ठोस उत्तर कतै पनि छैन अर्थात् समाजवादी केन्द्रको विषय अलमलिएकाहरूलाई थप अलमल्याउने पानी फोका थियो । 

प्रचण्डले यसै बिचमा काँग्रेससँग याचना गरेका छन्, दोस्रो दल बनाइदेऊ अर्थात् के पी ओलीभन्दा ठुलो बनाइदेऊ । माधव नेपाल त यस बिचमा बिचरा प्रचण्डको पछुवा भई निगाह बक्सको अपेक्षामा मात्र बाँचिरहेका छन् । 

संसद्मा अघिल्लो निर्वाचनमा तेस्रो दल भएको, सरकार आफ्नै हुँदा एमालेमा केही मानिसहरू बाहिरिँदा र प्रचण्डको साथ रहँदा पनि डराएका देउवालाई अचानक महाशक्ति प्राप्त हुने मुख्य तीन स्रोतमध्ये एक हो स्थानीय तहको निर्वाचन परिणाम र प्रचण्ड माधव नेपालहरूको निरन्तर गठबन्धनको रटान । 

सङ्घ र प्रदेशको निर्वाचनमा नेपाली काँग्रेस एक्लै सरकार बनाउन सकिने गरी निर्वाचन जित्ने अङ्कगणित तयार पारिरहेको छ भने प्रचण्ड र उपेन्द्र यादवहरू यस अङ्कगणितको बाघचालमा निरीह बाख्रो भएका छन् । माधव नेपाल त च्याँखे दाउमा अलमलिएका मात्र हुन् । 

स्थानीय चुनावको नाफा घाटा
गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस, माधव नेपाल, प्रचण्ड र उपेन्द्र यादवहरू एकै ठाउँमा आउन सक्नुको पछाडि के पी ओली र एमाले विरुद्धको उत्तेजना मात्र थियो । स्थानीय तहको निर्वाचन परिणामपछि मात्र प्रचण्ड, माधव नेपाल र उपेन्द्रहरू आफू ठगिएको महसुस गरेका थिए । नेपाली काँग्रेसको आँकलन एमालेबाट माधव नेपालहरू बाहिरिए पनि र प्रचण्डले साथ छोडे पनि एमाले कमजोर छैन भन्ने स्पष्ट मूल्याङ्कन थियो । 

त्यसैले, उनीहरूले असन्तुष्ट माधव नेपाल र माओवादीको बचेका केही भोटहरूलाई आफ्ना पक्षमा ल्याउनका लागि राम्रै पहल गरेका थिए । प्रचण्डको प्राण केन्द्र भरतपुर महानगरपालिका जिताउन, माधव नेपालका मन्त्रीहरूका कमजोरीहरूलाई सहज रूपमा लिन र केही समयको ज्वाइँ मेजमानी बालुवाटारमा देउवाले दिएकै हुन् । गठबन्धनको सुरु सम्झौता विपरीत प्रदेश सरकारहरूको निरन्तरता माधव नेपाल र माओवादीका एमाले विरोधी मत काँग्रेसतर्फ तान्नकै लागि गरिएको थियो । 

स्थानीय तह निर्वाचनलाई फर्केर हेर्ने हो भने माधव नेपाल समूहले ५५ प्रतिशत स्थानीय तह र नेकपा माओवादीले ३८ प्रतिशत स्थानीय तह गठबन्धनका नाममा नेपाली काँग्रेसलाई समर्पण गरेको थियो । फलतः नेपाली काँग्रेसले ३२९ स्थानीय तहको प्रमुख हात पार्न सफल भएको थियो । 

स्थानीय तहको सङ्ख्याको हिसाबले ४४ प्रतिशत स्थानीय तहको प्रमुख जित्न सफल भए पनि प्रमुखले प्राप्त गरेको मत सङ्ख्या भने केवल ३४ प्रतिशत मात्र हो, अर्थात् २ मतदेखि ५ सयभन्दा कम मतले एमालेले  झन्डै ९० स्थानको प्रमुख गुमाएको छ, जुन मत नेकपा एस र माओवादीले काँग्रेसको पोल्टामा हालिदिएका हुन् । बदलामा माओवादीले १६ प्रतिशत स्थानीय तहको प्रमुख र माधव नेपाल समूहले ३ प्रतिशत स्थानीय तहको मात्र प्रमुख पद प्राप्त गर्न सक्यो । गठबन्धनमा रहेको भए पनि जसपाले तराईमा नेपाली काँग्रेसको अपेक्षित साथ पाउन सकेन र विगतभन्दा कमजोर अवस्थामा पुग्ने गयो । 

निष्कर्षमा भन्नुपर्दा गठबन्धनका फाइदा नेपाली काँग्रेसले भरपुर उठाउन सक्यो भने माओवादीले जीवन जोगायो, माधव नेपाल र उपेन्द्र यादवहरू एमाले विरुद्धका मोहरा मात्र भए ।  

सङ्घीय चुनावको हिसाब
सङ्घीय निर्वाचनको सन्दर्भमा नेपाली काँग्रेसको सुनियोजित स्वार्थी षड्यन्त्र रहेको छ । माओवादी, जसपा र नेकपा एसका केन्द्रीय नेतृत्वको त्रास र स्वार्थका कारण यो षड्यन्त्रको बारेमा ती पार्टीहरूमा आन्तरिक चर्चा हुनबाट रोकिएको छ । 
स्थानीय तहको निर्वाचन परिणामबाट माधव नेपाल र उपेन्द्र यादवहरू आफ्नो संसदीय क्षेत्र नै गुमाउने खतरामा रहेका छन् । प्रचण्ड अलिक ढुक्क छन् किनभने काँग्रेसले प्रचण्डलाई चितवनबाट जसरी पनि जिताइदिने आश्वासन दिइसकेको छ । प्रचण्ड परिवारलाई देउवाले पूर्ण सहयोग गर्ने तथ्य रेणु दाहाल जिताउन प्रयोग गरिएको राज्य कोष र राज्य शक्तिबाट नै प्रमाणित भइसकेको छ । त्यसैले प्रचण्ड माधव नेपाल र उपेन्द्र यादव मात्र हैन आफ्नै दलका नारायणकाजीहरूको पनि अवस्थाको बारेमा खासै चिन्ता र वास्ता गरिरहेका छैनन् । 

नेपाली काँग्रेसको एक मात्र उद्देश्य कम्युनिष्टको काँधमा बन्दुक राखी कम्युनिष्टलाई नै सिद्ध्याएर  काँग्रेसको सामान्य बहुमत ल्याउन सक्ने अवस्था सिर्जना गर्न लागिपरेका छन् । सङ्घीय निर्वाचनमा काँग्रेसको तर्फबाट गठबन्धनको प्रस्ताव 
निम्न हुन सक्ने आँकलन गर्न सकिन्छ:

  • काँग्रेसले स्थानीय तह निर्वाचनको समीक्षा प्रतिवेदनको निष्कर्ष अनुसार झण्डै एक तिहाइ स्थान काँग्रेस आफैले निर्वाचन जितेको भन्ने भनाइलाई आधार मान्ने हो भने, करिब ७० सिट काँग्रेसले गठबन्धनको छलफलमा नल्याउने निश्चित छ । 
  • बाँकी करिब ९० देखि १०० सिटमा काँग्रेसको प्रस्ताव निर्वाचनमा प्राप्त पपुलर मतका आधारमा भागबन्डा भन्ने रहन्छ । 
  • यसरी हिसाब गर्ने हो भने, प्रतिनिधि सभाको प्रत्यक्षतर्फ निर्वाचनका सन्दर्भमा निम्नानुसार गठबन्धनको भागबन्डा हुने सम्भावना रहन्छ : नेपाली काँग्रेस एक्लै ७०, नेपाली काँग्रेस गठबन्धनका तर्फबाट ​​​​​​​४०, नेकपा माओवादी गठबन्धनका तर्फबाट ​​​​​​​ २०, नेकपा एस गठबन्धनका तर्फबाट ​​​​​​​ १०, जसपा गठबन्धनका तर्फबाट ​​​​​​​ १५ र अन्यलाई गठबन्धनका तर्फबाट १५ ।
  • यसरी हेर्दा नेपाली काँग्रेसको हिसाब किताब न्यायोचित नै देखिन्छ, तर यसको सहमतिसँगै नेपाली काँग्रेसले गठबन्धनलाई राख्ने सर्त गम्भीर छ, त्यो हो एक्ला एक्लै लड्ने निर्वाचनमा— एमालेसँगको सहकार्यको निषेध ।  
  • यसरी काँग्रेसले फेरी पनि गठबन्धनको प्रत्यक्ष आड र गठबन्धनमा रहेका दललाई एमालेसँग दुरी बनाउन लगाई करिब १०० सिट निर्वाचन जित्न सक्दछ । यसो भयो भने काँग्रेस एक्लै वा जसपा काँग्रेसको संयुक्त सरकार सहज बन्न सक्ने स्थिति पैदा हुन्छ । 

काँग्रेस चाहन्छ आफ्नै प्रदेश सरकार 
गठबन्धनपछि प्रदेश सरकारहरू छ—छ महिना आलोपालो चलाउने सहमति भए पनि सुरु सम्झौता विपरीत गठबन्धनका एस र माओवादीलाई नै काँग्रेसले निरन्तरता दिन सहमति गर्‍यो । उसले यसलाई छद्म रूपमा गठबन्धनप्रति आफ्नो इमानदारिताको रूपमा पेस गरे पनि यथार्थमा काँग्रेसले पछिको सुनियोजित योजनामा यो कदम अघि बढाएको हो । 

निर्वाचनको सम्मुख माओवादी र एस नेतृत्वले चलाएको प्रदेश सरकारका बारेमा मिडिया आक्रमण भयो भने यसलाई अन्यथा नमाने हुन्छ, यो गठबन्धनका नेता शेरबहादुर दाइको गठबन्धनका भाइहरूलाई सप्रेम उपहार हो । निर्वाचन आचारसंहिताका कारण सरकार सञ्चालकहरूले सक्रिय रूपले प्रदेश निर्वाचनमा सहभागी हुन सक्ने छैनन् । अर्कातर्फ प्रत्येक प्रदेशमा सङ्घीय हिसाबकै सिट गणनाको पुनरावृत्ति गरिनेछ । 

नेपाली काँग्रेस नेतृत्वले के पी ओली नेतृत्वको सरकारको तीन वर्षमा भोगेको सत्ताबाहिर रहँदाको कुण्ठालाई प्रदेश समेत आफ्नै सरकार बनाउनुपर्ने प्रणमा रूपान्तरण गरेको छ । यसका लागि ऊसँग स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरू, गठबन्धनका एमाले विरोधी मत र आकाङ्क्षा बलियो हतियारको रूपमा रहेको छ । 

प्रचण्ड उपेन्द्र काँग्रेसी बन्चरोको बिँड 
एमाले नेता के पी ओलीले केही दिन यता आफ्ना भाषणहरूमा जङ्गलका रुखका कथाको प्रसङ्गमा मिलाएर माधव नेपाल र प्रचण्ड काँग्रेसका बिँड भए भनिरहनुभएको छ । नेकपाको सरकार ढाल्न वा स्थानीय तहको निर्वाचनमा एमालेलाई झण्डै ९० स्थानीय तहमा कमजोर बनाउन के पी ओलीले भनेको जस्तो माधव नेपाल र प्रचण्ड काँग्रेस बन्चरोको बिँड भएकै हुन् । तर स्थानीय तहको निर्वाचनपश्चात् भने माधव नेपाल समूहले काँग्रेसका अगाडि बिँड हुने क्षमता र पहिचान राख्दैन, कहिलेकाहीँ बिँड खुकुलो हुन लागेमा ठेडीको काम चाहिँ गर्छ । काँग्रेसले मधेसलाई फिर्ता लिन चाहेको छ । कुनै बेला एकछत्र काँग्रेस भएको मधेस, पछिल्लो समय एमालेलाई निषेध गरेको मधेसमा स्थानीय तहको निर्वाचनमा एमालेको मत वृद्धि भएसँगै काँग्रेस मधेस आफ्नो हातबाट गुम्ने त्रासमा रहेको छ । मधेस केन्द्रित एमाले विरुद्धको आक्रमणमा काँग्रेसले जसपालाई बिँडका रूपमा प्रयोग गर्न सक्छ । काँग्रेस, माओवादी र जसपालाई एकै सूत्रमा उन्न बिजेपीको राखीवाला धागोले राम्रै काम गर्ने देखिन्छ । 

यसर्थ, अबको निर्वाचनमा उपेन्द्र यादव र प्रचण्ड मधेसमा नेपाली काँग्रेसको बिँड बन्ने सम्भावना पर्याप्त देखिन्छ ।  

जिल्लिएका माधव नेपाल 
एमालेमा ७० वर्ष उमेर हदको व्यवस्था र दुई कार्यकालभन्दा बढी लगातार एकै पदमा एकै व्यक्ति निर्वाचित हुन नसक्ने व्यवस्था राखेका कारण आफ्नो राजनीतिक अस्तित्व सङ्कटमा परेको देखेका माधव नेपालले ओली सरकारका समयमा १५ वर्ष शासन गरेको एमालेभित्र आफ्नो कमजोर पहिचानबाट त्रसित भएर प्रचण्डको हात समाई एमाले चोइट्याएका थिए । सुरुआती दिनमा गठबन्धनले निकै मान—भाउ दिएका माधव नेपाल र उनको समूह पछिल्लो स्थानीय तह निर्वाचनमा प्राप्त परिणाम र त्यसबाट उत्पन्न परिस्थितिबाट जिल्लिएका छन् । अहिले गठबन्धन देउवा, प्रचण्ड र कहिलेकाहीँ उपेन्द्र यादवहरूको मात्र हो, माधव नेपालहरू बालुवाटारमा चियामा सरिक साक्षी किनारा मात्र भएका छन् ।

निर्वाचन, जनमत आदिका आधारमा प्रचण्डले नै पनि माधव नेपाललाई आफ्नो हैसियत र यथार्थ धरातलमा टेक्न सुझाव दिइसकेका छन् । यस्तो परिस्थितिमा गठबन्धनको भागबन्डामा डबल डिजिटलको सिट प्राप्त गर्न पनि उनलाई अप्ठ्यारो भएको छ । के पी ओलीलाई देखाइदिने हुटहुटीमा देउवा र प्रचण्डलाई पछ्याएका माधव नेपाल चौटा खान गएको झोलमा डुब्ने खतरामा रहेका छन् । उस्तै पर्दा गठबन्धनले माधव नेपाललाई उनकै निर्वाचन क्षेत्र बाहेक अन्यमा सघाउन नसकिने बताए भने अचम्म नमाने हुने परिस्थिति सिर्जना भइसकेको छ ।  

घर फर्किने कि मुग्लान् ?
एमालेको नेतृत्व, के पी ओलीको बलियो शासनका कारण त्रसित भएका प्रचण्ड माधव नेपालले नेकपा विभाजन, एमाले विभाजन र नेकपाको सरकार ढालेर एक क्षणको आत्मसन्तुष्टि त प्राप्त गरे । तर गठबन्धनको नाममा देउवाको कार्यशैली, अमेरिकी पिछलग्गु अभ्यास, अर्थतन्त्र र कुशासनको नमुना र निरीह औँठाछापको भूमिकाबाट भने प्रचण्ड र माधव नेपालको पनि चेत खुलेको हुनुपर्दछ । प्रचण्डलाई त देउवाले आफ्नी धर्मपत्नी आरजुको समकक्षमा राखेर हैसियत देखाइदिएका छन् । कम्युनिष्ट विरुद्ध कम्युनिष्टको प्रयोग देउवाले आन्तरिक राजनीतिमा मात्र गरेनन् बरु एमसीसी, एसपीपी, नागरिकता विधेयक र भाजपाको दरबारको दहिलामा जाने विशेष दूतसम्म बनाउन भ्याए । पार्टी सिद्धान्त र दर्शनमा अमेरिकी साम्राज्यवाद मुर्दावाद, भारतीय विस्तारवाद मुर्दावाद उल्लेख गरेका प्रधान अन्तर्विरोध नवउदारबादी पुँजीवादी एवं दलाल पुँजीवादीहरूसँग रहेको भाषण, प्रशिक्षण सञ्चालन गरेका नेकपा माओवादी र नेकपा एस कसरी तिनै अमेरिकी इसारामा चल्ने, पुँजीवादी र उदारवादीका पक्षधर, भाजपाका मूँहबोली बहन र ज्वाइँको पक्षमा जिन्दाबाद र समर्पण गरिरहन सक्छ । 

त्यसैले, नेकपा माओवादी, नेकपा एस, राष्ट्रिय जनमोर्चाका कमसेकम कार्यकर्ता पङ्क्ति दोधारका अवस्था छन्, घर फर्किएर कम्युनिष्ट एकता र स्थिर कम्युनिष्ट सरकारको पक्षमा लड्ने कि काँग्रेसको निगाह बक्सको आशामा मुग्लान् पस्ने ? 

यदि राष्ट्रिय स्वाधीनता, नेपाल र नेपालीप्रति गौरव छ भने, भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध मनबाटै गरेको हो भने र नेपालमा कम्युनिष्ट क्रान्ति सम्भव छ भन्ने मनमा कतै छ भने नेपालको ठुलो कम्युनिष्ट पार्टीको नेतृत्वमा कम्युनिष्ट मोर्चामा सामेल भई सङ्घीय र प्रदेश निर्वाचनमा सहभागी हुनुको विकल्प छैन । चुनावी गणितको काँग्रेसी पासोबाट जतिसक्दो चाँडो प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवहरू मुक्त हुन जरुरी छ । 

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ११ : २९ बजे