निर्वाचनको मिति घोषणापछि एकाएक राजनीतिक दलहरूको सक्रियता बढ्न थालेको छ । कम्फर्टेबल सत्ता गठबन्धन सञ्चालन गरिरहेका दलहरू निर्वाचनमा सीट बाँडफाँड गरेर जाने प्रारम्भिक सहमतिअनुसार गठबन्धनमा रहेका दलहरू बीच सीट मिलाउन समिति नै बनेको छ ।
त्यस्तै, नेकपा एमाले चुनावलक्षित कार्यकर्ता प्रशिक्षण र भेटघाट कार्यक्रम लिएर क्रियाशील भएको छ । नेपाली काँग्रेसको नेतृत्वमा माधव नेपालको पार्टी रमाउन थालेपछि हिजो प्रलोभन, प्रभाव, भ्रम र भयले नेकपा एसमा लागेका नेता तथा कार्यकर्ताहरू मूल घर नेकपा एमालेमा फर्किन थालेका छन् ।
यसबाट अत्तालिएर नै होला, माधव नेपालको संन्यास लिने मनसाय र नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलको गठबन्धनमा काँग्रेस बलियो हुनुपर्ने अभिव्यक्ति आएको छ । पौडेल भन्छन्, “सयभन्दा बढी सीमा काँग्रेस उम्मेदवार नभए एमालेलाई हराउन सकिन्न, गठबन्धनमा च्याँखे थापेर सीमा नमागौँ ।” त्यस्तै, प्रचण्डको दौडधुप बढेको र भाषिक सन्तुलन बिग्रन थालेको छ, भारत भ्रमणबाट फर्किएका प्रचण्ड अहिले जापान पुगेर अस्वाभाविक अभिव्यक्तिका कारणले सामाजिक सञ्जालहरूमा ट्रोल भएका छन् ।
लामो समयदेखि मूलधारको राजनीतिमा रहेका दल र नेताहरूलाई विस्थापित गर्ने लक्ष्य लिएर नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारहरू पनि राजनीतिमा सक्रिय हुन थालेका छन् । तर तिनको सक्रियतामा कसले आर्थिक लगानी गरिरहेको छ ? खोजीको विषय बन्नुपर्ने भएको छ । विगतको स्थानीय चुनावमा विदेशमा बसेका नेपालीहरूले बालेन साहको चुनावी अभियानमा ठुलो धनराशि अपारदर्शी ढङ्गले खर्च गरेका थिए, श्रोतका अनुसार बालेनको चुनाव खर्चका लागि लगभग दुई लाख डलर उठाएर पठाइएको थियो । तर त्यो आम्दानी र खर्चको कुनै समाचार बनेन । निर्वाचन आयोगमा बालेन साहले बुझाएको खर्चको विवरणले त एक दिनमा रेष्टुरेण्ट भएको खर्चको भुक्तानी गर्न पुग्दैन थियो । अदृश्य शक्ति र श्रोतबाट अहिले पनि नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारलाई आर्थिक सहायता उपलब्ध भइरहेको छ । कम्फर्टेबल सत्ता गठबन्धनलाई होस् कि नयाँ अभियानलाई बाह्य शक्तिबाट सहयोग प्राप्त भइरहेको छ । उनीहरूको लक्ष्य जसरी पनि नेकपा एमालेलाई हराउने नै हो ।
यसबाट स्पष्ट हुन्छ, नेपालमा नियन्त्रित अस्थिरता कायम राख्नका लागि बलियाका विरुद्ध कमजोरहरूको कम्फर्टेबल गठबन्धन बनाइएको हो । यो गठबन्धनले पनि नेकपा एमालेलाई स्थानीय चुनावमा अपेक्षित धक्का दिन नसकेपछि अहिले नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारहरू क्रियाशील गराइएको छ । त्यतिले पनि नपुगेर उमेरको मुद्दा उठाएर नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई हराउने उद्देश्यका साथ सामाजिक सञ्जालमा अभियान चलाइएको छ ।
धुरी चढेर घोडा चढ्न सकिन्न, साहित्य पढेर पौडीवाज होइन्न । आज यति सामान्य सत्य पनि नबुझेर केही मान्छेहरूले दलीय व्यवस्थाभित्र निर्दलीय चरित्र र प्रवृत्तिलाई प्रवर्द्धन गर्दै छन् । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत बनाउने र जनअपेक्षा सम्बोधन गर्ने सवालमा दलहरूमाथि प्रश्न उठेता पनि दलको विकल्प दल नै हो ।
त्यसैगरी इतिहास भएका स्थापित दल र नेताहरू खास गरी नेकपा एमालेका विरुद्धमा जुन खालको प्रचार भइरहेको छ, त्यसले एमालेका बारेमा जनमनोविज्ञान भ्रमित बनाउने काम गरेको छ । कम्फर्टेबल सत्ता गठबन्धन, स्वतन्त्र समूह र पार्टीले फैलाएको भ्रम र दबाबमा परेर जनताले अब आउने चुनावमा मत जाहेर गरे भने दक्षिण पश्चिमले अनुमानित समयभन्दा अगावै नेपाललाई राजनीतिक, कूटनीतिक र सुरक्षा क्षेत्रमा आफ्नो पकड बनाउँदै नेपालमा नियन्त्रित अस्थिरता बढाएर सत्ता चलाउने छ ।
कम्फर्टेबलवादीहरूले नक्कली र सक्कलीको तर्क गरेर जनमन भ्रमित बनाउन खोज्नु स्वाभाविक हो किनभने उनीहरू त्यसकै लागि भुक्तानी बुझिरहेका छन् । प्रचण्डको भारत भ्रमणको समयमा भारतीय विदेश मन्त्रीसँगको भेटमा जस्तो पोसाक देखियो, त्यसले प्रचण्ड पश्चिमाहरूको औपचारिक पोसाकमा अनि भारतीय विदेश मन्त्री अनौपचारिक पोसाकमा देखिनु कम्फर्टेबलवादीहरूलाई स्वाभाविक नै लागेको होला, तर दुवैको पोसाकले नेपाल हेपिएको छ । त्यो हेपाइबाट देश जोगाउन र देशको सम्मान बढाउन कम्फर्टेबलवादीहरूलाई आगामी चुनावमा हराउन सचेत र देशभक्त नेपालीहरूले यदि तर नगरी ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने राष्ट्रिय सङ्कल्प पूरा गर्न सक्ने दल र उम्मेदवारको पक्षमा मतदान गर्नुपर्छ । हामीले बुझ्नुपर्छ, “हिजोको राजनीति व्यवस्था परिवर्तनमा केन्द्रीत थियो भने आजको राजनीति देशको अवस्था परिवर्तनमा केन्द्रीत हुनुपर्छ ।” तर यति सामान्य तथ्य र आवश्यकता पनि नबुझेर स्वतन्त्र समूह र पार्टीहरू व्यक्ति परिवर्तनको मुद्दा बोकेर जनता भ्रमित बनाउँदै नियन्त्रित अस्थिरता सिर्जना गर्ने कम्फर्टेबलमुखी राजनीति गरिरहेका छन् ।
यस्तो स्थितिमा नेकपा एमालेले वामपन्थी जनमत, नेता तथा कार्यकर्ताहरूलाई ध्रुवीकरण गरेर पहिलो दल बन्ने चुनावी रणनीति बनाउनुपर्छ । माओवादी र एसमा लागेका नेता तथा कार्यकर्ताहरू माझण्डहरूको गतिविधिहरूबाट आजित भएका छन्, उनीहरू विद्रोहको मानसिकता बनाएर नेकपा एमालेबाट सम्मानजनक साथ खोजिरहेका छन् । यो अवसरलाई एमालेको मुख्य नेतृत्वले सदुपयोग गर्न सक्नुपर्छ ।
देशको अवस्था परिवर्तनको लागि उमेर र व्यक्ति होइन नीति, नियत र नियति बदल्नुपर्छ । व्यक्ति परिवर्तनको मुद्दा बोकेर ज–जसले चुनावी राजनीति गर्दै छन्, उनीहरू पूर्ण रूपमा भ्रममा छन् किनभने वैचारिक रूपमा स्पष्ट नभएको जमातले स्वतन्त्रको वकालत गर्दै स्वछन्दतालाई बढवा दिएर समाजमा अराजकता बढाउँछ । आज त्यो अराजकताको नेतृत्व सरकारमा बसेर शेरबहादुर देउवाले गर्दै छन् त सडकबाट रबी लामिछानेले नेतृत्व गर्ने प्रयास गर्दै छन् । यो यथार्थ जनतालाई नभनेर सञ्चार माध्यमहरूले देश र जनताप्रति बेइमानी गरिरहेका छन् । यस्तो परिस्थिति र मनस्थितिका बीच हुन गइरहेको आमनिर्वाचनमा विचारमा प्रगतिशील अनि व्यवहारमा लोकतान्त्रिक दल र नेतृत्वको पक्षमा जनता उभिनुपर्छ । अनि मात्रै समृद्ध नेपाल, सुखी नेपाली बनाउने राष्ट्रिय सङ्कल्प अपेक्षित ढङ्गले पूरा गर्न सकिन्छ ।
समा थापाले सामाजिक सञ्जालमा लेखेकिछिन्, “पूर्व प्रधानमन्त्री गलत, यो जातका गलत, यो उमेरका गलत, दलका गलत भन्ने बुझाई अपुरो छ । जात, उमेर र पदलाई दोष नदिउँ। मानिसलाई गुणदोषका आधारमा समर्थन र विरोध गरौँ।” कुरो हो, राजनीतिमा व्यक्ति अस्थायी हुन्छ भने राजनीतिक दर्शन स्थायी र गतिशील । विचारबाट निर्देशित राजनीति र व्यवहार आजको आवश्यकता हो । तर निश्चित व्यक्ति परिवर्तनको मुद्दा कसले र किन उठाउन सघाउँदै छ ? खोजी गर्नुपर्ने भएको छ । राज्यले काम गर्न नसक्नुको मुख्य कारण राजनीतिक व्यवस्था र व्यक्ति होइन, हाम्रो खराब शैक्षिक, प्रशासनिक, न्यायिक र आर्थिक प्रणाली नै हो । तर यो मुद्दालाई सञ्चार जगतले प्राथमिकता दिएको पाईंदैन्।
यतिखेर “खास–खास व्यक्ति विस्थापनको मुद्दा उठाएर व्यक्ति नै हाबी हुने राजनीतिक लक्ष्य लिएर स्वतन्त्र नयाँ पार्टीको अभियान चलेको छ ।” यो अभियानलाई पर्दा पछाडिबाट सघाउने को को हुन्? खोजी नगर्दासम्म आम मतदाता भ्रमित भइरहने वातावरण बन्छ । लोकतान्त्रिक गणतन्त्रमा दलको विकल्प व्यक्ति हुँदै होइन । बरु व्यक्ति दलको विचार र कार्यक्रमहरूबाट निर्देशित हुनुपर्छ । अबको राजनीति आफ्नो सबल र असल पक्षको जगमा अघि बढ्नुपर्छ नकि अरूको असफलतामा ।
गएको पाँच वर्षको अनुभवहरूबाट यति भन्न सकिन्छ;
मूर्खहरूको बुद्धि हुँदैन,
गद्दारहरूमा ईमान हुँदैन ।
अनि
तिनीहरू सजिलै चिनिदैन्,
जतिखेर चिनन्छ ढिलो भइसकेको हुन्छ ।
त्यसैले राजनीति भ्रम, भय र भद्रगोलको मानसिकताबाट अघि बढ्न सक्दैन । राजनीति विचार, सत्य तथ्यसहितको तर्क र व्यवहारहरूले निर्देशित हुनुपर्छ । भावनामा बगेर अनि भावनात्मक दबाब बढाएर राजनीति गर्न सकिदैन् । यतिखेर जनताले लिने पक्षधरता र निर्णयले देशलाई अबको पाँच वर्ष कुन बाटोबाट कस्तो बनाउने भन्ने मार्ग प्रशस्त गर्छ ।
जनताले लोकतान्त्रिक गणतन्त्र देशमुखी र जनमुखी बनाउँदै समृद्ध नेपाल, सुखी नेपाली बनाउने राष्ट्रिय सङ्कल्प पूरा गर्न भ्रम, भय र भद्रगोलको मानसिकताबाट मुक्त हुँदै विवेक प्रयोग गर्न सक्नुपर्छ । खराब पात्र, प्रवृत्ति र चरित्रहरूलाई चिन्न पनि सक्नुपर्छ । जनताले बुझ्नुपर्छ, “जनताको सबैभन्दा ठुलो शत्रु दलीय राजनीति होइन, राजनीतिमा खराब पात्रहरूले फैलाएका भ्रमहरू हुन् ।” काँग्रेस खतम गर्न शेरबहादुर देउवा त कम्न्युनिष्ट खतम पार्न माझण्डहरू प्रयोग भएका पात्रहरू हुन भन्ने थियो तर त्यतिमात्र होइन रहेछ । यिनीहरू त लोकतान्त्रिक गणतन्त्रको कालो बर्को ओढेर देश नै खतम गर्न प्रयोग भएका पात्रहरू रहेछन् भन्ने कुरा गएको एक वर्षका गतिविधिहरूले पुष्टि गरेको छ । यसर्थ आज जनताको बहुदलीय जनवादमा विश्वास गर्नेहरूले देउवा र माझण्डहरूबाट लोकतान्त्रिक गणतन्त्रसँगै देश पनि जोगाउनु पर्ने राजनीतिक परिस्थिति बनेको छ । यो कुरो जनतालाई सरल भाषामा तथ्यसहित बुझाउनु पर्नेछ ।
शेरबहादुर देउवाको दक्षिणपन्थी अवसरवाद, प्रचण्डको विषालु उपयोगितावाद र माधव नेपालको कुण्ठायुक्त राजनीतिले कम्फर्टेबल गठबन्धनमात्र बनेको छैन, नेपालको आन्तरिक राजनीतिमा बाह्य हस्तक्षेप झन् बढ्न थालेको छ। नेपालमा भारत र अमेरिकाको बढ्दो चलखेल त्यसको प्रमाण हो । यस्तो स्थितिमा कम्फर्टेबल गठबन्धन र अवसरवादी समूहहरूलाई जनादेशबाट परास्त गर्दै प्रगतिशील लोकतान्त्रिक गणतन्त्र पक्षधर राजनीतिक दलका पक्षमा जनताले आफ्नो अभिमत प्रयोग गर्नुपर्छ अन्यथा राजनीति बिग्रिएर हामी बिग्रिएका हौँ कि हामी बिग्रिएर राजनीति बिग्रिएको भन्ने प्रश्नको उत्तर नै नखोजी जनमनोविज्ञान भ्रमित हुन जान्छ र देश विरोधी शक्तिहरू सत्तामा पुग्न सक्छन् । त्यतिखेर समृद्ध नेपाल, सुखी नेपाली बनाउने राष्ट्रिय सङ्कल्प नारामा मात्र सीमित भई अलपत्र पर्नेछ ।
प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार ८ : ४८ बजे
प्रतिक्रिया