राष्ट्रपति भवनमा घटस्थापना

टरिगाउँ एयरपोर्टमा फ्लाइट घटाइयो

तुलसीपुर । दाङको टरिगाउँ एयरपोर्टमा ‘फ्लाइट’ घटाइएको छ । 

अहिले हप्तामा तीन दिन मात्रै फ्लाइट हुने गरेको छ । नेपाल वायुसेवा निगमका दाङ स्टेसन म्यानेजर महेन्द्र शर्माका अनुसार जहाज बिग्रिएर‘ग्राउन्डेड’ भएपछि हाल बुधवार, बिहीबार र शुक्रवार मात्रै फ्लाइट हुने गरेको छ । 

यसअघि दैनिक हवाई सेवा थियो । “जहाज ग्राउन्डेड भएकाले अहिले तीन दिन मात्रै सेवा दिने गरेका छौँ”, उहाँले भन्नुभयो, “पहिले शुक्रवार र शनिवार बाहेक अन्य दिन सेवा दिने गरेका थियौँ, त्यसपछि प्रत्येक दिन पनि भएको थियो, तर, अहिले घटाउनु पर्ने अवस्था आएको छ ।” 

असारको दोस्रो सातादेखि नियमित हप्तामा तीन मात्रै सेवा दिन थालिएको भन्दै अब साउन अन्तिमतिर दैनिक फ्लाइट भर्ने तयारी रहेकोसमेत उहाँको भनाइ छ । अहिले हप्तामा तीन दिन फ्लाइट भए पनि यात्रुको त्यति चाप नभएको उहाँले बताए । सरदर १०÷१२ यात्रु आवतजावत गर्ने गरेका छन् ।  अहिले दाङ–काठमाडौँ हवाई भाडा न्यूनतम भाडा रु आठ हजार आठ सय १० छन्, भने अधिकतम रु १२ हजार छ सय ६५ रहेको छ । काठमाडौँभन्दा दाङ आउँदा भने त्यसको रु दुई सय बढी हुन्छ । काठमाडौँमा यात्रु सेवाबापत रु पाँच सय रहेको, दाङमा रु तीन सय रहेकाले काठमाडौँबाट दाङ आउँदा रु दुई सय बढी लाग्ने गर्छ । 

अहिले एयरपोर्टमा निगमको १९ सिटे टुइनेटर आउने गर्छ । ठुला जहाज आउनका लागि धावनमार्ग विस्तार गर्नुपर्छ । त्यसका लागि यस क्षेत्रमा पटक–पटक माग हुने गरेको छ । 

अहिले सात सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावन मार्ग छ । त्यसलाई बढाउन सकिएमा ठुला जहाज बस्ने र हवाई भाडा सहज हुने अपेक्षा गरिएको छ । 

‘ल्याब रिपोर्ट’को पर्खाइ 
एयरपोर्टमा इन्धन डिपो निर्माणको काम अन्तिम चरणमा पुगेको छ । डिपोमा इन्धन भण्डारण लागि ट्याङ्की पनि आइसकेको छ, भने अन्य आवश्यक भवन, सेट, कम्पाउन्ड, डिपोबाट एयरपोर्टसम्म पुग्ने सडक निर्माण भइसकेको नेपाल आयल निगम वितरण केन्द्र तुलसीपुरका प्रमुख विपिनकुमार श्रेष्ठले बताउनुभयो, “डिपो निर्माणको काम अन्तिम चरणमा पुगेको छ”, उहाँले भन्नुभयो, “अब केही समयमा सञ्चालनमा आउँछ ।” डिपो सञ्चालनका लागि अहिले बायो परीक्षणका लागि भारत पठाइएको छ । त्यो रिपोर्ट आएपछि निगमको केन्द्रीय कार्यालयले समिति निर्माण गरेर सञ्चालनमा ल्याउने छ । करिब रु पाँच लाखको लागतमा उक्त डिपो निर्माण गरिएको हो ।

डिपोमा रहेको ट्याङ्कीमा इन्धन पनि ल्याइसकिएको छ । ३० हजार लिटर क्षमता भएको उक्त इन्धन डिपोमा अहिले २० हजार लिटर इन्धन ल्याइएको छ । ट्याङ्कीमा ३० हजार र बाउजरमा ११ हजार लिटर भण्डारण गर्न सकिने प्रमुख श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार भारतको लखनउबाट नेपालगञ्ज ल्याउने र नेपालगञ्जबाट दाङमा इन्धन ल्याइनेछ । 

इन्धन डिपो आएपछि भाडामा त्यति धेरै तलमाथि नभए पनि सहज हुने बायु सेवा निगमका दाङ स्टेसन म्यानेजर महेन्द्र शर्माले बताउनुभयो । उहाँका अनुसार काठमाडौँबाट १२ जना मात्रै आउने गरेका छन्, बाँकी सिटमा इन्धन बोकेर ल्याउनुपर्छ  तर, यही इन्धन भर्न सकेमा सबै सिटमा यात्रु आउनेछन् । दाङबाट पनि अहिले सबै सिटमा पठाउन सकिएको अवस्था छैन । 

इन्धन डिपो सञ्चालनमा आएमा सबै सिटमा राखेर पठाउन सकिने उहाँले बताउनुभयो । विसं २०११ मा उक्त एयरपोर्ट सञ्चालनमा आएको हो तर, बीच–बीचमा हवाई सेवा अनियमित हुने गरेको छ । रासस

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ७ : ०३ बजे