भाडाका ११ भवनमा कर्णाली स्वास्थ्य प्रतिष्ठानका, आफ्नो भवनमा कहिले ? 

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एकेडेमीतर्फ ईन्टर, ब्याच्लर, मास्टर लेवलमा अध्यापना गराइरहेको छ । तर, आफ्नै भवन नहुँदा प्रतिष्ठानले ११ घर भाडाका घरबाट यी कार्यक्रम सञ्चालन गरिरहेको छ । 

प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले प्रध्यापक चिकित्सक बस्ने भवन, अध्ययन अध्यापन भवन, होस्टेल, आधारभुत चिकित्सा विज्ञान भवन समेत भाडामा लिनु परेको बताउनुभयाे । यही समस्याबारे उहाँले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीको ध्यानाकर्षण पनि गराउनुभएकाे छ । उहाँले भन्नुभयाे, ‘प्रतिष्ठानलाई आवश्यक भौतिक संरचना निर्माण गर्न बजेट व्यवस्थापन गरिदिन आग्रह गरेका छौँ । सरकारको पूर्ण सहयोग आवश्कता छ ।’ स्वास्थ्य सेवा, एकडेमी र अनुसन्धानतर्फ संस्थाले आशाका किरण देखाएको छ । हाइअल्टिच्यूटका आधारमा विश्वको सबैभन्दा उच्च स्थानमा पेरुको अस्पताल छ त्यसपछि दोस्रो स्थानमा यही जुम्लाको हो । 

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री केसी प्रतिष्ठानको प्रयोगशाला भवन र अक्सिजन प्लान्ट उद्घाटन गर्न जुम्ला आएको बेला प्रतिष्ठानका उपकुलपति डा. रावलले यस्तो आग्रह गर्नुभएकाे हाे । 

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री केसीले प्रतिष्ठानको आग्रहलाई स्वीकार गर्दै  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानप्रति सकारात्मक रहेको बताउनुभयाे । उहाँले प्रतिष्ठानको वृत्ति विकासमा काम गर्ने प्रतिबद्धता जनाउनुभयाे । 

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री केसी, सचिवसहितको टोलीले प्रतिष्ठानको स्वास्थ्य सेवा, चिकित्सा शिक्षातर्फ अध्ययन अध्यापन विभिन्न फ्याकेल्टिको अनुगमन गरी सुझाएको रजिष्टार निर्पेन्द्र महतले बताउनुभयाे।

प्रतिष्ठानले डायलाइसिस सेवा सुरु गर्दै
प्रतिष्ठानले चाडै नै मिर्गौला डायलाइसिस सेवा पनि सुचारु गर्ने भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डायलाइसिस उपकरण (मेसिन) उपलब्ध गराएपछि सेवा सुचारु हुनेछ । 

मन्त्रालयले प्रतिष्ठानलाई ६ सेट डायलाइयसिस उपकरण उपलब्ध गराउने भएको छ । 

चिकित्सक आउनै नमान्ने जिल्लाले चिकित्सक उत्पादन गर्दै
कुनै समयमा चिकित्सक आउन नमान्ने जिल्ला जुम्लाले अहिले चिकित्सक उत्पादन गरिरहेको छ । जुम्लामा एमबीबीएससहितका स्वास्थ्यसम्बन्धी उच्च शैक्षिक कार्यक्रम सुरु भएपछि दुर्गम ठाउँमा धेरैको ध्यानाकर्षण भएको छ ।

विगतमा भन्दा यस वर्ष एमबीबीएसमा थप १० कोटा थपिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका आधारभूत मेडिकल विज्ञानका संयोजक प्राध्यापक डा. दिनेश बाँस्तोलाका अनुसार प्रतिष्ठानमा अघिल्लो वर्षदेखि २० जना एमबीबीएस विद्यार्थी अध्ययन गरिरहेका छन् ।यसवर्ष ३० जनाको सिट स्वीकृत भएको छ । अझै विद्यार्थी भर्ना हुनेक्रम जारी छ ।

उहाँका अनुसार उच्चशिक्षामा स्कुल अफ मेडिसिन, स्कुल अफ नर्सिङ रे स्कुल अफ पब्लिक हेल्थ विषयका कक्षा सञ्चालन भइरहेका छन् । स्कुल अफ मेडिसिनमा एमबीबीएस र बी फार्मेसी पढाइ भइरहेको छ । नर्सिङमा मिडवाइफ स्नातक र बिएन अध्ययन भइरहेको छ । यस्तै, स्नातकोत्तरमा एमडी एनेस्थेसिया, एमडी पेड्रियाटिक्स, एमएस अर्थाे र एमडीजीपी कक्षासमेत सञ्चालनमा छ । 

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  १ : ४७ बजे