गठबन्धनका कारण मुलुकमा अस्थिरता र सङ्कट उत्पन्न भएको छ : सचिव भट्टराई

​​​​​​​काभ्रे । नेकपा एमालेका सचिव योगेश भट्टराईले गठबन्धनका कारण मुलुकमा अस्थिरता र सङ्कट उत्पन्न भएको बताउँदै आगामी निर्वाचनबाट गठबन्धनलाई परास्त गरी मुलुकको समृद्धिको यात्रालाई निरन्तरता दिनुपर्ने बताउनुभएको छ ।

नेकपा (एमाले)काभ्रे जिल्ला कमिटीले शनिवार आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ताका लागि निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रममा उहाँले ‘गठबन्धन नेतृत्वको सरकार र दलहरू मुलुकमा अस्थिरता निम्त्याउँदै सद्भाव भड्काउन खोजिरहेको बताउनुभयो । 

उहाँले एमाले जातीय, क्षेत्रीय र सामाजिक सद्भाव कायम राख्न निरन्तर सक्रिय बताउनुहुँदै नेपालमा सद्भाव भड्काउन गठबन्धनको बलमा विदेशी शक्तिहरू समेत सक्रिय भएको बताउनुभयो । 

“शेरबहादुर देउवा नेतृत्वको सरकार अमेरिका र चीनको  लडाइँमा नेपालको भूमि मैदान बनाउन दिँदै छ”–सचिव भट्टराईले भन्नुभयो, “असंलग्न राष्ट्रको सिद्धान्त बिर्सेर नेपाललाई लडाइँको केन्द्र बनाउने गठबन्धन सरकारको योजना नेपाली जनताले आगामी मङ्सिरको निर्वाचनबाट परास्त गर्नुपर्छ ।”

उहाँले ३३ सिटमा झरेको, बुढानीलकण्ठमा र्‍याल चुहाएर बसेको, प्रतिस्पर्धाबाट भागिसकेको काँग्रेसलाई सत्ता सुम्पन्न प्रचण्ड र माधव नेपालले गरेको गलत क्रियाकलापको आफू साक्षी बस्न नसकेको बताउनुभयो । 

“समाजवादमा जाने मुखले भन्दैमा सम्भव छैन, त्यसका लागि असल चालक आवश्यक छ, प्यासेन्जर बस्ने सिटमा बसेर समाजवादको यात्रा तय हुन सक्दैन”, सचिव भट्टराईले भन्नुभयो, “समाजवादको यात्रा नेकपा (एमाले)र त्यसका अध्यक्ष केपी ओलीले मात्रै सञ्चालन गर्न सक्नेछन् । काँग्रेस र कम्युनिष्टको जाने बाटो फरक छ । फरक बाटो हिँड्नेहरूसँग काँध मिलाएर प्रचण्ड र माधव नेपाल समाजवादको बाटोमा पुग्न सक्दैनन् ।”

स्थायी कमिटी सदस्य एवं बाग्मती प्रदेश कमिटीका इन्चार्ज काशीनाथ अधिकारीले जनताको बहुदलीय जनवादको मान्यता अनुरूप पार्टी सङ्गठन निर्माणका सन्दर्भमा प्रशिक्षण दिनुभएको थियो । 

पोलिटब्यूरो सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज गोकुल बास्कोटाले निर्वाचनमा पार्टीको भूमिकाका सन्दर्भमा प्रशिक्षण दिनुभएको थियो । 

बाग्मती प्रदेश कमिटी सचिव विजय सुवेदीले प्रदेशका समग्र जिल्लामा पार्टीका प्रशिक्षण र भेला तथा तयारीका बारेमा जानकारी गराउनुभएको थियो । एमाले अध्यक्ष अशोक ब्याञ्जुले काभ्रे जिल्लाको समग्र परिस्थिति र अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । 

कार्यक्रममा जिल्लाका छ सयभन्दा धेरै अगुवा कार्यकर्ता सहभागी थिए । 

एमालेले भदौ १५ अगावै सबै सङ्गठित सदस्यको सदस्यता नवीकरणको अभियान जारी राखेको छ भने सबै जन वर्गीय सङ्गठन, गाउँ तथा नगर कमिटी र वडा कमिटीको बैठक तथा चुनावी तयारी गर्न परिपत्र गरिसकेको छ । 

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ८ : ४१ बजे