राष्ट्रपति भवनमा घटस्थापना

सीमा क्षेत्रमा अपराध तथा तस्करी नियन्त्रण गर्नेबारे नेपाल र भारतका अधिकारीहरुबीच छलफल

जनकपुरधाम । नेपाल भारतकाको सीमावर्ती क्षेत्रमा हुने अपराध तथा तस्करी नियन्त्रणमा थप कडाइ गर्न दुवै देशका सुरक्षा अधिकारीहरू बीच छलफल भएको छ । 

शनिवार जनकपुरधाममा भएको दुई देशका सुरक्षा अधिकारीहरूको बैठकमा सीमावर्ती क्षेत्रमा हुने हत्या हिंसा, लागु औषध कारोबार, तस्करी तथा दशगजामा रहेका जीर्ण तथा भत्केका सीमा स्तम्भहरूको पुनर्निर्माण  गर्ने विषयमा  छलफल भएको हो । 

बैठकमा सहभागी धनुषा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीका अनुसार वर्षायाममा बाढीले सीमा वरिपरिका गाउँहरूमा हुने क्षतिको विषयमा बैठकमा छलफल भएको थियो ।  

“कुनै खास विषयमा होइन, बैठक नियमित हो”, सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले भन्नुभयो, “सीमावर्ती क्षेत्रको शान्ति सुरक्षा, तस्करी, लागु औषध जस्ता विकृत दुवै देशको हित विपरीत रहेकोले यी समस्यालाई थप नियन्त्रण कसरी गर्ने विषयमा पुनः छलफल भएको हो ।”

बैठकको नेपाली पक्षको नेतृत्व धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले गर्नुभएको थियो भारतीय पक्षको नेतृत्व मधुबन्नीका डी एम अरविन्द कुमार बर्माले गर्नुभएको थियो । 

बैठकमा धनुषा, महोत्तरी, सिराहा तथा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूको सहभागिता थियो । त्यसैगरी, भारतीय पक्षबाट मधुबन्नी जिल्लाका प्रहरी प्रमुख तथा अन्य सरकारी निकायका अधिकारीहरूको सहभागिता रहेको थियो । 

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ७ : २८ बजे