बाढीको स्थितिमा सुधार

सुकिलुम्बा विमानस्थलको घेरा बार र टर्मिनल भवन बन्ने

मङ्गलबारे । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको वरिपरि घेरा बार निर्माण हुने भएको छ । यस्तै विमानस्थलको स्थायी टावर र यात्रु प्रतीक्षालयसहितको टर्मिनल भवन निर्माण हुने भएको छ । 

नागरिक उड्डयन प्राधिकरण एरोड्रोन इन्जिनियरिङ विभागका निर्देशक मुरारी भण्डारीले घेरा बार, स्थायी टावर र यात्रु प्रतीक्षालय निर्माण गर्न सरकारले बजेट उपलब्ध गराएको जानकारी दिनुभयो । 

“विमानस्थल उद्घाटन त गरियो तर सुरक्षाको लागि केही पनि नभएकाले यो वर्ष घेरा बार गर्ने तयारी छ”, निर्देशक भण्डारीले भन्नुभयो । बजेट पास भएर आएकाले अब दसैँ तिहारपछि काम अगाडि बढ्ने गरी योजना तयार हुँदै गरेको पनि उहाँले बताउनुभयो । 

प्राधिकरणले समेत लगानी गर्ने गरी बजेट व्यवस्था गरेपछि बहु वर्षे ठेक्कामा भवन र टावर निर्माण गर्ने साथै घेरा बारा गर्ने तयारी छ । यो वर्ष घेरा बाराका लागि रु एक करोड र भवनसहित टावर निर्माणमा रु दुई करोड बजेट विनियोजन भएको भण्डारीले जानकारी दिनुभयो । 

विमानस्थलको धावनमार्ग दायाँबायाँको कच्ची भागलाई मर्मत सम्भार गरी नालीसमेत सरसफाइ गरिने विमानस्थल आयोजना प्रमुख विनायक भट्टराईले बताउनुभयो । 

ओटासीलको केही भाग चर्किएको र त्यहाँसमेत प्राविधिक परीक्षण गर्दा ठुलो समस्या नदेखिएको निर्देशक भण्डारीको भनाइ छ । हाल सो विमानस्थलको धावन मार्ग चर्किएको छ । भर्नुपर्ने माटो भएकाले केही चर्किएको बताइएको छ । यहाँ ‘अटोमेटिक शील’ गरेपछि पुनः माटो बस्ने उहाँले बताउनुभयो । 

विसं २०५८ मा सर्वे सुरु भई सुकिलुम्बा विमानस्थलमा २०६८ चैतदेखि निर्माण सुरु भएको थियो । धावनमार्ग विस्तार भएपछि तारा एयरले पहिलो पटक प्राविधिक उडान गरेको थियो । रु आठ करोड ४० लाख लागतमा गत वर्ष नै धावनमार्ग र पार्किङ स्थलमा कालोपत्रे भएपछि नेपाल वायुसेवा निगमले पहिलो परीक्षण उडान सम्पन्न गरेको थियो ।

विमानस्थलमा हप्तामा एक पटक उडान गर्ने तारा एयर र इलाम नगरपालिकाको योजनाअनुसार केही समय उडान भएको थियो । उडानका लागि सम्झौताअनुरूप यात्रुबापतको रु ११ लाख बढी रकम नगरले तारा एयरलाई भुक्तानी गरेको थियो ।

नेपालमा साना विमानस्थलको निर्माण र स्तरोन्नति भए पनि साना विमानको अभावमा नियमित उडान हुन सकेको छैन । साना जहाजको सञ्चालन खर्च बढी हुने भएकाले पनि लगानीकर्ताले यसतर्फ चासो नराखेको बताइएको थियो । 

साना विमानस्थललाई हुने जहाज आए राम्रो हुने निर्देशक भण्डारीको भनाइ छ । इलाममा निर्मित विमानस्थलबाट नियमित उडान गराउन पहल भइरहेको इलाम नगरपालिकाले जानकारी दिएको छ । रासस

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ८ : ०७ बजे