नेपाली कामदार जापान लैजानका लागि संयुक्त बैठक, सुरुमा ८ सय ५० जना जाने

काठमाडौँ । जापानीज भाषा र सीप परीक्षा उर्तिण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया टुङ्गो लगाउन संयुक्त समितिको बैठक आज बस्दै छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेल र जापान सरकारका तर्फबाट सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वको प्रतिनिधि मण्डलको संयुक्त बैठक आज बस्न लागेको हो ।

बुधवार मन्त्रालयले विज्ञप्ति जारी गरी भाषा र सीप परीक्षामा उर्तिणलाई सीपयुक्त श्रमिक कोटाबाट जापान पठाउने अन्तिम तयारी भएको जनाउँदै आज संयुक्त बैठक बस्ने जानकारी दिएको थियो ।

सो प्रणाली अन्तर्गत कृषि, मत्स्यपालन, औद्योगिक क्षेत्र, होटेल तथा रेस्टुरेन्ट, पर्यटन, निर्माण, नर्सिङ र केयरिङलगायत १४ वटा क्षेत्रमा भाषा र सीप परीक्षा उर्तिण भएका नेपालीले काम गर्ने अवसर पाउने छन् । 

दक्षिण कोरिया पछि सुरक्षित र आकर्षक आम्दानी हुने देशमा पर्ने भएकाले पहिलो पाँच वर्षमा ४५ हजार १ सय ५० नेपाली श्रमिकलाई जापान लैजाने दुवै देशका बिचमा अनौपचारिक सहमति भएको थियो । 

गत ११ चैत २०७५ मा उच्च सीपयुक्त कामदार अन्तर्गत नेपाली नागरिकलाई जापानमा रोजगारीको अवसर प्रदान गर्ने गरी नेपाल र जापान सरकार बीच श्रम समझदारीमा हस्ताक्षर भएको हो ।

कोरोना महामारीका कारण झन्डै ३ वर्ष अड्किएको सो प्रक्रिया सुरु गर्नका लागि आज नेपाल र जापान बीच संयुक्त बैठक बस्न लागेको हो ।  

 

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ९ : ४६ बजे