महाभारतमा एउटा प्रसङ्ग आउँछ । कौरव र पाण्डव राजकुमारहरूलाई गुरु द्रोणाचार्यले धनुर्विद्या सिकाएका हुन् । एक दिन कर्ण पनि धनुर्विद्या सिक्नका लागि द्रोणाचार्यको आश्रममा जान्छन् र आफू पनि गुरुको शिष्य भएर पढ्ने विचार व्यक्त गर्दछन् । द्रोणाचार्यले उनलाई सूतपुत्र (रथचालक) भएकाले पढाउन इन्कार गर्छन् । उनी दुर्योधनका मित्र भएकाले उनलाई दुर्योधनले अङ्गदेश राज्यको राजा घोषित गरेपछि मात्र कौरव—पाण्डव पुत्रहरूसँग बसेर पढ्न पाउँछन् । उनी सर्वश्रेष्ठ धनुर्धर र सर्वश्रेष्ठ योद्धा बन्छन् । तथापि, गुरुकुलमा बेलाबेला उनलाई राधेय, सूतपुत्र आदि भनेर अपमान गर्न छोडिएन ।
एक दिन उनले गर्वसाथ भन्छन्, सूतो वा सूतपुत्रो वा यो वा को वा भवाम्यहम् । देवायत्नं कुलेजन्म मया यत्नं तु पौरुषम् अर्थात् म चाहे सूत हुँ वा सूतपुत्र हुँ, जोसुकै, जेसुकै हुँ, त्यो मेरो वशको विषय होइन । कुन कुलमा जन्मिने भन्ने कुरो प्रारब्धको हातमा छ । त्यो कुनै पनि मान्छेको वशको कुरो होइन । मैले जुन पुरुषार्थ गरेको छु, म वीर योद्धा हुँ र कुशल धनुर्धर हुँ । यो मेरो आफ्नो पुरुषार्थ हो । यो मैले आफूले आफ्नो इच्छाशक्ति र लगनले आर्जन गरेको गुण हो ।
पुर्खाहरूबाट कहीँ कतै कमी—कमजोरी भए होलान्, त्यसका दोषी जसले कमी—कमजोरी गर्यो तिनै हुन् । तर बाउबाजेले गरेका दोष सबै अपराधको दण्ड सन्तानले भोग्नुपर्छ भन्नु/सोच्नु अतिवादी चिन्तन हो ।
हाम्रो समाज अझै पनि पछौटे अवस्थामा छ । मानव सभ्यताकै कलङ्कको रूपमा रहेको जातीय विभेद, छुवाछुत प्रथा न्यूनीकरण भए पनि निर्मूल भएको छैन । कतै कतै त पुरानै अवस्था पनि रहेको छ । यस्तो अमानवीय प्रथालाई कुनै कोणबाट पनि राम्रो मान्न सकिन्न । तर समाजमा जातीय कारणले भएका घटनाहरूको दोष अमुक जातिले लिनै पर्ने हो ? एउटा जनजाति भनिएका व्यक्तिले (नेपालमा जनजाति अवस्थामा केवल राउटे मात्र छन् । अरू सबै जातिमा परिणत भए भन्ने मेरो बुझाइ छ) व्यक्तिले तथाकथित दलित जातिका मान्छेमाथि ज्यादती गर्यो भने पनि दोष दिइँदै आएको बाहुन भनिनेमाथि नै औँलो ठड्याइन्छ । के तिखो नाक हुनु यसको दोष हो ? के कोही मान्छे आफ्नो इच्छाले बाहुन भएको हो ? के कुनै –व्यक्ति आफ्नो इच्छाले कथित दलित भएको हो ? होइन । एक्काइसौँ शताब्दीमा पनि यस्तो सोच राख्नु सही हुन्छ र ?
४०–५० वर्ष पहिलेसम्म छोइछिटो गर्ने समाजका मानिसहरू अहिले सँगै बसेर खान्छन् । सँगै बसेर खाने चलन बढेको छ, खानपानमा बन्देज हटेर गएको छ । सँगैसँगै पढ्ने, सबैले एउटै एउटै कार्यक्षेत्र बनाई काम गर्ने अवस्था बढेको छ । यसरी अघि बढ्दै जाँदा एक दिन बिहेवारी पनि अवश्य चल्छ । यस छुवाछुत प्रथाको यसरी अन्त्य गर्दै जानुपर्छ र हुनुपर्छ, यसमा दुई मत छैन ।
रचयिताको नाम कहिले याद भएन । ती रचनाकारको यो पङ्क्ति याद छ — ‘अझैँ पनि अखडा खै विश्वमा बन्धु भेटिने ?’ यसअघि पनि लेखिएको पाइन्छ— ‘वसुधैव कुटुम्बकम् ।’ अर्थात् सिङ्गो संसार नै एउटा परिवार हो । यो हाम्रो आदर्श हो । के एउटै परिवारमा पनि उँचो निचो हुनु सही हुन्छ र ? हुँदैन । हामी हाम्रै आदर्श विरुद्ध जान मिल्छ र ? मिल्दैन । यसमा पनि अझ दलित र गैर दलित त एउटै नाक—नश्लका छौँ । आर्य, द्रबिण, ककेशस, मङ्गोल आदिमा विभाजित गरिएको सन्दर्भमा पनि नेपालका दलित र गैर दलित एउटै परिवारका हौँ । यसरी आफ्नै बन्धुप्रति गरिँदै आएको व्यवहार निन्दनीय छ । अन्यलाई पनि विभेद गर्ने भन्ने हुँदैन । तर हरेक घटनाको कारकतत्वको रूपमा एउटा जाति विशेषलाई लिने गरियो भने यो सम्बन्ध नजिकिनुको साटो अझ टाढिने जोखिम रहन्छ । तसर्थ यस आदर्शलाई कसैले पनि उपेक्षा गर्न मिल्दैन ।
एक जना राम्रो बुझेका, पढेलेखेका र आफूलाई खाँटी कम्युनिष्ट मान्ने कलम चलाइरहने मित्र हुनुहुन्छ । प्रायः गरेर वहाँबाट यस्ता तिता अभिव्यक्तिहरू आउने गर्छन् । वहाँ बढी नै कान्तिकारी हुनुहुन्छ । उहाँले तुरुन्तै रोटी बेटी चलाउने कुरो गर्नुहुन्छ । विवाहवारी भने कुरो व्यक्तिको इच्छा र रोजाइको विषय हो । जमाना बदलिएको छ । आजका युवायुवतीले आफूले रोजेको, आफ्नो विचार मिल्ने, मन मिल्लेसँग लगनगाँठो पार्छन् । त्यो उनीहरूको अधिकारको कुरो हो । त्यसमा कसैले पनि हस्तक्षेप गर्न पाइँदैन, गर्नुहुँदैन । जहाँसम्म मागी विवाहको प्रसङ्ग छ, सबै अहिले आफ्नै जातिभित्र गरेको देखिन्छ, गर्छन् । दलित, दलितका बीचमा पनि मागी विवाहमा फरक जातिमा भएको देखिएको छैन । यदि समाजमा जातीय विभेद हटाउने हो भने सरलबाट जटिलतिर जानुपर्छ । उदाहरणको रूपमा, बाहुन—बाहुनका बीचमा पनि जैसी र उपाध्याय, तल्लो भाते माथिल्लो भाते आदिको विभेद छ । केही अपवादलाई छोडेर त्यहाँ पनि मागी विवाह हुँदैन । बाहुन–क्षेत्रीका बीचमा पनि उही भेद छ । दलित—दलित बा बीचमा पनि यस्तो विभेद रहेको पाइन्छ । कामी—दमाई बीचमा गाइने, सार्की आदि भनिने जातिहरूका बीचमा पनि विवाहवारी चलेको देखिएको छैन । दलित–दलितका बीचमा, जनजाति—जनजाति बीचमा चलाऊँ । क्रमशः यो विभेद समाप्त हुँदै जान्छ । ‘शनैः कन्था शनै पन्था शनैः पर्वतलङ्घनम् अर्थात् फाटेको पुरानो कपडा मिलाएर लगाउनु पर्छ र पहाड चढ्दा पनि बिस्तारै चढ्नु पर्छ ! नीतिले यसो भन्छ । नत्र तातै खाऔँ, जली मरौँको परिणाम आउन सक्दछ ।
यी सबै कुरा सोची विचारी समाजमा रूपान्तरण ल्याउने प्रयत्न गरिरहनु पर्दछ । पुर्खाका दोष सन्तानमाथि नथोपरौँ । सन्तानले पनि पुर्खाका कमी—कमजोरी बोकेर नहिँडौँ । महाभारतको कर्णको प्रसङ्ग स्मरण गरौँ : ‘सूतो वा सूतपुत्रो वा यो वा को वा भवाम्यहम् । देवायत्नं कुलेजन्म मया यत्नं तु पौरुषम् अर्थात् म चाहे सूत हुँ वा सूतपुत्र हुँ, जोसुकै, जेसुकै हुँ, त्यो मेरो वशको विषय होइन । कुन कुलमा जन्मिने भन्ने कुरो प्रारब्धको हातमा छ । त्यो कुनै पनि मान्छेको वशको कुरो होइन । मैले जुन पुरुषार्थ गरेको छु, म वीर योद्धा हुँ र कुशल धनुर्धर हुँ । यो मेरो आफ्नो पुरुषार्थ हो । यो मैले आफूले आफ्नो इच्छाशक्ति र लगनले आर्जन गरेको गुण हो ।’
केही नै नगरी परिवर्तन हुँदैन र हतार गर्दा दुर्घटना पनि हुन सक्छ भन्नेमा विचार पुर्याएर व्यवहार गर्नु नै बुद्धिमानी हुने छ ।
(लेखक पूर्वीय वाङ्मयका अध्येता हुनुहुन्छ ।)
प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार ९ : ३७ बजे
प्रतिक्रिया