राष्ट्रपति भवनमा घटस्थापना

सप्तकोशी प्रभावितको उद्धारलाई तीव्रता दिन गृहमन्त्रीको निर्देशन  

काठमाडौँ । उदयपुरको बेलका नगरपालिकाका वडा नं १, २, ८ र ९ मा सप्तकोशी नदीमा पानीको बहाब बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री खाणले सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको छ ।

सप्तकोशीको पानीको बहावले अहिले करिब ५० मिटर जति जमिन कटान गरिसकेकाले नजिकै रहेका बस्तीका नागरिकलाई अन्यत्र सार्ने काम गृहमन्त्री खाणको निर्देशनमा सुरु भइसकेको उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास बोहोराले जानकारी दिनुभयो ।

गृहमन्त्री खाणले बेलकामा सप्तकोशीको कटानबारे परराष्ट्र मन्त्री डा.नारायण खड्कासँग छलफल गर्नुभएको छ । 

उहाँहरू बीच कटानबाट प्रभावित हुने बस्तीका नागरिकलाई कहाँ स्थानान्तरण गर्ने, उनीहरूलाई तत्कालका लागि वासस्थान, राहतको व्यवस्था कसरी गर्नेबारे छलफल भयो । परराष्ट्र मन्त्री डा.खड्काको गृह जिल्ला उदयपुर हो । 

गृहमन्त्री खाणले गृह सचिव टेकनारायण पाण्डे, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, प्रदेश १ का नेपाल प्रहरीका प्रमुख नायब महानिरीक्षक सुदीप गिरी, प्रदेश १ का सशस्त्र प्रहरी बलका प्रमुख नायब महानिरीक्षक कमलप्रसाद गिरी, उदयपुर प्रहरी प्रमुख उपरीक्षक बोहोरा, उदयपुर सशस्त्र प्रहरी प्रमुख उपरीक्षक कृष्ण अधिकारी र सिँचाई विभागका उदयपुर प्रमुखलगायतलाई टेलिफोन गरेर तत्काल उद्धार, राहत र तत्कालका लागि अस्थायी बासस्थानको व्यवस्था गर्न र त्यसका लागि के के आवश्यक पर्ने हो मन्त्रालयमा जानकारी गराउन निर्देशन दिनुभएको छ । 

गृहमन्त्री खाणले गृह सचिव पाण्डे र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेललाई उदयपुरमा तत्कालका लागि आवश्यक पर्ने उद्धार र राहतका सामग्री तयार गरी पठाउन निर्देशन दिनुभयो । कटानले सबैभन्दा बढी डुम्रिकोट तथा लाहुरे खोँचमा प्रभावित बनाएको छ ।  

विपद्मा परेकाहरूलाई अस्थायी वासस्थान निर्माण, उद्धार, राहत र घाइते भएको भए उपचारमा कुनै कमी हुन नदिन गृहमन्त्री खाणले मन्त्रालय मातहतका निकाय र सम्बन्धित सरोकारवाला निकाय सबैलाई निर्देशन दिनुभएको छ ।  

कटानका कारण दुई हजार चार सय घरधुरी प्रभावित हुने प्रहरीका प्रदेश ज्ञ प्रमुख डिआइजी गिरीले जानकारी दिनुभयो । अहिले जोखिममा रहेका बस्तीका नागरिकलाई नजिकका सार्वजनिक स्थान र आफन्तकोमा पठाउने काम भइरहेको उहाँले बताउनुभयो । 

नदीको कटानलाई रोकेर त्यही स्थानमा राख्न सक्ने सम्भावना नदेखिएकाले बस्ती स्थानान्तरणको विकल्प नभएको प्रहरीका उदयपुर प्रमुख एसपी बोहोराले बताउनुभयो । आफूहरूले गृहमन्त्री खाणले त्यही विषय जाहेर गरेको र त्यसपछि बस्तीमा रहेका नागरिकलाई सुरक्षित स्थानमा राख्न निर्देशन भएपछि त्यही अनुरूप आफूहरूले काम गरिरहेको बाहोराले बताउनुभयो । 

केही दिनअघि पनि सप्त कोशीमा बाढी आएपछि कटान रोक्न बनाइएका संरचना नदीले बगाइसकेको पनि उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ९ : ३९ बजे