राष्ट्रपति भवनमा घटस्थापना

सप्तकोसी नदीमा पानीको बहाव बढेपछि उच्च सतर्कता अपनाउन आग्रह,  ३२ वटा ढोका खोलियो 

सप्तरी । सप्तकोसी नदीमा पानीको बहाव बढेपछि तटबन्ध छेउका बस्तीमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन भनिएको छ । 

पानीको बहाव बढेपछि जिल्लाको  हनुमान नगर कंकालिनी नगरपालिका १४ डलवा र वडा नम्बर १३ गोबरगाढालगायत आसपासका क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन भनिएको हो।

सुरक्षाकर्मी परिचालन गरी कोसीको पश्चिमी तटबन्धको निगरानी गर्ने कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राती ११ः०० बजे गरिएको मापनअनुसार कोसी ब्यारेज भएर २ लाख १६ हजार ८५ क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाब भइरहेको त्यहाँ खटिएका सुरक्षाकर्मीले जानकारी दिएका छन्। 

अहिले कोसी ब्यारेजका ३२ वटा ढोका खोलिएको  छ।

पानीको सतह बढेपछि गोबरगाढामा रहेको विद्यालय नजिक कटान भएको छ। पानी बढेसँगै गोबरगाढाका २० घरमा पानी पसेको हनुमान नगर कंकालिनी नगरपालिकाका स्थानीयले बताएका छन्।

पानीको सतह बढ्न थालेपछि हनुमान नगर कंकालिनी नगरपालिकाको वडा नम्बर १४ डलवास्थित स्परमा कटान हुने थालेको वडा अध्यक्ष कृष्णकुमार यादवले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ७ : ३७ बजे