पर्सामा परिचयपत्र र ई–पासपोर्टको अनलाइन फाराम पालिकाबाटै

वीरगञ्ज  ।   जिल्ला प्रशासन कार्यालय, पर्साले  सेवाग्राहीको सजिलोका लागि  राष्ट्रिय परिचयपत्र र ई–पासपोर्टको अनलाइन फाराम पालिकास्तरबाट भर्न सक्ने गरी  व्यवस्थापन  गरेको छ । राष्ट्रिय परिचयपत्र, ई–पासपोर्टलाई छिटोछरितो र व्यवस्थित बनाउनको लागि दुबै अनलाईन फाराम जिल्लाका चौधवटै पालिकाबाट भर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो  । 

अव उक्त सेवा लिन सम्बन्धित पालिकाबाटै राष्ट्रिय परिचयपत्र र ई–पासपोर्टको अनलाइन फाराम  भरेर मात्र प्रशासन कार्यालय आउनुपर्ने छ । प्रशासन कार्यालयका अनुसार  सबै पालिकामा यी काम हेर्ने व्यक्ति तय गरेको र उनीहरूको सम्पर्क नम्बर सूचनामार्फत सार्वजनिक गरिएको  छ ।  जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र र ई–पासपोर्ट भर्ने सेवाग्राही ठगिएका र सो ठगीमा संलग्न छ जनालाई यस अगाबै कारबाही गरेपछि यो व्यवस्था गरेको हो ।

रु पाँचमै खाना 

पर्साको  वीरगञ्ज बजारमा“घरको खाना सबैको चाहना” भन्ने नारासहित पाँच  रुपैयांमा खाना उपलब्ध गराउन थालिएको  छ । ‘फोर जिआर’ नामक संस्थाले दैनिक गुजारा गरेर खाने समुदायलाई लक्षित गरी रु पाँच रुपैयामा खाना खुवाउने अभियानको थालनी गरेको हो । 

अहिलेका लागि सातामा एक दिन उक्त समुदायलाई लक्षित गरी अभियान थालिएको  संस्थाकी अध्यक्ष नुतुन सरावगीले बताउनुभयो । घण्टाघर छेउको पार्क अगाडि स्टल राखेर खाना उपलब्ध गराउन थालिएको छ ।  

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ३ : १३ बजे