खुर्काेटमा बेलिबृज जडान सुरु

आगामी मङ्गलवारसम्म देशको अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । आगामी मङ्गलवारसम्म देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । 

मनसुनी प्रणाली सक्रिय रहेकाले आगामी मङ्गलवारसम्म देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा मेघ गर्जन /चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् हीरा भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ । 

हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ । यी तीन दिन पूर्वमा मनसुन बढी सक्रिय हुने सम्भावना रहेको बताइएको छ ।

विभागले देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा प्रदेश नं १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त भू–भागमा भू–क्षय, पहिरो तथा गेग्र्यान बहावको जोखिम रहनुका साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/ यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ का थोरै स्थानमा र बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

रातको समयमा देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका प्रदेश नं १ र  मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  १० : ५७ बजे