मेरो स्मृतिमा बटौली: ऐतिहासिक सन्दर्भ !

​​​​​​​बटौलीका बजारैमा झिलिमिली भाँडा,
तेरी स्वास्नी कति राम्री मेरी स्वास्नी गाँडा ।’

यो हो बटौली हुँदै हाट खेप्ने ढाक्रेहरूले गाउने गीत । यो गीत मैले आफू सानो छँदा सुनेको हुँ । नेपालकै प्रसिद्ध हाटहरूमध्ये एउटा रहेछ ढाक्रे, हटारु, बटुवा बटुलिने बटुली हाट, बटौली । 

‘सिँजा हाट, दुल्लु विराट’ भन्ने लोकोक्तिले पश्चिमोत्तरको पहाडी हाट सिँजा थियो भन्ने बुझाउँछ जो उत्तर–दक्षिण रेशम मार्गमा पथ्र्याे– तिब्बतदेखि समुद्र जोड्ने । बटौली हाटदेखि पहाड उक्लने र काली गण्डकीको किनारै किनार माथि जाने गर्दा ‘टुकुजा हाट’ पुगिन्थ्यो । समुद्री नुन आउनुभन्दा पहिले टुकुजामा भोटे नुनको बर्खे हाट लाग्थ्यो । त्यहाँ तराईका अन्न, दाल र समुद्री वस्तुले भोटे नुन, ल्हासाको सुन, पस्मिना, निलोतुथो, जिम्मु, भोटे च्यापत्ती, कस्तुरी, चवँर, काम्ला, रेशम आदि साटिन्थ्यो, वस्तु–विनिमय हुन्थ्यो । हटारु ढाक्रेले भोटबाट ल्याएका ती वस्तु र पहाडका सुन्तला, घिउ, गाँजा, भाँगो, शिलाजित, फापर, भट्ट, सावरको छाला आदि लिएर बटौलीमा झरी शङ्ख, सिपी, रुद्राक्ष माला, गडी, खाँड, भेली, कोरा, गुन्यु, सुर्ती, तमाखु आदि साटेर पहाड उक्लने गर्थे । यो पंक्तिकार सर्वप्रथम अर्घाखाँचीदेखि २०२३ सालको साउनमा बटुलीहाट झरेको थियो घनश्याम आचार्य (सान्ने–काउले) र गोपाल मरासिनी (अत्रकाँडा) हरूको पछि लागेर र साथमा चुरामणि खत्री (साना चेक्मीका वेदाहा) थिए । बेलहिया–पोखरा राजमार्ग बन्दैथियो । चिडियाखोलो बढेर चुरामणि खत्री झण्डै तिनाउमा नपरेका, गोपाल मरासिनी र घनश्याम आचार्यले डोराएर वारि तानेर पो । उहाँ हामीसँग गोरखपुरसम्म सँगै जानु भयो र शिलाङ जान छुट्टिनुभयो । 

साउन महिनामा पहिलोपटक बुटवलमा म गर्मीले आत्तिएको थिएँ । बरु सम्मै सम्म थलो देखेर छक्क पनि परेको थिएँ । खस्यौलीतिर छाप्रे भट्टीपसलहरू थिए । सडक यहाँदेखि सीमासम्म कालोपत्रे गरेको थियो भर्खर । लुम्बिनी अञ्चल अस्पतालको प्रारम्भ भएको थियो ।

भोटे नुनको सट्टा ढिके नुन
अङ्ग्रेजहरूले भारतमा इस्ट इन्डिया कम्पनी सरकारको स्थापना गरेपछि व्यापक रूपमा रेलमार्ग बनाए र उद्योग, कारखाना तथा व्यापार फैलाए । फलस्वरूप समुद्रको ढिके नुन सस्तो भाउमा नेपालका दक्षिणी सीमाहरूमा आउन थाल्यो । बनियाँहरूले घोडा, खच्चड, लडिया आदिमा बोकाएर नेपालको कछारका हाटबजारहरूमा डुलाउन थाले । 

यस कारण भोटे नुन विस्थापित भयो । तराई र भित्री मधेस त के पहाडसम्म समुद्री ढिके नुन ओसार्न थाले ढाक्रेहरूले । जाँगरिला र बलिया ढाक्रेका घरमा नुनको भण्डार भरियो र त्यसले चाहिएको अन्न, धातु र अन्य वस्तु साट्ने गरियो । यसरी नुन महत्वपूर्ण साधन मानियो, गनियो । नुनलाई महत्वपूर्ण खाद्यसामग्री मानेरै मृत्युसूतकमा नुन बार्ने चलन चल्यो जो कालान्तरमा एउटा प्रथा बन्न पुग्यो ।

गाँडाको सङ्ख्यामा कमी 
यस्तो महत्वपूर्ण नुन समुद्रको आउन थालेपछि माथिको गीतले भनेको गाँडा (गलगण्ड) भएका मान्छेहरूको संख्या घट्न थाल्यो, कारण समुद्री नुनमा आयोडिन पाइने र कण्ठ रोग नियन्त्रण हुने गर्छ । पहाडमा गाँडाहरू घटे पनि हिमाली क्षेत्रमा गाँडाहरू रहिरहे, कारण त्यहाँ सिमान्त छेत्रमा भोटे नुनकै प्रचलन रह्यो । खच्चड, च्याङ्ग्रा, खावा अथवा भेडाले लुक्काल अथवा थैलामा हिमालपारिदेखि भोटे नुन ल्याउने र यता साटेर खाद्यान्न लाने गर्दै रहे । यसमा हाल भएको यातायातको सुविधाले हिमाली क्षेत्रका बस्तीहरूमा पनि समुन्द्रको माल उपलब्ध हुन थालेको छ ।

रेल मार्गको प्रभाव 
भारतभरि रेलमार्ग ओछ्याएर समुद्री पहुँच सुगम भएपछि भोटे नुन विस्थापित भएर समुद्री ढिके नुन मात्र होइन, फलाम र तामा पनि सस्तो भाउमा आउन थाल्यो । यता चन्द्र शमशेरले तामा र फलाम खानिहरूमा अत्यधिक कर (३५% प्रतिशतसम्म लगाइदिए खनेलकर्मीहरुले वन मासे भन्ने निहुँमा । फलस्वरूप पहाडभरि प्रशस्त मात्रामा चालू रहेका खानिहरू बन्द हुन थाले । धाउ खार्ने भट्टा आफ्राहरू छाडिन थाले । 

लाहोर भर्तीकेन्द्र 
खनेलकर्मीहरु र आफ्रेका र तन्नेरी छोराहरुका लागि आफ्नो भारतीय उपनिवेश रहेको सबैभन्दा ठूलो सैन्यअड्डा रहेको सहर लाहोर भर्तीकेन्द्र खोल्यो अंग्रेजी कम्पनी सरकारले र लाहुरे संस्कृतिको विकासमा हुन थाल्यो । पछि गोरखपुरको कुँडाघाट लगायतका अन्य ठाउँमा पनि भर्तीकेन्द्रहरू विस्तार गरिए । सुगौली सन्धिपछि त नेपालभित्रै र भारतमा अङ्ग्रेज सरकार हटेपछि पनि अङ्ग्रेजी र भारतीय शासकले नेपाली जवानहरू भर्ती गर्ने विभिन्न केन्द्र र चालू राखे र अहिलेसम्म रहेका छन् । 

डालाभरि पिप्ला
‘बटौलीका बजारैमा डालाभरि पिप्ला,  
चर्बक–चर्बक नगर केटा छेरौटीले टिप्ला ।’

प्रस्तुत लोकगीतले एकातिर काँसो, दम आदिको जडिबुटीको रूपमा पिप्ला प्रयोग हुन्थ्यो भन्ने कुरा र ढाक्रे–हटारुहरूको भिडभाड हुने बटौलीमा गुगेखोलाको खुल्ला दिसा पिसाबले अति दुर्गन्धित बनाएको र छेरौटी मात्र होइन, हैजा नै महामारीको रूपमा फैलिएर हटारु ढाक्रेको सत्यानाश पार्ने गरेको स्थितिलाई संकेत गर्छ । हैजा फैलिएको बेलामा हाट भर्ने काम केही समयका लागि बन्द पनि हुने गर्दथ्यो । १९९० सालको भुइँचालो, २००० सालको हैजा नेपालका धेरै मान्छे खाने घटना भएका सम्वत्सर हुन् । 

बेलवास
हैजाको डर, दिसापिसाब जाने ठाउँको अभाव, वास बस्न समस्या आदि कारणले बटौलीदेखि पश्चिमोत्तर भेगबाट आएका ढाक्रे–हटारु ढाकर बोकेर साँझ वेलवास रूखमुनि बस्ने गरेको प्रसङ्गले नै यो ठाउँ त्यसै बेलादेखि बेलवासे कहलिएको बुझिन्छ । नेटो परेकोले हावा चल्ने, दाउरा पाइने र मुन्तिर पानीको कुलो पनि भएकाले सुविधा थियो । 

नुवाकोटको बाटो
उत्तरतिर जाने ढाक्रे भने तिनाउ किनारको बाटो अनकन्टार भएकाले हालको फुलबारीको सिरानमा वा माथि नुवाकोट निस्केर वास बसी, दोभान झरी सिस्ने खोलै खोला मस्यामको उकालो चढेर अर्घाखाँची, गुल्मी, बाग्लुङ, म्याग्दीतिर जान्थे । पूर्वतिर जाने ढाक्रे भने चकल्दी खोलाबाट छुट्टिएर मदनपोखरा मुनिको औलहुँदै माडीको बाटो लाग्थे स्याङ्जा, तनहुँ, कास्की, पर्वततिर जान ।

पुसेलुँडो
हैजा नफैलिएको बेलामा ढाक्रेहटारु मात्र हैन परदेश जाने बटुवा र फर्कने लाहुरेको समेत निकै घुइँचो हुन्थ्यो । त्यसै हुनाले खासगरी पुस महिनाको त्यो हुललाई सङ्केत गरेर पुसेलुँडो भनिन्थ्यो । आउजाउ गर्ने मान्छेले गर्दा साँघुरा ढुङ्गेनी बाटाहरूमा कोही सुइँकेर हिँड्न उछिन्न सक्दैनथ्यो । त्यस्तै अवस्थामा कुनै ठूलाठालु मान्छेहरू घोडा चढेर हिडेका भए भारी बोक्नेहरूले शाखापाखा लागेर बाटो छाडिदिनु पथ्र्यो नत्र तिनको कोपभाजनमा पर्न सक्थे । 

हुलाकी झारा
झारा टण्टाको रूपमा हुलाकी थैलो पनि खेपिदिनुपथ्र्याे ढाक्रेहरूले । आफ्नो भारी बिसाएर साथीहरूलाई हेर्न लगाई एक बिसाउना बोकिदिनुपथ्र्यो । आनाकानी गरे दण्ड सजायको भागी बन्नु पथ्र्यो । नुवाकोट किल्लामुनि ढाक्रे जग्गातो उठाउने चौकी रहन्थ्यो, जो अहिले पनि छ । त्यहाँ ढाक्रेबाट कर उठाउने गरिन्थ्यो ।

ढाक्रेखान्की
ढाक्रेहरूको खान्की दयनीय हुन्थ्यो । मकैको आटो, कोदाको ढिँडो, सुकासाग, मुलाको भुजुरी, कबेलीका चाना, तितौरा, भुटेका मकै, भट्ट, सातु, चौँठीको चोखेन आदि । धान चामल हुनेहरूले यसो मुख फेर्न चामलको सामल पनि हाल्ने गर्थे । घर पुग्ने अघिल्लो साँझ घ्युभातको खाजा खाने मेसो पार्थे । घरबाट हिँड्दाको दिउँसो खाने ढकने, रोटा, दँद्यौरा, कुराउनी आदि हुन्थे । हाटबाट फर्किंदा खाँड, मिस्री, भेली आदि किनेर मुख मिठ्याउने र सितन बनाउने पनि गरिन्थ्यो । 

मट्टितेलको प्रभाव
‘मट्टितेल टिनको टिन’ आउन थालेपछि किनेर पहाडतिर पनि पुराई टुकी, ढेब्री, पानस, लालटेन आदिमा बाल्ने गर्न थालियो । यस प्रचलनले तामाका या माटाका पालामा तेलको बत्ती, ठड्यौरामा खोटो वा दियालो, राँको आदि बालेर उज्यालो बनाउने परम्परा, प्रचलनलाई विस्तारै विस्थापित गर्दै लग्यो । 

घैँटा–गाग्रीको घिउ टिनमा
मट्टितेलका रित्ता टिनमा घ्यू भरेर हिडाल्न थालिएपछि घैँटा, मटुला वा गाग्रीमा हिँडाल्ने प्रचलनलाई हटाइदियो । नत्र त हाम्रा बुढा बाहरू तीन भाइले घ्यू घैँटामा बोकी अर्घातोसदेखि तानसेनमा ल्याउनु भएको, नबिकेर माडीतिर झार्नु भएको, त्यहाँ दुई वटा बिक्री भए पनि एक घैँटो बाँकी रहेकाले त्यो खाँदै घर फर्कँदा घ्यू छेर्नु परेको थियो रे । बटौलीमा घ्यू नबिकेको अवस्थाको त्यो घटना अचम्मैको थियो । 

बुटवल घी
यस घटनाले बटौलीहाटमा घिउको कारोबार भारतमा रेलमार्ग ओछ्याएर ठूला सहरमा पु¥याउन थालेपछि हुनथालेको कुरा बुझाउँछ । २०२४ सालमा म बनारसमा बस्दा ‘बुटवल घी’ लेखेको पसल चालू थियो ठठेरी बजारमा र सोखिन भारतीयहरुले त्यो घ्यू खानमा गर्व गर्थे । लाहुरेहरूले पैसा पठाइदिएका बेलामा ललितकुमार चूडामणि आचार्यले एकपल्ट त्यहीँबाट घिउ ल्याई चखाएका थिए । 

भरथरी सिद्ध 
पहाडदेखि घिउ लिएर बटौली झर्दा, तिनाउ खोलो सुकेको बेला फागुन चैतमा दोभानबाट तल्लो बाटो तिनाउको किनारै किनार झरिन्थ्यो रे । कहीँ बन्कसी त कहीँ लहरा पहरा समाएर अनि डिलमा राखिएका फड्के तरेर— बाले भन्नु भएको । अहिलेको सिद्धबाबाभन्दा उत्तरतिरको समथर, माथिको पहरामा सिद्ध बस्थे रे । उनको थाप्लोमा ठूलो चोट थियो रे । उनले ओडारभित्रबाट लामो हात थाप्थे रे । ढाक्रेले घिउको डल्लो हातमा राखिदिएपछि आसिक दिने, खाने र थाप्लोमा घस्ने गर्थे रे, यो भयो किम्वदन्ती । यसैको आधारमा व्याख्या गरी सिद्धलाई उज्जैनका राजा हुन्, जो बैरागिएर उत्तर आई यहाँ बसेर त्रिशतक रचना गरे भनिन्छ । सय सय श्लोकका त्रिशतकहरूमा नीति शतक, वैराग्य शतक र शृङ्गार शतक प्राचीन विश्वप्रसिद्ध साहित्यको कोटीमा गनिन्छन् ।

 उत्तर–दक्षिण मार्ग 
चिनियाँहरूले विश्व व्यापार गर्ने परम्परागत प्रमुख महामार्ग रेशम मार्ग थियो । यसका शाखा मार्गहरू नेपालमा बुडान–सुर्खेत–हाटसिँजा–ताक्लाकोट, बुटवल–बागलुङ–टुकुजा–कोराला, हेटौँडा–कान्तिपुर–रसुवागढी–केरुङ र विराटनगर–धनकुटा–किमाथान्का–ल्हासा मार्ग । यी मार्गहरूबाट समुद्र सम्मको उत्पादन नेपाल हुँदै भोटसम्म र भोटको उत्पादन नेपाल भएरै समुद्रसम्म पुग्थ्यो । तराईबाट पहाड छिर्ने नाकामा, तिनाउ किनारमा बसेको हुनाले बटौली ठूलो हाट थियो जो वर्षामा सुनसान र हिउँदमा भरिभराउ हुन्थ्यो ।

औद्योगिक नगरी बटौली
मध्यकालदेखि नै बटौलीमा थुप्रै उद्योग र कारखानाहरू स्थापित र सञ्चालित थिए । खाँडसारी उद्योग, कोरामा छिपाले छाप गुन्यु, लहरे आदि बनाउने उद्योग, घिउ प्रशोधन कारखाना, टक या मुद्रा छाप्ने टक्सारी उद्योग, तमाखु उद्योग, डल्ले साबुनको उद्योग, बाकस उद्योग, डोरी–टिकी–चुरा—पोते–ऐना आदि शृङ्गार सामग्री उद्योग, फलामे उद्योग कारखाना चालू भए । राजमार्गहरू बनेपछि बुटवलमा औद्योगिक क्षेत्र स्थापना भयो । आधुनिक उद्योग कारखानाहरू क्रमशः बन्दै गए ।

सिद्धार्थ राजमार्ग र पूर्व–पश्चिम राजमार्गको सङ्गम 
वि.२०२२ सालदेखि २०२६ सालसम्म उत्तर–दक्षिण सिद्धार्थ राजमार्ग र त्यसपछि लगत्तै पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ खण्ड बने । यसपछि त बटौलीको चहलपहल एकदम बढ्यो । तिनाउदेखि पश्चिम किनारको टारमा बसेको बटौली हाट तिनाउपूर्व फैलिन थाल्यो । खस्यौलीमा राजमार्ग बनेपछि खुलेका भट्टीपसलहरू क्रमशः सटरवाला भवनहरूमा परिणत भए । 

नेवार, बनियाँ र मारवाडीहरूको पकडमा रहेको परम्परागत उद्योग व्यवसायमा मगर, गुरुङ, सुनार, बाहुन, क्षेत्री आदिको सम्पर्क समेत पुग्यो । 

भैरहवाको व्यापारिक चहलपहल बुटवलमा 
खस्यौलीमा पुरानो बटौलीका साहुमहाजनहरू, तानसेन र अन्य नेवार हटियाका नेवारहरू, थकाली, मगर लगायत अन्य जातिहरू आएर व्यापारमा लागे । सिद्धार्थ राजमार्गले ह्वात्तै उकासेको तानसेनको चहलपहल रिडीतिर सडकको पहुँच नहुँदासम्म बढ्दै रह्यो । तर जब सडक रिडी पुग्यो, केही वर्ष तानसेनको चहलपहल रिडीमा सरयो । तमघासमा सडक पुगेपछि रिडी सुक्यो । तानसेन स्थानीय बजारमा सीमित भएपछि बेपारीहरू बुटवल ओर्लिए । चिनियाँ र जापानी सामानले भरिएको भैरहवाको बजारमा भारतीयहरू आउँदै गरे पनि पहाडिया व्यापारीहरू क्रमशः बुटवल खस्यौलीबाट कारोबार गर्न थाले । 

उता भारतमा नक्कली चिनियाँ, जापानी सामानहरूको उत्पादनले त्यहाँका उपभोक्ताहरूलाई उतै अल्मल्याउन थाल्यो । भैरहवातिर किन्न आउने भारतीयहरूको सङ्ख्या घट्दै गयो । नेशनल ट्रेडिङ्ग लिमिटेडको झण्डै एकाधिकार जस्तो कारोबारलाई व्यापारीहरूले चुनौती दिएर आफ्नो हात पार्न थाले र क्रमशः त्यसलाई निस्तेज पारे । चिनियाँ सामान आयातमा वृद्धि भइरहे पनि जापानको घट्दै गयो र कोरियाली सामानको आयात विस्तार हुन थाल्यो । पश्चिमतिरका व्यापारीहरूलाई भैरहवा जान उल्टो जस्तो पनि भएकोले उनीहरूले बुटवललाई प्राथमिकता दिन थाले । त्यसपछि क्रमशः भैरहवाको चहलपहल बुटवलमा सर्यो । बुटवलमा थोक बेपार हुनथाल्यो । यो स्थिति अद्यापि छँदै छ । 

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ९ : ०४ बजे