संवैधानिक निकायका पदाधिकारी र न्याय परिषद्को सुनुवाइ एकै पटक गर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले संवैधानिक निकायका पदाधिकारीको नियुक्ति र न्याय परिषद् सदस्यसम्बन्धी मुद्दामा परेका रिट निवेदनमा एकै पटक सुनुवाइ गर्न आदेश गरेको छ । 

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश द्वय हरिकृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र आनन्द मोहन भट्टराई सहभागी संवैधानिक इजलासले संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति र न्याय परिषद् सदस्यको विवादित नियुक्ति सम्बन्धी अध्यादेशको विषयमा लिएर परेका सबै रिट निवेदनमा एकै पटक सुनुवाइ गर्न आदेश दिएको छ । 

आदेशमा प्रक्रियागत काम कारबाही सम्पन्न नभएको वा अधुरो रहन पुगेको कारणबाट सुनुवाइ प्रक्रियामा बाधा आई नपर्ने कुराको पनि पूर्ण सुनिश्चित गर्न भनिएको छ । 

आदेशमा, “यस इजलासको मिति २०७८/१२/९ मा भएको आदेशलगायत सबै अन्य पूर्व आदेश बमोजिमका निर्णय फाइल, कागजात आदि झिकाइ मिसिल सामेल राख्नेलगायत अन्य कुनै काम कारबाही वा प्रक्रिया सम्पन्न गर्ने कार्य भएको छ वा छैन ? यस अदालतका रिट तथा मुद्दा महाशाखाका प्रमुख स्वयंले यकिन आदेश बमोजिमका सम्पन्न हुन बाँकी कुनै कार्य भए सबै कार्य तदारुकता र उत्तरदायित्वपूर्ण तवरबाट सम्पन्न गर्नु, गराउनु”, भनिएको छ । 

यसैगरी, आदेशमा संवैधानिक नियुक्ति सम्बन्धी विषयमा सम्पन्न गर्नुपर्ने कुनै काम कारबाहीमा कुनै प्रकारको द्विविधा वा अलमल भएमा तत्काल संवैधानिक इजलासमा पेस गर्न पनि भनिएको छ । 

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ८ : ३८ बजे