‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कवि कृष्णप्रसाद कोइरालाको व्यक्तित्व र खण्डकाव्यीय मानकका दृष्टिले भूकम्प खण्डकाव्य

​​​​​​​‘तत्काल भूकम्प विनाश गर्छ, भविष्यको निम्ति चिराग बन्छ ।
नवीन ऊर्जा र मिलाप बढ्छ, आलस्य ईर्ष्यामय भाव सड्छ ।’

यी पङ्क्ति कवि कृष्णप्रसाद कोइरालाको भूकम्प खण्डकाव्यबाट लिइएको हो । कवि कृष्णप्रसाद कोइराला नेपालीय साहित्य फाँटमा उदाएको गर्विलो नाम हो । उहाँले सम्पूर्णानन्द विश्व विश्वविद्यालय वाराणसीबाट साहित्यमा आचार्य सम्मको अध्ययन पूरा गर्नुभएको छ । नेपालमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट बि एड गर्नुभएको छ । सनातन आदर्शले ओतप्रोत अनि मानवतावादी चिन्तन र तदनुसारको व्यवहार भएका उहाँ एक कुशल पथप्रदर्शक सात्त्विक पात्रको रूपमा सुपरिचित हुनुहुन्छ । उहाँ संस्कृत भाषाका प्रकाण्ड विद्वान हुनुहुन्छ । उहाँले २०२५ सालदेखि शिक्षण पेसामा प्रवेश गरी २६ वर्षको प्राध्यापनबाट २०५१ सालमा स्वैच्छिक अवकाश लिनुभएको हो । अवकाश पछिका सुखद दिनहरू उहाँले साहित्य सिर्जनामा लगाउँदै आउनुभएको छ । उहाँले नेपाल आमाप्रतिको ऋण तिरेर सार्थक जीवन बनाउनुभएको मान्न सकिन्छ । 

कृष्णप्रसाद कोइरालाका पिताको नाम यादवनाथ कोइराला हो । यादवनाथ कोइराला पनि संस्कृत वाङ्मयका विद्वान र साहित्यकार हुनुहुन्थ्यो । उहाँले तीन वटा कृतिहरू प्रकाशन गर्नुभएको थियो । उहाँको प्रतिमूर्ति (सालिक) साहित्य तीर्थ कपिलधाम कपिलवस्तुमा राखिएको छ । कृष्णप्रसादको आमा चन्द्रिका कोइराला हुनुहुन्थ्यो । कृष्णप्रसाद कोइरालाले ७९ वर्षको उमेरसम्म आमाको वात्सल्य पाउनुभयो । उहाँको जन्म पोखराथोक,म पाल्पामा भएको भए पनि हाल उहाँ बुटवल—११ होराइजन चोकमा बस्दै आउनुभएको छ । 

साहित्यकार कृष्णप्रसाद कोइरालाको पहिलो कृति हिन्दु चिन्तन (२०४३)  हो । उनी यहीँबाटै नेपालीय साहित्यमा उदाएका थिए । उनले २० वर्षपछि वीचिमाला कविता सङ्ग्रह (३०६३) प्रकाशन गरेका थिए । त्यसपछि भने उनी साहित्यिक अभियानमै दरिए । उनले पाल्पामा पोखराथोक साहित्य सङ्गमको संस्थापक भएर काम गरेका थिए । उनको अर्को कृति सुस्केरा शतक मुक्तक काव्य (२०६७) प्रकाशित भयो । त्यसपछि जिन्दगीका मोडहरू (सामाजिक उपन्यास) प्रकाशित भयो । अहिले २०७९ सालमा आएर भूकम्प खण्डकाव्य प्रकाशित भएको छ । यसरी उनले कविता, मुक्तक, उपन्यास र खण्डकाव्य विधामा कलम चलाएका छन् । उनका कृतिहरू साहित्यिक सौन्दर्यका दृष्टिले उच्च रहेका छन् । उनले अन्य फुटकर कृतिहरूमा पाल्पावृतम्, तामाङ जातीय संस्कृति, स्वर्गद्वारी महाप्रभु चरितम् प्रकाशित गरेको देखिन्छ । उनको पछिल्लो कृति भूकम्प खण्डकाव्य हो ।  उहाँले यस कृति रचनाका सिलसिलामा खण्डकव्यीय मानकको राम्रो परिपालना गर्नुभएको छ । 

खण्डकाव्यको व्यवस्थित मानक हुन्छ । कविताको लघु रूप भन्दा ठुलो र बृहद रूपभन्दा सानो रचनालाई खण्डकाव्य भनिन्छ । यो फुटकर कविता भन्दा ठुलो र महाकाव्य भन्दा सानो हुन्छ । यसको मानक चौथौँ शताब्दीमा तयार भएको हो । तथापि खण्डकाव्यको विषयमा छैंटौं शताब्दीदेखि नै भामह, दण्डी, वामन, मम्मट, आनन्दवर्धन आदिले चर्चा गरेको देखिन्छ । यसको स्पष्ट परिभाषा दिने आचार्य विश्वनाथ हुन् । उनले खण्डकाव्यको परिभाषा दिँदै भनेका छन् —खण्डकाव्यं भवेत् काव्यस्यैकदेशानुसारि च । पछिल्ला पूर्वीय विद्वानहरूले पनि यसै परिभाषाको सेरोफेरोमा रहेर परिभाषित गरेका छन् । 

खण्डकाव्य कत्रो हुनपर्छ भन्ने विषयमा २५० श्लोकभन्दा माथि हुनुपर्छ भन्ने मान्यता रहेको छ । तथापि, यो शास्त्रीय मान्यताचाहिँ हैन । माधव घिमिरेको राजेश्वरी १०० श्लोमा रचिएको छ । खण्डकाव्य आठ सर्गभन्दा माथि हुनु हुँदैन । त्यसरी नै पाँच सयभन्दा ज्यादा श्लोक हुनु हुँदैन भन्ने मान्यता स्थापित भएको छ । कवि कृष्णप्रसाद कोइरालाको भूकम्प  खण्डकाव्यमा ३ सर्ग र १६१ श्लोकहरू रहेका छन् । खण्डकाव्यीय मानकका दृष्टिले यो खण्डकाव्य उपयुक्त छ । 

कुनै पनि वस्तु आफैमा यौगिक हो । अलग अलग तत्त्वहरूको योगबाट वस्तु बन्छ । संसारमा हामीले देख्ने सबै वस्तुहरू यौगिक नै हुन् । खण्डकाव्य पनि अलग अलग तत्त्वहरूको योगबाटै बन्छ । खण्डकाव्यमा आउने पहिलो र महत्त्वपूर्ण तत्त्व विषयवस्तु हो । त्यस विषय वस्तुमा घटना वा आख्यान प्रयोग हुन्छ । कविले अनुभूतिलाई आख्यानीकरण गरेर विषयवस्तुलाई लम्ब्याउँछन् । त्यसमा विभिन्न पात्रहरू देखा पर्छन् । परिवेश हुन्छ । कृतिको उद्देश्य हुन्छ । लय विधान हुन्छ । भाव विधान हुन्छ । भाषा शैली हुन्छ । बिम्ब, प्रतीक र अलङ्कारको प्रयोग हुन्छ । यिनै तत्त्वहरू मिलेर खण्डकाव्य बन्छ । खण्डकाव्य महाकाव्य उस्तै उस्तै रहे पनि खण्डकाव्य बढाएर महाकाव्य र महाकाव्य घटाएर खण्डकाव्य बन्दैन । यी दुवै अलग अलग उपविधा हुन् । 

कवि कृष्णप्रसाद कोइरालाले भूकम्प खण्डकाव्यमा २०७२ साल वैशाख १२ गते गएको घटनालाई विषयवस्तु बनाउनुभएको छ । यसमा आख्यानभन्दा पनि घटनाको वर्णन छ । आरम्भदेखि अन्त्यसम्मको घटनालाई जोरजार पारे पनि आख्यान तन्तु छैन भन्दा हुन्छ । यसमा पीडित जनताहरू, सरकारी कर्मचारीहरू, प्रहरीहरू, अन्तर्राष्ट्रिय सहयोगी मनहरू, विभिन्न सहयोगी सङ्घसंस्थाहरूका व्यक्तिहरू पात्र बनेर आएका छन् । यस खण्डकाव्यको परिवेश भूकम्पको प्रभाव क्षेत्र चौध जिल्लामा फैलिएको छ । पैह्रो गएको अवस्था, सरकारी तथा निजी विद्यालयहरू, मन्दिरहरू, पुरातात्त्विक महत्त्वका भवनहरूको भग्नावशेष, पुरिएका मानिसहरू मरेका लासहरू र घाइते भएका नागरिकहरूको कारुणिक आर्तनाद परिवेशमा देखाइएको छ । यस खण्डकाव्यको उद्देश्य भूकम्पको दुष्प्रभाव, त्यसबाट हुने मानवीय क्षति र त्यसको सन्देश हो । 

यस खण्डकाव्यमास्रग्धरा, इन्द्रवज्रा, उपजाति, शिखरिणी, मालिनी, वियोगिनी छन्दहरू प्रयोग भएको छ । यी प्रयोगबाट लय सिर्जना गरिएको छ । मानवता, करुणा, दया, माया, सद्भाव, सहयोगको आधारमा विपुल भाव राशि प्रकट भएको छ । भावनामा ध्वन्यात्मक शक्ति, व्यञ्जना सामर्थ्य  र लक्षित सन्देश भएको कारण कृति सफल छ । भाषा सरल र सरस छ । शैली वर्णनात्मक छ । 

कृष्णप्रसाद कोइरालाको कृति भूकम्प खण्डकाव्यमा प्राध्यापक गोपीकृष्ण शर्माले अत्यन्तै मर्मस्पर्शी भूमिका लेख्नु भएको छ । यस भूमिकाले खण्डकाव्यको समष्टि चित्र उघारेको छ । अत्यन्त बौद्धिक खालको यो भूमिकाले खण्डकाव्यको महिमा बढाएको छ । प्राध्यापक गोपीकृष्ण शर्मा लेख्नुहुन्छ, ‘भूकम्प खण्डकाव्यमा आएका सन्तुलित पद्यहरू शास्त्रीय छन्दमा, बद्धलयमा रचिएका छन् र यिनले श्रुतिमधुर लयात्मक सौन्दर्य प्रदान गरेका छन् । यस खण्डकाव्यमा स्रग्धरा, इन्द्रवज्रा, उपजाति, शिखरिणी, मालिनी, वियोगिनी प्रभृति शास्त्रीय छन्दहरूको प्रयोग भएको छ । भावनालाई मूर्त रूप दिन तदनुसार शब्दहरू यथास्थानमा सजाइएका छन् र शब्दले मस्तिष्कलाई भावले हृदयलाई झङ्कृत तुल्याउँछन् । निकै समयदेखि छन्द कवितामा खेल्ने गरेका कवि कृष्णप्रसाद कोइरालाको काव्य रचना कौशल यहाँ आएर विशेष सिद्धि प्राप्त गरेको देखिन्छ र यो काव्य कला चातुरीको उदाहरण पनि हो । काव्यिक उत्कर्षता हो ।’

त्यसरी नै अर्का छन्द जागरण कवि हिरण्य ज्ञवाली काव्यात्मक भूमिकामा कविको कव्य अजरामर छ भन्दै लेख्नुहुन्छ—

यात्रा शिखरको लामो गर्छिन् शिखरिणी यहीँ 
आफन्त पुरिँदाखेरी रुन्छिन् एक्लै वियोगिनी
धरामा स्रग्धारा ढल्छिन् धरा बन्छ चिराचिरा 
अनेक छन्दको काव्य बन्नेछ अजरामर । 

वास्तवमा २०७२ सालको भूकम्पले ठुलो क्षति गर्‍यो । यसले हामीलाई एकातिर भग्नमनोरथ दिएर गयो भने अर्कोतिर सुरक्षाका लागि ठुलो सन्देश दिएर गयो । वास्तवमा मानवीय मनमा गडेर रहेको यो घटनाले हामीलाई हाम्रो सभ्यताको जगलाई बलियो बनाउन सिकाएको छ । अहिले सहरहरूमा घर निर्माणका मापदण्डहरू बलियो बनाइएका छन् । भूकम्पको त्रासदीबाट हामीले यो शिक्षा प्राप्त गरेका छौँ । 

कविले यस कृतिमा केही दुच्छर तथा कलुषित मनोवृत्ति भएकाहरूको दूषित प्रवृत्तिलाई औँल्याए पनि कृतिको शिष्ट परम्परालाई जोगाउन सफल हुनुहुन्छ । असभ्य गाली गलौचबाट जोगिएका छन् । अहिलेका कविताहरूमा गालीको अंश बढ्दै छ । नेताहरूलाई गाली नगरी कविता बन्न छोडेको छ । नेताहरू आलोचनाको तारो बन्दैछन् । तर कवि कृष्णप्रसाद सौम्य र शालीन रूपमा प्रवाहित भएका छन् । आवेगको पोखाइभन्दा पनि घटनाको सम्यक र सन्तुलित वर्णनले उहाँलाई निर्वैयक्तिक बनाएको छ । सफल कविहरू आवेगरहित हुन्छन् । यस्ता कविहरू नै कालजयी हुन्छन् । 

यो खण्डकाव्य सार्वजनीन र सार्वकालिक बनेको छ । मानवतावादको प्रभाव छ । अलङ्कार बिम्बहरूको यथोचित प्रयोगले काव्य प्रभावकारी भएको छ । आवरण पृष्ठमा भूकम्पको प्रभाव देखाइएको छ । त्यसरी नै मानवीय सहयोग र नवनिर्माणको सन्देश पनि छ । करुण, बीभत्स, शान्त रस प्रवाहित भएको छ । कविता व्यञ्जना स्तरमा उठेको छ । नेपालीय साहित्यमा भूकम्प विषयमा यति गहकिलो साहित्यिक कृति सायद अरू नहोला । यस्तो गौरव उमार्ने, जनताप्रति जिम्मेवारी बोध गराउने, देशभक्तिपूर्ण भाव उमार्ने कृतिका स्रष्टा कृष्णप्रसाद कोइरालाप्रति उहाँलाई चिन्ने सबैमा आदर भाव उत्पन्न हुन्छ । 

तत्काल भूकम्प विनाश गर्छ, भविष्यको निम्ति चिराग बन्छ ।
नवीन ऊर्जा र मिलाप बढ्छ, आलस्य ईर्ष्यामय भाव सड्छ । 

कृष्णप्रसाद कोइरालामा मानवतावादी चिन्तन छ । त्यो मानवतावादी चिन्तन परिवर्तिन समाज अनुकूल देखिन्छ । उहाँ मूलतः चिन्तन र व्यवहारमा लोकतान्त्रिक संस्कार देखाउनुहुन्छ । उनी गतिशील पात्रको रूपमा देखिएका छन् । उनमा सर्वधर्म समभाव छ । लोकतान्त्रिक प्रवृत्ति भनेको सबैको अस्तित्व स्वीकार गर्नु, सबैलाई समान रूपमा व्यवहार गर्नु, स्वतन्त्रताको प्रत्याभूत गराउनु र सबैलाई जोड्न सहिष्णुताको भावना जगाउनु हो । पण्डिताः समदर्शिनः अर्थात् विद्वानहरू समदर्शी हुन्छन् । यो नै उहाँको आदर्श हो । त्यसरी नै सबै वर्ग र समुदायलाई पहिचान दिनु, सम्मान गर्नु र मर्यादा दिनु लोकतान्त्रिक आदर्श हो । उहाँ यस विषयमा पूर्ण सजग देखिनुहुन्छ । उहाँले छुवाछुत र विभेद कहिल्यै गर्नुभएन । यसैबाट उहाँलाई सभ्य र असल पात्रको रूपमा चिन्ने गरिन्छ । यसले पनि उहाँको जीवन शुद्ध र परिष्कृत छ । 

उहाँले तामाङ जातिको खोजमूलक अध्ययन गरेर फुटकर कृति प्रकाशित गराउनुभएको छ । उहाँका दृष्टिमा सबै नेपाली जाति र भाषा, कला, साहित्यहरू समान हुन् । उनीहरूलाई तलमाथिको रूपमा हेरिनु हुँदैन भन्नुहुन्छ । उहाँ हिन्दु धर्मभित्रका विभेदरहित सात्त्विक प्रवृत्तिका निष्काम पात्र हुनुहुन्छ । उहाँको जीवनशैलीमा भागवतीय प्रभाव छ । धीर प्रशान्त स्वभाव छ । निष्काम धर्ममा विश्वास गर्ने स्थितप्रज्ञ स्वभाव छ । उहाँले बौद्ध धर्मबारे पनि राम्रो अध्ययन गर्नुभएको छ । उहाँ समतलीय जीवनशैली अपनाउनुहुन्छ ।  

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ८ : १७ बजे