तत्कालीन अर्थमन्त्री शर्मा माथिको छानबिन प्रतिवेदन आज सभामुखलाई बुझाउने तयारी

काठमाडौँ । चालू आर्थिक वर्ष ०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएर करका दायरा हेरफेर गरेको प्रकरणमाथि छानबिन गर्न गठित संसदीय समितिले आज सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । 

यो प्रकरणमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुभएको थियो भने भने संसद्ले उहाँमाथि छानबिनका लागि संसदीय समिति नै बनाएको थियो ।

समितिले १७ दिन लगाएर छानबिन गरेको हो । समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार आज बिहान सभामुखसँग समय मागेर प्रतिवेदन बुझाइनेछ ।

बजेटको अघिल्लो राति १४ जेठमा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश भए–नभएको छानबिन गर्न गत असार २२ गते बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सो सम्बन्धमा छानबिन गर्न ११ सदस्यीय छानबिन विषेश समिति गठन गरिने घोषणा गर्नुभएको थियो ।

समितिमा सांसद खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल (गौतम), प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सीताराम महतो, सरलाकुमारी यादव र सुरेन्द्रप्रसाद यादव रहनुभएको थियो ।

समितिले पूर्व अर्थमन्त्री शर्मा, अर्थ मन्त्रालयका सचिव, बजेट निर्माणमा संलग्न उच्चपदस्थ कर्मचारीसँग बयान लिएको थियो । समितिलाई १० दिनभित्र प्रतिवेदन दिन भनिएको थियो । तोकिएको समितिले काम नसकेपछि प्रतिनिधिसभाले सात दिन समय थप गरेको थियो । समितिको अन्तिम म्याद बिहीबार सकिएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ७ : ४० बजे