सुनको मूल्यमा नयाँ कीर्तिमान

दमौली अस्पतालमा सात जनामा डेङ्गुका सात जना बिरामी भेटिए

तनहुँ । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा सात जनामा डेङ्गुको लक्षण भेटिएको छ । अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेङ्गुका बिरामी भेटिएका हुन् । 

पछिल्लो समय सङ्क्रमणजन्य बिरामीको चाप बढिरहेको बेला डेङ्गुका बिरामी पनि देखिएको दमौली अस्पतालका डा राजु रानाले जानकारी दिनुभयो । 

उहाँका अनुसार दमौली अस्पतालमा दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालमा पछिल्लो समय ज्वरो, टाइफाइड, निमोनियालगायतका बिरामी अत्यधिक आउने गरेका छन् । 

बिहीबार इमर्जेन्सीमा चार र ओपिडीमा तीन जनामा डेङ्गुको लक्षण भेटिएको रानाले जानकारी दिनुभयो । एक सय डिग्रीभन्दा बढी ज्वरो आउने, आँखाको गेडी दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने र कमजोरी हुने डेङ्गुका मुख्य लक्षण हुन् । 

उहाँले भन्नुभयो, “बिरामीको अवस्था गम्भीर देखिए मात्रै अन्यत्र अस्पतालमा रिफर गरिनेछ ।” रिफर गर्नुअघि बिरामीको दैनिक कीट जाँचका लागि पोखरा वा काठमाडौँस्थित टेकु अस्पतालमा पठाउने गरिएको रानाले बताउनुभयो । 

लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हुँदा साँझमा बाहिर ननिस्कने, शरीर ढाक्ने गरी लुगा लगाउन तथा सुत्ने समयमा झुलको प्रयोग गर्न चिकित्सकको सुझाव छ । झोलिलो र तागतिला खानेकुरा खान पनि चिकित्सकले सुझाव दिएका छन् ।रासस

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ७ : २८ बजे