धर्मले मानिसलाई ज्ञानी, सभ्य, सु–संस्कृत एवं चरित्रवान् बन्न प्रेरित गर्छ । सभ्यको अर्थ विकसित तथा उन्नत भन्ने हुन्छ । सु सांस्कृतिक भन्नाले नैतिक एवं चारित्रिक रूपले सम्पन्न मनुष्य समाजलाई जनाउँछ । कुनै पनि व्यक्ति देश वा समाजले यही कुराको आशा गरेको हुन्छ । सनातन वैदिक धर्म–संस्कृतिले समाजलाई सभ्य, सु–सांस्कृतिक, विकसित, शान्तिपूर्ण, समृद्धशाली एवंं चरित्रवान् मानव बन्न सिकाउँदै आएको छ । यसको अर्थ बाहिरी संसारको वातावरणलाई पुष्ट र उन्नतिवान् बनाउँदै जीवनको आन्तरिक पक्षलाई पवित्र बनाई स्वच्छ जीवनशैलीको निर्माण गरी जागरूक, सुखी र आनन्दित गराउने कारकतत्वको रूपमा सनातम वैदिक धर्मको प्रचार एवं प्रसार हुँदै आएको हो ।
धर्मको अर्को अर्थ ज्ञान हो । समाजमा सच्चा ज्ञान, शिक्षा र चेतनाको स्तरमा जागरण ल्याई मानिसलाई सच्चा चरित्रको बाटो देखाउने उद्देश्य नै धर्म साधनको प्रयोग हो । तर धर्म र संस्कृतिको नाममा केही यस्ता विकृति एवं विसङ्गतिहरू पनि समाजमा घुस्न पुगे जसले सत्य धर्मको मार्गलाई नै धुमिल बनाउँदै लगेको कुरा हामी सामु प्रष्ट छ ।
धर्म सम्बन्धी अनावश्यक परिपाटीहरूको परिशोधन एवं परिवर्तन गर्दै लग्नु पर्नेमा सो नभई उल्टो समाज धर्मको विरुद्धमा लागेकोले समस्या झन् बढ्दै गएको छ । जसको परिणाम एकथरि समाज नै धर्मको विरुद्ध खनिन पुगेको देखिन्छ । अध्कचरो शिक्षा एवं अज्ञानताबाट उत्पन्न समाजले धर्मको नाममा केही अन्धपरम्परा, अन्धविश्वास र अन्धधार्मिक क्रियाकलापहरू गराउँदै आएको छ ।
विगतमा चलेको सती प्रथा र दासदासी प्रथा अहिले बन्द भए पनि त्यत्ति बेला धर्मको नाममा चलेको थियो । अरू यस्ता थुप्रै अन्धविश्वासहरू हाम्रो समाजमा धर्मको नाममा व्याप्त छन् । जसमा जातिपाती, भेदभाव, पशु बलि, अन्याय, शोषण जस्ता कुराहरू समाजबाट अझै हट्न सकेका छैनन् । पशु बलि प्रथा सन्दर्भमा आज हिन्दु धर्मावलम्बी समुदाय बीचमा नै पक्ष–विपक्षमा विशेष चर्चा परिचर्चा हुन थालिसकेका छन् । बलि प्रथा वास्तवमा सनातन वैदिक धर्म–संस्कृतिमा उल्लेख भएको कुरा हो । यसैले सोही अनुरूप शास्त्र मान्यतालाई मानेर धर्म साधना एवं कार्यमा बलि दिने चलन भएको पाइन्छ । अब बलि केको दिने भन्ने सवाल मात्र चर्चा हुनसक्छ ।
बलिको अर्थ समर्पण वा त्याग हो । समर्पण नगरीकन संसारमा कुनै पनि भोको प्राणी वा मानिसको पेट भरिँदैन अर्थात् कुनै पनि प्राणी तुष्ट पुष्ट हुन सक्दैन । त्यसैले खाना खानु पनि एक किसिमको बलि हो । अरूलाई खुवाउनु पनि बलि हो । बलि दिनु भगवान् वा आत्मालाई चढाउनु हो । चढाएको कुरा कसैले खान्छ भने त्यो बलि भयो । मासु कसैले खान्छ भने उसले आफ्नू देवतालाई पहिला चढाउँछ अनि आफैँले खान्छ त्यहाँ पनि बलि भयो । यसैले बलि दिनु समाजमा चल्दै आएको एउटा परम्परा हो ।
यसको अर्थ पशुलाई नै बलि दिनुपर्छ भन्ने होइन । समाजमा पशु बलि पनि एउटा प्रथाको रूपमा चल्दै आएको हो । यो अर्धसत्य कुरा हो । यसमा पूरा सत्यता नहुन पनि सक्छ । किन कि आज समाजमा कसैले मासु खान्छन्, कसैले खाँदैनन्, यो उनीहरूको आ–आफ्नो प्रवृत्तिको कुरा हो । निवृत्तिमा यसको कुनै अर्थ र चिन्तन हुन्न । प्रवृत्तिमा प्राणी आफू बाँच्दछ । निवृत्तिमा प्राणी अरूलाई बचाउँछ । यसमा विवाद गर्नुको कुनै अर्थ हुने छैन । निवृत्तिको मार्गमा हिँड्नेका लागि उसको आफ्नो नियम र परिवेश छ । प्रवृत्तिको मार्गमा हिँड्नेको लागि समाज, राष्ट्र र संसारको नियम एवं अनुशासन नै प्रमुख हुन्छ ।
समाजले जुन नियम कानुन बनायो, त्यही नियमलाई अङ्गीकार गर्नु संसारी मनुष्यको कर्तव्य हुन आउँछ । कुनै अधार्मिक कार्य, विकृति र विसङ्गतिलाई हटाउनु छ भने समाज र देशको कानुन परिवर्तन गरेर हटाउन सकिन्छ । तर समष्टि सत्यको नियमलाई भने कसैले पनि हटाउन सक्दैन । धर्म आफैँमा विकृति होइन । धर्म जब संस्कृतिमा बदलिन्छ, तब त्यहाँ मानवीय दृष्टिकोण, सोच र फरक व्यवहारका कारण अन्धविश्वासको जन्म भएको पत्तै हुँदैन । त्यही अन्धविश्वास नै समाजले धर्म सम्झेको हुन्छ । वास्तवमा त्यो धर्म होइन, यथार्थमा धर्म विशुद्ध र तटस्थ हुन्छ ।
शिक्षा, ज्ञान, सत्य, अहिंसा, इमानदारी, दया, प्रेम, करुणा, सत्सङ्ग, कर्तव्य भन्ने कुरा उकालो लाग्ने बाटाहरू हुन् । उकालो बाटो हिँड्न गाह्रो हुन्छ । हिंसा, अशान्ति, अज्ञानता, मनोमानी विचार, भोग, ईर्ष्या, द्वेषको बाटो ओरालो हुन् । जसमा हिँड्न सजिलो हुन्छ । यसैले मानिसहरू सजिलो बाटो हिँड्न रुचाउँछन् । बिग्रन सजिलो छ, तर सप्रिन धेरै गाह्रो हुन्छ ।
यसैले संसारमा मानिसहरू धर्म गरेजस्तो गरेर पाप नै बढी गरिरहेका हुन्छन् । मानिसको मन सुकर्मभन्दा कुकर्मतिर बढी लालायित हुन्छ । किन कि जीवनको दुई वटा बाटा छन्, एउटा बाह्य र अर्को अन्तर जगत् । जब मन इन्द्रियहरूको पछि हिँड्छ, तब ऊ जहिले पनि बहिर्मुखी मार्गमा विचरण गर्छ । जब मन अन्तर्मुखी हुन्छ, तब मात्र उसको बाटो अन्तर्जगत्तर्फ जान्छ । अन्तर्जगत्को मार्ग उकालो हो । यसमा हिँड्न कठिनाइ हुन्छ ।
यदि मनुष्य कठिनाइलाई नै जीवनको वास्तविकता सम्झन थाल्दछ भने तब ऊ धर्मको बाटोमा पाइला चाल्न थाल्छ । बहिर्मुख जीव इन्द्रियहरूको वशमा हुन्छ र उसले इन्द्रियले गर्ने कार्यलाई सत्य मान्छ, तब ऊ गलत कार्य पनि गर्न सक्छ । यसैले शिक्षा, ज्ञान र इन्द्रिय निग्रहरूपी साधनाको जरुरत परेको हो ।
जीव सदा बहिर्मुखी भएकोले उसले धर्मलाई भन्दा कर्मकाण्डलाई बढी पत्याउँछ, चेतनालाई भन्दा जडलाई बढी पूजा गर्दछ, धन्यलाई भन्दा धनलाई बढी मान्दछ । निर्माणलाई भन्दा विध्वंसलाई प्रश्रय गर्दछ । प्रेम र करुणालाई भन्दा घृणा र तिरस्कारलाई स्वीकार गर्दछ । निःस्वार्थलाई भन्दा स्वार्थको सहारा बढी लिन्छ । किन कि मनुष्य एउटा जीव हो, ऊ काम, क्रोध र लोभको बलमा चल्ने भएकोले देवता बन्न सकेको हुँदैन । त्यसैले उसमा कमी—कमजोरी हुन्छ । कमी—कमजोरीको घेराबन्दीमा नै सबै भुलिरहेका हुन्छन् ।
सुन र हिरा संसारमा कमै पाइन्छ । तर माटो र ढुङ्गा प्रशस्त पाइन्छ । यही कुरा मानवीय व्यवहारमा पनि पाइने भएकोले हामीलाई मन नपर्ने अनेक व्यवहार हामीले संसारमा देख्नुपर्ने हुन्छ । राम्रो मात्र खोजेर संसारमा पाइँदैन । नराम्रो कुरा पनि यही संसारमा मिसिएको छ । यसैले अनेक कुराको सम्मिश्रण भएकोले नै संसार भनियो । हरेक व्यक्तिले आफूलाई सुधार्न चाहन्छ, तर ऊ सुध्रिन सकेको हुँदैन । यही यथार्थ हो । जो आफूलाई सुधार गरेर परिष्कृत एवं उदाहरणीय व्यक्तित्वको रूपमा समाजमा देखा पर्छ, तब उसको प्रभावले मात्र बिस्तारै सुध्रिन थाल्दछ ।
त्यसैले अरूलाई सुधार्नुभन्दा पहिले आफू सुध्रिन जरुरी छ । सुधार आफैँबाट सुरु गर्नुपर्छ । मानिसको ज्यादाजसो स्वभाव कस्तो छ भने आफू सुध्रिनु भन्दा अरूलाई सुधार गर्ने अभियानमा नै बढी समय खर्च गर्छ । यसले परिवर्तनको सट्टा मानिस–मानिस बीचको सम्बन्धमा आँच पुग्छ ।
यसैले संसारमा शान्तिको सट्टा अशान्ति बढिरहेको हुन्छ । धर्म–संस्कृतिको सट्टा भौतिक सुख–सुविधा एवं भोगविलासमा मानिसको मन आकर्षित भइरहेको हुन्छ । ज्यादा भौतिकवादीको लागि धर्म पाखण्ड, ढोङ्ग र अन्धविश्वास जस्तो लाग्छ । किन कि धर्म सूक्ष्मतामा छ, भौतिक कुरा स्थूल छ । सूक्ष्म प्रत्यक्ष देखिँदैन, तर भौतिक स्थूल भएकोले प्रत्यक्ष देखिन्छ । संसारमा धेरै जसो मानिस स्थूल बुद्धियुक्त हुन्छन् । कमै मानिस मात्र सूक्ष्म बुद्धिले युक्त हुन्छन् ।
यसैले बाहिरी आँखाबाट हेर्दा संसारमा धर्म–संस्कृति भन्ने कुरा विवादित र तरङ्गित अवस्थामा रहेको हो कि जस्तो देखिन्छ । धर्म अटल छ, सत्य छ । जुन सत्यमा टेकेर मनुष्यले आत्मबोध गर्न सक्दछ र अन्तर्गतको दर्शन पाउन सक्छ । यही धर्मको उद्देश्य हो । यसैले लोकतन्त्रमा धर्म र संस्कृति पनि अटाउन जरुरी छ । लोकतन्त्रमा सबै विचार, भावना, सोच एकसाथ हिँड्न सक्छ भने धर्म र संस्कृति किन अटाउन सक्दैन ? यसैले हामी सङ्कीर्ण सोचबाट माथि उठ्ने समय आएको छ ।
प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार ९ : ०५ बजे
प्रतिक्रिया