एसईईको नतिजा सार्वजनिक, ९६३३ जनाले ल्याए उच्च जीपीए 

​​​​​​​​​​​​​​भक्तपुर ।   राष्ट्रिय परीक्षा बोर्डले आज अपराह्न माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७८ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले एसइई परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले परीक्षामा सहभागीमध्ये चार लाख ९५ हजार सात सय ५१ परीक्षार्थीको नतिजा सार्वजनिक गर्नुभएको हो । 

सदस्य सचिव अर्यालले यस वर्ष उच्च श्रेणीमा उत्तीर्ण हुने विद्यार्थी एक दशमलव ९४ प्रतिशत रहेको बताउनुभयो । उच्च श्रेणी ३ दशमलव ६ देखि ४ जिपिए ल्याउने नौ हजार छ सय ३३ अर्थात् १ दशमलव ९४ प्रतिशत छन् । 

 त्यस्तै, ४१ हजार छ सय २७ विद्यार्थीले ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए, ६९ हजार नौ सयले २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए ल्याएका छन् । ९० हजार ७५८ जनाले २ दशमलव ४ देखि २ दशमलव ८ जीपीए ल्याएका छन् ।

त्यस्तै एक लाख १२ हजार सात सय ३३ विद्यार्थीले २ देखि २ दशमलव ४ जीपीए, एक लाख पाँच सय ९४ जनाले १ दशमलव ६ देखि २ जीपीए, ४४ हजार पाँच सय ८६ विद्यार्थीले १ दशमलव २ देखि १ दशमलव ६ जीपीए र तीन हजार दुई सय ८० विद्यार्थीले ० दशमलव ८ देखि १ दशमलव २ जीपीए ल्याएको उहाँले जानकारी दिनुभयो । 

सदस्य सचिव अर्यालले यस वर्ष १ दशमलव ९४ प्रतिशतले ३ दशमलव ६ देखि ४ जिपिए, ८ दशमलव ४० प्रतिशतले ३ दशमलव २ देखि ३ दशमलव ६ जिपिए, १४ दशमलव १० प्रतिशतले २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए, १८ दशमलव ३१ प्रतिशतले २ दशमलव ४ देखि २ दशमलव ८ जीपीए ल्याएका छन् ।

त्यस्तै २२ दशमलव ७४ प्रतिशतले २ देखि २ दशमलव ४ जीपीए, २० दशमलव २९ प्रतिशतले १ दशमलव ६ देखि २ जीपीए, ८ दशमलव ९९ प्रतिशतले १ दशमलव २ देखि १ दशमलव ६ जीपीए र ० दशमलव ६६ प्रतिशतले ० दशमलव १ देखि १ दशमलव २ जीपीए ल्याएको उहाँले जानकारी दिनुभयो । 

परीक्षामा २२ हजार छ सय ४० अर्थात् ४ दशमलव ५७ प्रतिशत परीक्षार्थी अनुपस्थित रहेको सदस्य सचिव अर्यालले जानकारी दिनुभयो ।
    
त्यसैगरी प्रदेशतर्फ प्रदेश नं १ मा १७ दशमलव ४ प्रतिशत, मधेस प्रदेशमा १५ दशमलव ५ प्रतिशत, वाग्मती प्रदेशमा २१ दशमलव ६७ प्रतिशत, गण्डकी प्रदेशमा ९ दशमलव ३० प्रतिशत, लुम्बिनी प्रदेशमा १७ दशमलव ४५ प्रतिशत, कर्णाली प्रदेशमा ७ दशमलव ५३ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ११ दशमलव ५ प्रतिशत विद्यार्थीको नतिजा सार्वजनिक गरिएको छ । 

राष्ट्रिय परीक्षा बोर्डले विभिन्न माध्यमबाट रिजल्ट थाहा पाउने व्यवस्था गरेको जनाएको छ। मोबाइल एसएमएसबाट नतिजा थाहा पाउनका लागि ३५००१, ३४९४९, ३१००३ र १६०० मा म्यासेज गर्नु पर्ने हुन्छ।

त्यस्तै विभिन्न वेवसाइटमार्फत पनि नजित हेर्न सकिने परीक्षा बोर्डले जनाएको छ। नतिजा हेर्नका लागि  www.see.gov.np , www.neb.gov.np,  www.see.ntc.net.np  लगायत अन्य वेवसाइटमा जान सकिने बोर्डले जनाएको छ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ४ : ०३ बजे