योजना तर्जुमा गर्नु व्यवस्थापनको सबैभन्दा महत्त्वपूर्ण कार्य हो । योजना तर्जुमा नगरी कुनै पनि संस्थाले आफ्नो कार्यलाई सुचारु ढङ्गले अगाडि बढाउन सक्दैन । योजना विना मानवीय प्रयत्न असन्तुलित, अव्यवस्थित, अनिश्चित तथा अन्योलपूर्ण हुने र काममा एकरूपता तथा सामञ्जस्य नआउने भएकोले कामको प्रतिफल प्राप्त भएको देखिँदैन ।
योजना भनेको भावी कार्यक्रमको क्रमबद्ध रूपरेखा हो । योजना बनाउँदा भविष्यमा के गर्ने, कहाँ गर्ने, कसरी गर्ने, भन्ने विषयमा निर्णय गर्नु पर्ने हुन्छ । त्यसैले योजना तर्जुमा व्यवस्थापनको पहिलो प्राथमिकता भएकोले निकै महत्त्वपूर्ण कार्य मानिन्छ ।
योजना एउटा त्यस्तो खाका हो जसले आगामी दिनमा उद्देश्य परिपूर्तिका लागि के कस्तो रणनीति, के कस्ता कार्यक्रम र के कस्ता क्रियाकलाप, कस्तो कार्य योजनाका साथ सम्पादन गर्ने लेखाजोखा गरिएको हुन्छ । योजना कार्यान्वयनको अवधिलाई र अवस्था हेरेर आवधिक योजना, अन्तरिम योजना तथा गुरुयोजना गरी विभाजन गरिएको हुन्छ ।
रणनीतिक योजना
तोकिएको उद्देश्य पूरा गर्नका लागि कमाण्डरले आफ्नो कमाण्डलाई सफल बनाउन निश्चित अवधिमा सम्पादन गर्न तयार गरिने रणनीतिगत विषय रणनीतिक योजना हो । जसले आफूलाई आफ्नो कला र कौशलका आधारमा फरक ढङ्गले प्रस्तुत भई सफल बनाउने कार्य गर्दछ । यस्तो योजना हो जसले कमाण्डरको नेतृत्व कलालाई चिनाउँछ ।
भर्खर निर्वाचित हुनुभएका स्थानीय तहका जनप्रतिनिधिहरूलाई अनुरोध छ कि तपाईँ पनि एक सफल कमाण्डर बन्नुहोस् । तपाईँको यो कार्यकाल स्वर्णिम र ऐतिहासिक बनोस् । तपाईँ आज ठुलो जिम्मेवारीका साथ निर्वाचित हुनुभएको । आज तपाईँका पालिकाका युवाहरूले आफ्नो भविष्य तपाईँको अनुहारमा हेरिरहेका छन् । ज्येष्ठ नागरिक, असहाय, अशक्त, अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो सहारा तपाईँलाई मानिरहेका छन् । आमा, दिदीबहिनीहरूले आत्मसम्मान, सामाजिक न्याय र सामाजिक सुरक्षा गर्ने अभिभावक तपाईँलाई बनाइरहेका छन् । दलित जनसमुदायले सामाजिक न्याय र समानता, आफ्ना सीप तथा कलाको सम्मान तपाईँबाट हुन्छ भन्ने विश्वास राखिरहेका छन् । आम बुद्धिजीवीहरू आफ्नो क्षमताको आदर र कदर साथै त्यसको प्रयोग तपाईँ मार्फत हुन्छ भन्ने कुरामा विश्वस्त छन् । समस्त नागरिकजनले आफ्नो कला—संस्कृतिको सम्मान र संरक्षण तपाईँ मार्फत हुन्छ भन्ने कुरामा विश्वास राखेका छन् । तपाईँको त्यो बस्ती काँचुली फेर्न तपाईँको प्रतीक्षामा छ । बस्ती रूपान्तरण, बस्तीवासीको आधारभूत सेवा प्राप्तिका साथै उसको खुसी तपाईँलाई नियालेर बसिरहेको छ ।
यी सबै कुरा पूरा गरेर तपाईँ सफल नेता बन्ने सुनौलो अवसर तपाईँलाई हात फैलाएर स्वागत गर्न बसेको छ । हामीलाई थाहा छ, यो सबै कुरा पूरा गर्न तपाइसँग स्रोत—साधनको सीमितता छ । अनुमान गर्न सकिन्छ, तपाइसँग समयको पनि अभाव रहन सक्छ । यो सबै कुराको व्यवस्थापन गर्न तपाईँलाई सीपको आवश्यकता पर्दछ । यससँगै तपाईँसँग रणनीतिक कौशल चाहिन्छ । तपाईँसँग रणनीतिक योजना चाहिन्छ । लडाइँ लड्न जाने योद्धा बिना योजना रणभूमिमा गयो भने हरेक पाइलामा अलमलमा पर्नेछ । बैरीले आक्रमण तीव्र पार्ने छ । तपाईँ लडाइँमा टिक्न त सक्नुहोला, बाँच्न त सक्नुहोला, तर बचाउन र सफलता हासिल गर्न सक्नुहुन्न । कतिपय सन्दर्भमा तपाई हार्नुहुनेछ, हुनसक्छ तपाईँ मारिनुहुनेछ । तपाई मारिनुभयो भने माथि उल्लेख गरेका लक्षित वर्गहरू जसले आफ्ना सपना तपाईँको अनुहारमा देखिरहेका छन्, उनीहरूको अवस्था के होला ?
तसर्थ तपाई अब पाँच वर्षको रूपान्तरणको रण मैदानमा जाँदै हुनुहुन्छ । त्यसका लागि केही समय छुट्ट्याउनुहोस् । रणनीतिक योजना तर्जुमा गर्नुहोस् र तपाईँ सफल नेतृत्वको रूपमा आफूलाई अगाडि बढाउनुहोस् ।
रणनीतिक योजना तर्जुमा गर्नाले तपाईँलाई सहज परिस्थिति निर्माण गर्न मद्दत पुगेको हुनेछ । जसले गर्दा:
- तपाईँ आफ्नो कार्यकाल मा कुन कुन रणनीतिका साथ कार्यकाललाई अधिक उपयोगी बनाउने भन्ने कुरा निर्धारण गर्न ।
- आफ्नो कार्यकालमा कुन कुन सवाललाई पहिलो, दोस्रो गरी प्राथमिकता निर्धारण गर्न ।
- आफ्नो कार्यकालमा गर्ने कामको लक्ष निर्धारण गरी त्यसलाई प्राप्त गर्न ।
- टिम परिचालन गर्न र उनीहरूलाई दिशानिर्देश गर्न ।
- हरेक कामलाई प्राथमिकीकरण गर्न ।
- कुन वार्डमा के कामलाई प्राथमिकतामा राख्ने भनेर काम गर्न ।
- बालमैत्री, वातावरणमैत्री, र लैङ्गिक मैत्री सुशासन स्थापित गर्न सहज हुनेछ ।
आज स्थानीय सरकारले सङ्घ वा प्रदेश सरकारले गर्ने काम आफैले गर्ने गरी सपना बुनिएको छ भने माथिल्लो सरकारले ससाना खुद्रे योजना निर्माण गरेर तल पठाइएको छ । यो अन्तर्विरोधी छ र यसलाई बदल्नुपर्छ । यसलाई बदल्न पनि हामीले हाम्रा दायराहरू बुझ्नुपर्दछ र दायराभित्र रहनुपर्दछ । यो सबै कुराको बारेमा स्थानीय तहका जनप्रतिनिधिहरू स्पष्ट हुन आवश्यक छ । यसको प्रष्टताका लागि विज्ञको सहयोगमा रणनीतिक योजना तर्जुमा गर्नुहोस् र अगाडि बढ्नुहोस् ।
रणनीतिक योजना तर्जुमा गर्दा खास गरेर विभिन्न तरिका अपनाएर बनाइन्छ । एकथरि विज्ञहरू जहाँ काम गर्न रणनीतिक योजना तर्जुमा गरिदैँछ, त्यसको SWOT विश्लेषण गरेर बनाउने गर्नुहुन्छ भने अर्काथरि विद्वानहरू SWOL विश्लेषण गरेर बनाउनुहुन्छ । तर पछिल्लो अवधिमा SOAR विधि विश्लेषण गरेर बनाउने र लेखाजोखा गर्दा ३६० डिग्रीमा लेखाजोखा गरेर अगाडि बढ्ने प्रचलन छ । जुनसुकै विधि अपनाए पनि रणनीतिक योजना बनाउन आवश्यक छ । क्षमता र अवसरमा टेकेर रणनीति बनाउने कि कमजोरी र चुनौतीमा टेकेर बनाउने भन्ने छनोट योजना तर्जुमा गर्नेले चुन्ने विषय हो ।
(लेखक प्रशंसनीय दृष्टिकोण अभियन्ता तथा मदन भण्डारी फाउण्डेशनका केन्द्रीय सदस्य हुनुहुन्छ ।)
प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार १० : ४९ बजे
प्रतिक्रिया