युक्रेन रुस युद्ध जारी छ र यसले विश्वका नेपाल जस्ता आर्थिक रूपले कमजोर र गम्भीर भूराजनीतिक प्रभाव झेलिरहेका देशहरूलाई सम्भावित जोखिमबाट बेलैमा सतर्क रहन गतिलो सन्देश दिएको छ । राजनीतिक नेताहरूको अदूरदृष्टिले परनिर्भर बन्दै गएको श्रीलङ्कालाई कोभिड महामारीले थला पारिदिएको र त्यसले देश नै टाट पल्टिन पुगेको नराम्रो परिणति भोगेको सबैले देखेका छौँ । यस घटनाले विश्वका कमजोर देशहरूलाई झस्काएको छ ।
नेपाल दुई महत्त्वाकाङ्क्षी उदाउँदा शक्तिशाली देशहरूको माझमा अवस्थित छ । यस्तो अवस्थाले हामीलाई परराष्ट्र सम्बन्धमा निकै बढी सजग र संवेदनशील हुनुपर्ने माग गर्दछ । तर नेपालको गठबन्धनवादी सरकारले अघोषित रूपमा नेपाली परम्परागत असंलग्न विदेश नीति परित्याग गर्दै भौगोलिक रूपले टाढाको महाशक्तिलाई रिझाउने सङ्केत देखिएपछि नेपालले पनि युक्रेनको नियति भोग्ने दिन आउने हो कि भन्ने थप त्रास थपिएको छ । यस्तो रवैयाले निम्तिन सक्ने डरलाग्दो परिणामलाई काठमाडौँका सत्ताधारीहरूले बिलकुलै उपेक्षा गरिरहेका छन् । उनीहरूको प्राथमिकता यस्तो जोखिमबाट कसरी जोगिने भन्दा देशबाहिरका शक्ति केन्द्रहरूलाई रिझाएर आफ्नो सत्तालाई निष्कण्टक बनाउनेतिर बढी देखिन्छ । देशै नरहे उनीहरूको सत्ता पनि रहँदैन भन्ने चेतना उनीहरूमा देखिँदैन ।
रुस—युक्रेन युद्धको झन्डै पाँच महिना व्यातित भइसकेको छ । २४ फेब्रुअरीबाट युक्रेनमाथि रुसी आक्रमण सुरु भएको हो । यसबाट अहिलेसम्म युक्रेनले ठुलो क्षति बेहोरिसकेको छ । युद्ध अझै कति लम्बिएर जाने हो र अझै कति धनजनको नाश हुने हो भन्न सकिने अवस्था छैन । यस द्वन्द्वमा युक्रेनी जनताले भोग्नुपरेको यातना र हत्या अवर्णनीय र हृदय विदारक छ । यति मात्र होइन, यस युद्धले विश्वलाई नै आर्थिक सङ्कटतिर धकेलिरहेको छ । युक्रेनका कैयौँ सहरहरू भग्नावशेषमा परिणत भएका छन् । ज्यान जोगाएर छिमेकी युरोपेली देशतिर शरण लिन बाध्य युक्रेनहरूका कारण युरोपमा दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा ठुलो शरणार्थी सङ्कट उत्पन्न भएको छ । नौ मिलियनभन्दा बढी युक्रेनहरूले युक्रेन छोडिसकेको तथ्याङ्क सार्वजनिक भइसकेको छ । रुसले पूर्वी युक्रेनको ठुलो भागमा आधिपत्य जमाइसकेको छ । यो युद्ध युक्रेनका लागिभन्दा रुस र अमेरिका दुवैका लागि अब प्रतिष्ठाको विषय बनिसकेको छ ।
यस भयानक त्रासदीको जिम्मेदार युक्रेनमा भौतिक आक्रमण गर्ने पुटिन कि आफ्नो देशको भूराजनीतिक अवस्थितिप्रति बेवास्ता गर्दै अमेरिकाको उक्साहटमा आँगन जोडिएको रुससँग पैँठेजोरी खेल्ने जेलेनोस्की ? वा रुस विरुद्ध आफ्नो स्वार्थ सिद्ध गर्न जेलेनोस्कीलाई पुरै सहयोग गर्ने वाचा गरेर युक्रेनलाई युद्धको त्रासदी भोग्न बाध्य पार्ने जो बाईडेन ? यिनीहरूमध्ये को मुख्य अपराधी हो भन्नेबारे अझै धेरैमा भिन्न मतहरू हुन सक्छन् । तर, युक्रेनी नेताहरूले आफ्नो देशको रुससँगको भौगोलिक सामिप्यता तथा रुस अमेरिका बीचको असहज सम्बन्धप्रति आँखा चिम्लेर अमेरिकाको ताबेदारी गर्दै रुसलाई चिढाउने काम कसरी गर्न सके भन्ने कुरा आश्चर्यजनक छ । उनीहरूको युक्रेनमा नेटोका सैनिकहरूलाई परेड खेलाएर रुसलाई दबाबमा राखिदिने रणनीति घातक बन्न पुगेको छ । नेपालका सत्ताधारीहरूले पनि जिलेनेस्कीले झैँ प्रभाव वा प्रलोभनमा परेर जोखिमपूर्ण बाटो समातिरहेको जस्तो देखिँदै छ ।
सबैलाई थाहा छ, सामरिक रूपमा युक्रेन र रुसको तुलना हुनै सक्दैन । जिलेनेस्कीलाई त झन् यो थाहा नहुने कुरा थिएन, तर रुससँग निहुँ खोजेर युद्धको आगो झोसिदिएपछि बाईडेनको अत्याधुनिक युद्ध प्रविधिले युक्त नेटोले पुटिनलाई परास्त गर्छ र अमेरिकाको सुरक्षामा आफ्नो सत्ता निष्कण्टक रहने छ भन्ने जिलोनोस्कीको दिवास्वप्न अब कतैबाट साकार हुने देखिँदैन । यद्यपि, अमेरिका र उसका सहयोगीहरूले दिएको युद्ध सामाग्रीको भरमा युक्रेन रुसलाई रोक्ने प्रयास गरिरहेको छ तर हालसम्म यो प्रयास पर्याप्त देखिएको छैन । युद्ध लम्बिएर गइरहेको हुँदा यसलाई कहिलेसम्म सहयोग गर्न सकिएला भन्ने चिन्ताले अमेरिका, ब्रिटेन जस्ता देशहरूलाई सताउन थालेको छ । अफगानिस्तानबाट अमेरिका नेतृत्वको सेना २० वर्षपछि तालिबानलाई सत्ता बुझाएर फर्किएको वर्ष दिन पनि भएको छैन । आतङ्ककारी तालिबानलाई ठेगान लगाउन अफगानिस्तान पसेको नेटो सेना उसैलाई सत्ता सुम्पेर फर्केको हो । एसिया प्रशान्त क्षेत्रमा चीन विरुद्ध गतिविधिलाई बलियो पार्न अफगानिस्तानबाट पछि हटेको नेटो रुसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनमा केन्द्रित हुन पुगेको छ । सम्भवतः यो उसका लागि अपेक्षित थिएन ।
जिलेनेस्की प्रत्येक मञ्चमा थप सहयोगको गुहार लगाई रहेका छन् । युक्रेन रुस युद्धमा अमेरिकाले कुनै रणनीतिक चमत्कारबाट रुसलाई पराजित गरेछ भने पनि युक्रेनले कदापि जित हासिल गर्ने छैन । किनभने युक्रेनले अहिले नै धेरै कुरा क्षतिपूर्ति हुन नसक्ने गरी गुमाइसकेको छ । साँचो अर्थमा भन्ने हो भने युक्रेन अमेरिका र रुसको युद्ध प्रविधिको क्षमताको प्रयोग स्थल बनिरहेको छ ।
अमेरिका र उसको नेटोले सहयोगका नाममा विगतमा कहाँ के कस्ता घात प्रतिघात गरेको थियो भन्ने कुरालाई जिलेनेस्कीले नियालेर हेर्ने प्रयास नगरीकन कसरी यत्रो जोखिम सहन तयार भए ? कम आश्चर्य लाग्दो छैन । अमेरिकाको विश्वासमा जोखिम उठाएका उनी सुरुका दिनमा साहसी, निडर राष्ट्रवादी नायकका रूपमा प्रचार गरिए तर पछिल्ला दिनहरूमा अमेरिकाबाट आवश्यक सहयोग पाउन छाडेपछि उनी निराश र हतास भएका छन् । रुसलाई चारैतिरबाट नाकाबन्दी लगाएर कमजोर पारिदिन उनले गरेका कारुणिक अपिललाई नेटोका देशहरूले चाहे जस्तो प्रभावकारी बनाउन सकेका छैनन् । नाकाबन्दीको घोषणा गरेर पनि त्यो नेटोमा संलग्न देशहरूलाई प्रत्युत्पादक बन्न पुगेको छ ।
युरोपमा मागको झन्डै ६० प्रतिशत खनिज तेल र ग्यासको आपूर्ति रुसबाट हुँदै आएको थियो । त्यहाँका उद्योगहरू रुसी इन्धनमा आश्रित रहँदै आएका छन् । नाकाबन्दी लगाइए पनि इन्धन आपूर्ति रोक्ने कुरामा नेटोका सदस्य देशहरूभित्रै मत भिन्नता रहेको छ । युरोपमा ठुलो अर्थतन्त्र रहेको जर्मनीले रुसी तेल नहुने हो भने आफ्नो अर्थतन्त्र धराशायी हुने बताउँदै आएको छ । नेटोको अर्को सदस्य देश टर्कीले रुसलाई नाकाबन्दी लगाउने कुरामा युरोपेली सङ्घ र नेटोको निर्देशनको अवज्ञा गर्दै आएको छ । उसले निरन्तर रुससँग सम्बन्ध बढाइरहेको देखिन्छ । यही जुलाई १९मा रुसी राष्ट्रपति पुटिन इरानी सर्वोच्च नेता अयातुल्ला अलि खामेनेई र नेटो सदस्य राष्ट्र टर्कीका राष्ट्रपति रेसेप तैयब अर्दोगानसँग त्रिपक्षीय शिखर वार्ताका लागि इरानको राजधानी तेहरान पुगेका थिए । अर्दोगानले युद्धका कारण युक्रेनको खाद्यान्न निर्यात रोकिनाले विश्वका कतिपय देशहरूमा खाद्य सङ्कट उत्पन्न भएको कुरा उठाएका थिए । यस प्रस्तावलाई रुसले पनि स्वीकार गरेको समाचार प्राप्त भएका छ र रुस युक्रेनबीच अनाज आपूर्ति गर्नेबारे २२ जुलाईमा सम्झौता भएको छ । यति बेला पश्चिमाहरू रुसले विश्वमा भोकमरी फैलाएर आफ्नो स्वार्थ पूरा गर्ने रणनीतिमा रहेको आरोप लगाउँदै आइरहेका थिए । यस सम्झौतालाई सर्वत्र सकारात्मक रूपमा लिइएको छ ।
रुसबाट इन्धन आपूर्ति रोकिँदै गएपछि उत्पन्न नकारात्मक प्रभावलाई दृष्टिगत गर्दै युरोपेली आयोग रुसी बैङ्कहरूमाथि लगाइएको प्रतिबन्ध हटाउन बाध्य भएको छ । उता नेटोको सदस्य राष्ट्र लिथुआनिया भएर रुसको कलिङग्राडका लागि हुँदै आएको सामान आपूर्ति रोकेपछि उत्पन्न भएको तनावलाई पनि आयोगले केही सर्तहरू सहित लैजाने निर्णय गरेर हाललाई समाधान गरेको छ । घटना क्रममा देखिएको यो परिवर्तनलाई रुस माथिको नाकाबन्दी क्रमशः विफल हुँदै गइरहेको विश्लेषण पनि गर्न थालिएको छ ।
आगामी जाडो याममा बढ्ने इन्धनको खपतलाई कसरी समाधान गर्ने भन्ने चिन्ता युरोपमा गभीर देखिन्छ । निश्चय पनि रुस अमेरिका तनाव चर्किएर गएमा र रुसी इन्धन आपूर्ति रोकिएमा युरोप गभीर समस्यामा फस्ने पक्का छ । दीर्घकालका लागि रुसी इन्धनमाथिको निर्भरता घटाउने प्रयास भइरहेको भए पनि आउँदो जाडोमा यो सम्भव देखिँदैन । यो समस्या समाधान नभए जन असन्तोष बढ्ने खतरा पनि छ । नेटोका सैनिक गतिविधिमा संलग्न नहुने, आफ्नो देशमा नेटोका मिसाइल नराख्ने सर्तमा नेटोको सदस्य बनेको स्पेनमा युक्रेन रुसको युद्धको समाधान हतियारबाट हुँदैन, नेटो हामीलाई चाहिँदैन भन्ने नाराहरू लगाउँदै स्पेनको मेड्रिडमा ठुलो प्रदर्शन पनि भएको छ ।
समग्र परिदृश्यमा रुस युक्रेन युद्धले विश्व अब एउटा शक्तिको प्रभावमा नरहने र यो बहुशक्ति केन्द्रित हुने सम्भावना बढेर गएको देखिन्छ । चीनको आर्थिक प्रगति, अफगानिस्तानबाट घोषित लक्ष्यविना नै पछि हट्नु, युक्रेनलाई विश्वास दिए अनुसार सुरक्षित गर्न नसक्नु, एसियामा युक्रेन रुस युद्धका कारण रुस, चीन, भारत, इरान, टर्की जस्ता देशहरूबीच बढ्दो सहकार्यले पनि अमेरिकालाई रणनीतिक क्षति हुने देखिन्छ । भारत जस्तो रणनीतिक साझेदार रहँदै आएको देशलाई समेत वाशिङ्गटनले पछिल्ला समयमा आफूसँगै राख्न सकेको देखिँदैन, बरु भारतका छिमेकी नेपालमा आफ्नो पकड बलियो बनाउने प्रयास गरिरहेको देखिन्छ ।
नेटोको सैन्य सामाग्री सहयोग, आर्थिक नाकाबन्दीका बाबजुद रुस आक्रामक रहनुको मुख्य कारण भनेको रुसको उत्पादनमुखी अर्थतन्त्र नै हो । रुसले इन्धन नदिने हो भने युरोपमा आउने सङ्कटको त्रासका कारण नै रुस—युक्रेन युद्ध लम्बिएको छ । नेपालले यसबाट पनि पाठ सिक्नु आवश्यक देखिन्छ । देशमा आर्थिक रूपले धानिनसक्नु राजनीतिक व्यवस्था ल्याउने र देशलाई उत्पादनमुखी नभएर बाहिरबाट आयात गरिएका सामानहरूको उपभोग मात्र गर्ने अर्थव्यवस्थाको प्रवर्द्धन गर्ने गलत बाटो तत्काल छोड्नुपर्छ । अन्यथा विदेशीहरूको इसारामा नाचिरहनुको विकल्प छैन ।
प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार ९ : १७ बजे
प्रतिक्रिया