दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

साफ यु–२०ः लगातार दोस्रो जितको दाउमा नेपाल

काठमाडौँ । पहिलो खेलमा मालदिभ्सविरुद्ध सानदार जित निकालेको नेपाल साफ यु–२० च्याम्पियनसिपको दोस्रो खेलमा श्रीलंकाविरुद्ध मैदान उत्रँदै गर्दा लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

भारतको भुवनेश्वरस्थित कालिंगा रङ्गशालामा खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा मालदिभ्सलाई ४–० अन्तरले हराउँदै नेपालले महत्त्वपूर्ण तीन अङ्क जोडेको छ । पेपरमा कमजोर मानिएको श्रीलङ्कालाई पराजित गर्दै नेपाल लगातार ६ अङ्क जोड्न चाहन्छ ।

पहिलो खेलमा दिपेश गुरुङ, सुगम सुवाल, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीको गोलमा प्रशिक्षक मेघराज केसीको नेपालले बल पोजिसन सहित उत्कृष्ट फिनिसिङ गरेको थियो ।

दोस्रो खेलमा समेत केसीले उहीँ प्लेइङ सेटलाई मौका दिने सम्भावना रहेको छ । केसी आयुष घलानको कप्तानीमा  उहीँ सेटबाट सोही प्रदर्शन निरन्तरता दिन चाहन्छन् ।

श्रीलङ्का भने नेपाललाई हराउँदै पहिलो जित निकाल्ने दाउमा छ । पहिलो खेलमा श्रीलङ्का बङ्गलादेशसँग १–० अन्तरले पराजित भएको थियो ।

यसअघि १९ र १८ वर्षको उमेर समूहमा हुँदै आएको यस प्रतियोगिता यस पटक २० वर्ष मुनिको उमेर समूहमा हुन लागेको हो ।

यसअघि नेपालले सुरुवाती दुई संस्करण जित्दा पछिल्लो संस्करण भारतले जितेको थियो ।

प्रतियोगितामा नेपालले भारतसँग जुलाई ३१ र बङ्गलादेशसँग अगस्ट २ मा खेल्नेछ । आयोजक भारत, नेपाल, मालदिभ्स, बङ्गलादेश र श्रीलङ्का सम्मिलित प्रतियोगिताको शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ८ : ४७ बजे