नम्बर प्लेट नभएको मोटरसाइकलमा गाँउपालिकाको पेट्रोल कुपन

भैरहवा – रुपन्देहीको मायादेवी गाउँपालिकाले नम्बर प्लेट नभएको मोटरसाइकललाई १५ लिटर पेट्रोल दिएको पाइएको छ । 

गाउँपालिकाले संगम आयल कम्पनी भैरहवाको नाममा कुपन नम्बर ७४६ बाट लु ६४ प ८६८ लाई १५ लिटर  पेट्रोल दिने भनि उल्लेख भए पनि सो पेट्रोल नम्बर प्लेट नै नभएको निजी गाडीले प्रयोग गरेको छ । 

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद तिम्लिसिनाले गाउँपालिका कार्यालयबाट जारी गरिएको कुपन वडा नम्बर ५ का वडाध्यक्षलाई दिइएको बताए । व्यवहारिक हिसाबले गाउँपालिकाले तेजनारायण पाललाई निजी गाडीमा प्रयोग गर्नका लागि सो कुपन उपलब्ध गराएको उनले बताए ।

कुपन अनुसारको पेट्रोल ८ गते साझ एक नम्बर प्लेट नभएको प्लसर मोटरसाइकलले हालेको छ । मोटरसाइकल कस्को हो भन्ने स्पष्ट नभएपनि कुपन कै आधारमा पेट्रोल पम्पले पेट्रोल दिएको छ । ‘हामीले कुपनकै आधारमा तेल दिने गरेका छौ जसले कुपन ल्याउछ उसलाई तेल दिन्छौ नम्बर लेखे पनि नम्बर हेर्ने गरेका छैनौ,’ पम्पका प्रतिनिधिले भने । 

तेल हाल्ने मोटरसाइकल चालक भने तेज नारयण पाल होइनन्, प्रशासकीय अधिकृत तिम्लिसिनाले तेल वडाध्यक्षले नै हालेको दाबी गर्छन् ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ७ : २८ बजे