खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

हरियो चुरा, मेहेन्दी र साउनको महत्त्व

​​​​​​​काठमाडौँ । साउनको सोमबार पशुपति क्षेत्रमा आएका अधिकांश महिलाहरू हरियो कपडामा देखिन्थे । धेरैजसो महिलाहरूले रंगीचङी चुरा पोते तथा हातमा मेहेन्दी समेत लगाएका थिए । 

पशुपति क्षेत्रमा मात्र हैन साउन महिनामा अधिकांश नेपाली महिलाहरू हरियो कपडा, चुरा र मेहन्दी लगाएर सजिएर हिँड्न रुचाउँछन् । 

धार्मिक, सांस्कृतिक एवम् प्राकृतिक दृष्टिकोणले साउन महिना महत्त्वपूर्ण रहेकोले यो महिनामा मानिस र प्रकृतिको हरियो रङ्गसँग गहिरो सम्बन्ध भएकै कारण आफूहरू हरियो चुरा, पोते तथा हातमा मेहेन्दी लगाएर हिँड्ने गरेको धेरैजसो बताउँछन्  ।

काठमाडौँ कागेश्वरी मनोहरा घर भई हाल काठमाडौँको कपन मिलन चोक बस्दै आउनु भएकी बिनिता दाहालले साउन लागेसँगै दुवै हातमा हरियो, पहेँला चुरा र हातमा मेहेन्दी लगाएर सजिने गरेको बताउनुभयो । 

दाहाल साउनमा लगाइने हरियो रङ्ग सौभाग्यको रङ्ग भएको बताउनुहुन्छ । मेहन्दीको रङ्गलाई त उहाँ श्रीमानले दिने मायासँग पो तुलना गर्नुहुन्छ । “मेहेन्दीको रङ्ग हातमा जति बढी गाढा बस्यो, उति नै बढी श्रीमानको माया पाइन्छ”,  दाहालले भन्नुभयो ।

दाहालले विगत १० वर्षदेखि साउनको सोमबारको व्रत बस्दै आएको सुनाउनुभयो । साउन महिनाको सोमबारको व्रत बसे विवाहित जोडीहरूको सम्बन्ध सुमधुर हुने विश्वासले आफूले व्रत बस्ने गरेको उहाँले बताउनुभयो । 

विशेष गरी हिन्दु धर्मावलम्बी महिलाहरूले साउन महिनालाई भगवान् शिवको महिनाको रूपमा मान्दै आएका छ । प्राकृतिक रूपमा पनि यो महिना जताततै हरियाली हुने महिना हो । साउन महिनाभरि हरियो लुगा र रङ्ग प्रयोगमा ल्याउँदा यसले भाग्यलाई प्रभावित गर्ने धार्मिक मान्यताहरू उनीहरूमा छ । 

कतिपयहरू भने साउन महिनालाई प्रकृतिलाई आफूसँग जोड्ने विशेष महिना भएको बताउँछन् । यही भएर यो महिना हरियो रङ्ग लगाएर आफूलाई प्रकृतिसँग जोड्ने गरेको उनीहरु बताउँछन् ।

गोठाटार घर भएकी राधिका घिमिरेले धार्मिकभन्दा पनि प्राकृतिक कारण आफूले यो महिना हरियो रङ्ग लगाउने गरेको बताउनुभयो । 

“साउनमा जताततै देखिने हरियालीले आफूलाई पनि हरियोमा हराऊ जस्तो लाग्छ ,त्यसमाथि साथी सँगी सबैले हरियो लगाएपछि देखासेखीकै कारण पनि हरियो लगाउनै पर्‍यो”,  उहाँले सुनाउनुभयो ।

साउने महिनाको सोमबारलाई हिन्दु महिलाहरूले विशेष महत्त्वका मान्ने गर्दछन् । र यस महिनाको सोमबार व्रत बस्नेहरूले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्ने गर्दछन् । चलिआएको परम्परालाई निरन्तरता दिन आफूहरूले व्रत बस्ने र हरियो लगाउने गरेको कतिपयको भनाई छ । 

बानेश्वर घर भई हाल कपन बस्दै आउनुभएकी रमा गिरीले  साउन लागेसँगै  हरिया कपडा, पहेँला चुरा र मेहेन्दी सजिएर हिँड्दा आनन्द आउने गरेको सुनाउनुभयो । 

उहाँले श्रीमानको सुख, शान्ति र दीर्घायुको कामना गर्दै सोमबारको व्रत बसेको बताउनुभयो । आफूहरूले परम्परा धान्न र भगवान्को आस्थाको कारण यसो गरिरहेको उहाँले बताउनुभयो । उहाँले आफ्ना छोरीहरूलाई समेत हात भरि चुरा र मेहेन्दी लगाएर परम्परा सिकाइरहेको बताउनुभयो । 

कतिपयले चाहिँ साउन महिनामा लगाइने चुरा मेहन्दी र हरियो कपडालाई अनावश्यक तडकभडकका रूपमा लिने गर्दछन् । काभ्रे कोशिपारी घर भई हाल भक्तपुर बस्दै आउनुभएकी सुजिता अधिकारीले आजभोलि मानिसहरू अनावश्यक देखासेखीकै लागि यो सब गरिरहेको बताउनुभयो । 

“खै हाम्रो पालमा मेहेन्दी लगाउने चलन पनि थिएन । आँगन र बारी जताततै पाइने तिउरे फूलका पात हातमा दल्थ्यौँ  । अहिले तिउरीको ठाउँमा मेहेन्दीले छाएको छ ।” उहाँले भन्नुभयो । 

साउन महिना र सोमबार भगवान् शिवको महिना भएकाले यस महिनामा व्रत बसेर शिवालयमा गई भगवान् शिवको पूजाआजा गरेमा मनोकाङ्क्षा पुरा हुने कारण आफू व्रत बस्ने र  रङ्गीचङ्गी भएर हिँड्ने गरेको कीर्तिपुरकी रमिला प्रधानले बताउनुभयो । अविवाहित रहेकी उहाँले आफूले राम्रो पति पाउँ भनी व्रत बसेको बताउनुभयो  । 

पौराणिक कालमा पार्वतीले साउन महिनाभर निराहार रही कठोर व्रत बसेर ‘भगवान् शिव’लाई प्राप्त गरी खुसी भएको धार्मिक विश्वासको आधारमा आफू पनि व्रत बसेको उहाँ बताउनुहुन्छ । 

प्रधानले अत्याधिक खान खाएका कारण मानिसहरूमा विभिन्न रोग समेत देखा परेकाले व्रत बस्नु वैज्ञानिक पनि हुने बताउनुभयो । 

“स्वस्थ्य मानिस हप्तामा एक दिन व्रत बस्दा आफ्नो स्वास्थ्यलाई फाइदा नै गर्दछ, त्यसमाथि भगवान् प्रतिको आस्था त हुने नै भो” , उहाँले भन्नुभयो ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  १२ : १० बजे