दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

वडाध्यक्षको सिफारिसमा भारतीय नागरिकलाई नेपाली नागरिकता

बारा । बाराको निजगढ नगरपालिकाबाट एक भारतीयले झुटो विवरणका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएको पाइएको छ ।

निजगढ नगरपालिका १२ वडा कार्यालयले दिएको सिफारिसको आधारमा भारतको कालिङ्गपोङ्ग घर भएकी वर्ष २१ की रजनी राईलाई इलाका प्रशासन कार्यालय सिमराले गत साउन १ गते नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो । 

उनले ना.प्र. नं.३३–२–७९–००५१३ को नागरिकताको प्रमाणपत्र पाएकी छिन् । 

वडा कार्यालयले स्थानीय श्यामराज गोले (बाबु) र जिरामाया गोले (आमा) की छोरी भन्दै राईलाई नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराउन इलाका प्रशासन कार्यालय सिमरामा गत जेठ २४ गते सिफारिस पठाएको थियो । 

यसअघि वडा कार्यालयले जेठ २३ गते युवतीको जन्म दर्ताको प्रमाणपत्र तयार पारेको थियो । वडा कार्यालयको सिफारिसपछि प्रशासन कार्यालयले सर्जमिनको लागि इलाका प्रहरी कार्यालय निजगढमा पत्र पठाएको भए पनि सो पत्र इलाका प्रहरी कार्यालयमा दर्ता नगरी सिँधै मातहतको अस्थायी प्रहरी चौकी रतनपुरीमा पुगेको र चौकीबाट नै सर्जमिन गरिएको पनि खुलेको छ । 

प्रहरी चौकीको क्षेत्रमा पर्ने भएको हुँदा उसैले सर्जमिन गर्नुपर्ने भए पनि आफूलाई जानकारी नै नदिई पत्र आएको र चौकीमार्फत नै कागजपत्र तयार पारेर लगिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सञ्जीव ओलीले जानकारी दिनुभयो ।

“कार्यालयको नाममा आएको पत्र सिधै अस्थायी प्रहरी चौकीमा पुगेको रहेछ”,  प्रहरी निरीक्षक ओलीले भन्नुभयो, “उतैबाट कागजपत्र बनाएर नागरिकता बनाएको देखियो ।” आफूले पत्र अध्ययन गर्न पाएको भए झुटो विवरणको आधारमा यसरी नागरिकता बनाउन रोक्ने पनि उहाँले बताउनुभयो । 

वडा कार्यालयबाट आएको सिफारिसको आधारमा रजनीलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको र हाल वडा कार्यालयले नागरिकता रद्द गर्न अर्को पत्र पठाएपछि सो बारेमा छानबिन सुरु गरिएको इलाका प्रशासन कार्यालय सिमराका प्रशासकीय अधिकृत मोहनप्रसाद अर्यालले बताउनुभयो । 

उहाँले नक्कली आमा र बुबा बनेका दुवै जना र वडा अध्यक्ष गोलेलाई पनि सोधपुछको लागि कार्यालयमा उपस्थिति गराउन प्रहरीमार्फत बोलाइएको जानकारी दिनुभयो । 

रजनीले नेपाली नागरिकताको प्रमाणपत्र बनाएको भोलिपल्ट नै काठमाडौँबाट राहदानी समेत बनाएर लिएको बताइएको छ । प्रहरी निरीक्षक ओलीले नक्कली आमा÷बुबा बन्नेहरू हाल फरार रहेको र खोजी कार्य भइरहेको बताउनुभयो । 

भारतीय नागरिकलाई नागरिकताको सिफारिस गरेको भन्दै गाउँमा हल्ला चलेपछि वडा कार्यालयले खारेजीको लागि साउन ४ गते इलाका प्रशासन कार्यालयमा आवेदन गरेको हो । आफूहरूलाई झुक्याएर नक्कली कागजपत्रको आधारमा नागरिकताको सिफारिस बनाएर लगेको वडा अध्यक्ष गोलेले बताउनुभयो । 

“आमा–बुबा बन्नेहरूलाई चिनेको थिए, तर नक्कली छोरीलाई चिनेको थिएन” वडा अध्यक्ष ज्ञानबहादुर गोलेले भन्नुभयो, “साथीहरूको विश्वासमा परेर सिफारिसमा सहिछाप गर्दा त्रुटि भयो ।” गाउँमा हल्ला चल्न थालेपछि मात्रै नागरिकता बनाउने मान्छे भारतीय नागरिक भएको आफूले पनि जानकारी पाएको उहाँले बताउनुभयो । 

राईको बुबा आमा बनेका श्यामराज र जिरामाया सोही वडाको नेपाली काँग्रेसको वडा पार्टी सभापति सोनामसिंह गोलेका भाइ र बुहारी हुन् । 

दार्जिलिङमा रहेका नातेदारमार्फत नक्कली विवरण तयार पारेर राईलाई नेपाली नागरिकताको प्रमाणपत्र बनाउन गोले परिवारले सहयोग गरेको बताइएको छ । 

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  १० : १३ बजे