सुनको मूल्यमा नयाँ कीर्तिमान

स्वास्थ्य क्षेत्रको विश्वसनीयता बढाउन पूर्वाधार र जनशक्तिको क्षमता वृद्धि गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

​​​​​​​ काठमाडौँ। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य क्षेत्रको विश्वसनीयता बढाउन पूर्वाधार र जनशक्तिको क्षमता वृद्धि गर्नुपर्ने बताउनुभएको छ।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र स्वास्थ्य मन्त्रालयद्वारा आज आयोजित कोभिड-१९ महामारी तथा जनस्वास्थ्यका विषयहरू सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।

अध्यक्ष तिमिल्सिनाले अहिले कोभिड महामारी, मंकिपक्स जस्ता नयाँ-नयाँ सरुवा र नसर्ने रोगहरू बढ्दो क्रममा रहेको बताउँदै पूर्वाधार, जनशक्तिको क्षमता अभिवृद्धि र पूर्व तयारीको काम गर्नुपर्ने बताउनुभयो।

नेपालको स्वास्थ्य क्षेत्रको क्षमताका कारण कतिपय बिरामीहरू उपचारका लागि देशबाहिर जानुपर्ने अवस्था रहेको समेत अध्यक्ष तिमिल्सिनाले औँल्याउनुभयो। ''नेपालबाट स्वास्थ्य उपचार र स्वास्थ्य सम्बन्धी अध्ययनका लागि रकम बाहिरिइरहेको छ'', उहाँले भन्नुभयो,''यो हाम्रो स्वास्थ्य क्षेत्रको क्षमता कमजोर वा विश्वासको कमीले हो।अन्य क्षेत्रमा जस्तै स्वास्थ्य क्षेत्रमा कति रकम बाहिरिएको छ भनेर पनि अध्ययन जरुरी छ।''

स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धि तथा विश्वास बढाउनका लागि स्वास्थ्य क्षेत्रमा कार्यरतसँगै जनप्रतिनिधिको भूमिका पनि महत्त्वपूर्ण हुने धारणा उहाँले राख्नुभयो।राजनीतिक परिवर्तनका नाममा देशले लामो समय गुजारेको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले अब देशमै अध्ययन, उपचारको व्यवस्था र रोजगारीका अवसर सिर्जना गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो।

''उपचार र अध्ययनका लागि छिमेकी देशमा जाने सङ्ख्या धेरै छ'',  उहाँले भन्नुभयो, ''तर, आँखा लगायत केही रोगको सुलभ र गुणस्तरीय उपचार नेपालमा पनि हुन थालेकाले यहाँ आउने क्रम सुरु भएको छ। यो सङ्ख्या वृद्धि गर्न हाम्रो क्षमता अझ अभिवृद्धि हुनुपर्छ।''

अध्यक्ष तिमिल्सिनाले कोरोना लगायतका महामारी र अन्य रोगहरू बढ्ने क्रममा रहेकाले पूर्व तयारीका काममा सरकार र सरोकारवाला निकायको ध्यान पुग्न जरुरी रहेको बताउनुभयो।

''कोभिड लगायतका महामारीले गर्दा स्वास्थ्यमा मात्रै नभई मानसिक, आर्थिक र सामाजिक लगायतका समस्याहरू पनि बल्झिएको छ'', राष्ट्रियसभाका सांसदहरू सहभागी कार्यक्रममा उहाँले भन्नुभयो, ''स्वास्थ्यलगायत राष्ट्रिय समस्याबारे गम्भीर छलफल र समाधानका लागि हामीले चासो राख्नुपर्छ।''

अध्यक्ष तिमिल्सिनाले एकातिर कोभिड विरुद्धको खोप म्याद गुज्रेर जाने अवस्था रहेको छ भने अर्कोतर्फ कतिपय नागरिकले खोप लगाउन नमानेको रिपोर्टहरू आइरहेको बताउनुभयो। यो अवस्थाको अन्त्य गर्न र शतप्रतिशत नागरिकलाई खोप लगाउनका लागि जनचेतना फैल्याउने दायित्व सरकारसँगै जनप्रतिनिधिको पनि भएको औँल्याउनुभयो।

उहाँले अहिले पनि कोभिडको जोखिम उत्तिकै रहेको बताउँदै उहाँले स्वास्थ्यका मापदण्डको पालना गर्न आग्रह गर्दै लक्षण देखिँदा परीक्षण गर्न आग्रहसमेत गर्नुभयो।

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले देशको स्वास्थ्य अवस्थाबारे राष्ट्रिय सभाले देखाएको चासो र जनस्वास्थ्यका लागि खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्नुभयो। उहाँले अहिले सर्ने र नसर्ने रोगका कारण समस्या थपिरहेको सन्दर्भमा जनप्रतिनिधिले निर्वाह गर्ने भूमिकाले मन्त्रालयलाई मार्ग निर्देशन गर्ने अपेक्षा व्यक्त गर्नुभयो।

विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रमुख डा. राजेश संभाजीराव पाण्डवले आपत्कालीन पूर्व तयारी लाई सबल बनाउन र समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सांसदहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो। ''यहाँहरूले आफ्नो पद र जिम्मेवारीमार्फत आपतकालिन पूर्व तयारी र स्वास्थ्य सुरक्षाको सुदृढीकरणको लागि वकालत तथा नेतृत्व लिनुहुन्छ भन्ने विश्वास लिएको छु'', उहाँले भन्नुभयो।

 

उहाँले राष्ट्रियसभा र स्वास्थ्य मन्त्रालयसँग सहकार्य गर्न पाउँदा विश्व स्वास्थ्य सङ्गठनको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो।

राष्ट्रिय सभाका सांसदहरू सहभागी रहनुभएको अन्तर्क्रिया कार्यक्रममा स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनका विभिन्न स्वास्थ्य विशेषज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नुभएको छ।   

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  १२ : ३१ बजे