सुनको मूल्यमा नयाँ कीर्तिमान

काभ्रेमा कोरोना सङ्क्रमण बढ्दै

काभ्रेपलाञ्चोक ।  यहाँ दैनिक कोरोना सङ्क्रमण दर बढिरहेको पाइएको छ । 

पछिल्लो २४ घण्टामा १०३ जनामा गरिएको परीक्षणमा २० मा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।अघिल्लो दिन १८ जनामा गरिएको परीक्षणमा पाँच सङ्क्रमित फेला परेको हो । 

कार्यालयका अनुसार जिल्लामा दुई सातादेखि दैनिक कोरोना सङ्क्रमण देखिएको छ । १३ स्थानीय तहमध्ये सात तहमा सङ्क्रमण देखिएको छ । यसमध्ये सबैभन्दा बढी सदरमुकाम धुलिखेल नगरपालिकामा १३ महिलासहित २६ मा सङ्क्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा आठ सङ्क्रमित निको भएको जनाइएको छ । 

पाँचखाल नगरपालिका र बेथानचोक गाउँपालिकाको एक–एक सङ्क्रमित आइसोलेसनमा उपचाररत रहेको कार्यालय प्रमुख डा पुरुषोत्तम सेडाईँले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो दिनमा सङ्क्रमण दर बढिरहेकाले परीक्षणको दायरा बढाइँदै लगिनेछ ।

यस्तै नमोबुद्ध नगरमा छ, बनेपा नगरमा चार र महाभारत गाउँपालिकामा एक सङ्क्रमित रहेका छन् । 

हाल जिल्लामा कूल ४२ मा सङ्क्रमण रहेको हो । करिब दुई वर्ष पाँच महिनाको अवधिमा जिल्लामा हालसम्म १७ हजार ६२९ मा सङ्क्रमण देखिएको छ । यसमध्ये १९५ सङ्क्रमितको मृत्यु भएको छ । रासस

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  १० : १६ बजे