रातको १ बजेको छ । पटक्कै निन्द्रा छैन । निदाउने हर प्रयास जारी छ । अहँ ! निदाउन सक्दै सकिन । जति बिर्सिन्छु भने पनि सम्झने रोगले रतिभर छोडेको छैन । रिस र आवेगको भुङ्ग्रो मनमा दन्किरहेको छ । मुटु हल्लिरहेको छ । शरीर काँपिरहेको छ । मनमा अनेक कुराहरूले संशय पैदा गराईहेको छ । बिस ओटा हजारमा बिक्ने डिले माझीदेखि दिमाग ‘ईरिडेट’ छ । बेलाबेलामा आवेगले डिले माझीलाई ऊ भएकै ठाउँमा गएर गालै गालामा अन्धाधुन्ध हानौँ हानौँ भइरहन्छ । मुठी बटार्छु । दारा किट्छु । अहँ ! केही गर्न सक्दिन । बिस्तारै रिस मर्दै जान्छ । मुठी पनि फुक्दै जान्छ ।
आफ्नी छोरी बलात्कार भएको कुरालाई पनि किन बेप्रवाह गर्छ डिले ? के उसलाई मनमायाको अलिकति पनि प्रवाह छैन ? कि मनमाया डिलेका लागि बोझ भयो ? मनले मनलाई प्रश्न तेस्र्याउछ । न निचोड निस्कन्छ न निष्कर्ष ।
रातको २ बज्न लागिसक्यो अब निदाउनुपर्छ मनले यही अठोट गर्छ । एकफेर कोल्टे फेर्छु । आँखा चिम्लन कोसिस गर्छु । अहँ अझै सक्दिन । फेरी उहीँ बिस हजारमा बिक्ने डिलेलाई पटक पटक सम्झन पुग्छु । पटक पटक मनमायाले मर्ने धम्की दिँदा पनि आखिर छोरीको कुरै नसुनी पैसाकै पछि किन लाग्यो डिले । फेरी पनि आफ्नो अस्मिता लुटिएर न्याय नपाएकी मनमायाको त्यो रोधन सम्झन पुग्छु । मनमायाले दुई पटक मेटासिट खाएर आत्महत्याको प्रयास गरिसकी । त्यो कारुणिक दृश्य र विष खाएर बाल बाल बाचेकी मनमायालाई पटक पटक सम्झँदा मुटु कुटुकुटु काटिरहन्छ ।
दयाभाव र टिठको पेरिफेरीमा रहेर निदाउने प्रयत्न गर्छु । फेरी झल्याँस्स गन्नेमान्ने समाजका कथित भद्र भलाद्मीहरू र बलात्कारीलाई सम्झन्छु ।
एउटी अबोध मझिनीलाई गाउँको गन्नेमान्ने हेडसरको छोरोले बलात्कार गर्छ । अबोध मनमायाले न्यायका लागि याचना गर्छे, चिच्याउँछे कराउँछे अह उसको याचनाको चित्कार सुन्ने कुनै देउता छैन । आफ्नो पीडा भुलाउने ऊसँग कुनै मन्त्र छैन । उ त केबल अबोध छे अबला छे । मनमाया न्याय पाउनेमा अलिकति पनि अपेक्षित छैन । खलखल्ति पसिना छुट्छ । एक पटक खुइय गर्छु । बिर्सन खोज्छु सक्दिन ।
मनमाया घरीघरी मर्ने निर्णयमा पुग्छे । तर,सक्दिन । आफूलाई पढाएको शिक्षकको छोराले आफूलाई यतिसम्म नीच काम गर्छ भनेर उसले कहिल्यै सोचेकी थिइन । ऊ दिक्क छे । कक्षा ५ पनि राम्रोसँग पढ्न नपाएकी मनामायालाई बलात्कार सम्बन्धी कानुनको कुनै जानकारी छैन । न उ आफ्ना पीडा कसैलाई सुनाउन सक्छे । न उसका कुरा सुनिदिने कोही भद्र भलाद्मी नै छन् । उसका लागि त यो समाज न ज्युँदो छ न परिवार नै ।
जङ्गलमा घाँस काट्न गएकी मनमायाको जङ्गलमै आफ्नो अस्मिता लुटिन पुग्यो । बिचरी उ पशुको आहारका लागि घाँस काट्न गएकी थिई र सिकार भई मानवरूपी पशुबाट। घाँस काट्दा काट्दै हेड सरको छोरोले पछाडिबाट च्याप्प समात्दा पत्तै पाइन उसले । थाहा पाएपछि सक्दो प्रतिकार गरी अहँ तर केही चलेन आखिर नर पशुले उसको अस्मिता लुटेरै छाड्यो ।
मनमाया आफ्नो अस्मिता लुटिएको चित्कार परिवारलाई गर्छे । अशिक्षित परिवार मनमायालाई नै दोष थुपार्छ र उल्टै मनमायालाई कुट्छ । कति निर्दयी परिवार उफ्…! बिचरी मनमाया कुटाई खान बाध्य छे । आफ्नो पीडा दबाउन बाध्य छे । आजकल डिलेले मनमायालाई घरबाट कतै निस्कन दिएको छैन । रक्सीको मातमा छोरीलाई नै दोष थुपार्छ र मरणासन्न हुने गरी कुटिरहन्छ । बिचरी मनमाया चुपचाप पीडा र कुटाई सहन बाध्य छे ।
गन्नेमान्ने समाजका बुद्धिजीवीले केश बाहिर गए मनमायालाई सजाय हुन्छ भन्दै तर्साएका छन् । पैसा र रक्सीको लोभले डिले पनि तर्सिएको छ । अझ उसलाई घटना बाहिर ल्याए आफ्नो बेजत हुने झन् डर छ । कस्तो समाज ? कस्तो बुद्धिजीवी ? कस्तो डिले ? अनि कस्ती मनमाया ? उराठ लाग्छ । अब त न निदाई भएन सुत्न खोज्छु । अहँ सक्दिन । सक्दै सक्दिन ।
बिहानीपख भइसक्यो फेरी उहीँ घटना मात्र घुमिरहेको छ । हेड सरले २० हजार पैसा दिएर बलात्कार भएको नकहन मुखमा बुझो लगाइसकेका छन् । डिले पनि पैसा र रक्सी पाएपछि चुप छ । गाउँका भद्र भलाद्मीहरू मुखमा टेप लगाएर बसेका छन् । बलात्कारी शानले छाती पिटेर पुरुषार्थको झ्याली पिट्दै हिँड्छ । एउटी अबोध महिला बलात्कृत हुन्छे । बाउ पैसा र रक्सीमा बिक्छ । छोरी याचनाको चित्कार गर्छे । गन्नेमान्ने समाज बलात्कारको उपहास गर्छ । बलात्कारी खुलेआम गर्भ गर्दै हिँड्छ । उफ् ! म थकित छु । एकफेर कोल्टे फेर्छु ।
अहँ ! मनमायाले न्याय पाउनै पर्छ । मनले यही भनिरहेको छ । कोही वकिलसँग मनमायाको कुरा राख्ने निर्णय गरे । तर,कसलाई भन्ने को छ मैले चिनेको वकिल,ठम्याउन सकिरहेको छैन । केही समयको सोचाई पछि मेरो आफ्नै साथी अनिश नेपाल पूर्व प्रधानन्यायधिसको घरमा बस्ने गरेको याद आउँछ । फेरी उ त काठमाडौँ जिल्ला अदालतमा पनि जागिरे पनि छ । अब उसकै सम्पर्कबाट वकिल खोज्ने निर्णयमा पुगे । मनमनै फेरी दृढ सङ्कल्प गरे मनमायाको न्यायका लागि मैले लड्नै पर्छ । पसिनाले सेन्डो निथ्रुक्कै भिजेको छ । जुरुक्क उठ्छु र सेन्डो खोल्छु एक गिलास पानी घुटुघुटु पार्छु । र,सुत्छु । खै कति बेला निदाएछु पत्तै पाइन ।
प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार ५ : १४ बजे
प्रतिक्रिया