हाम्रा सांस्कृतिक पर्वहरू र लैङ्गिकता  

प्रत्येक चाडपर्वको आ–आफ्नै महत्त्व रहेको हुन्छ । मिठो खाने, राम्रो लगाउने, रमाइलो गर्ने र उपवास, व्रत बस्ने आदि प्रायः सबै चाडपर्वका विशेषताहरू हुन् । नाग पञ्चमीबाट सुरु भएर नेपालमा मनाइने पर्वहरूमा जनै पूर्णिमा, गौरा, कृष्ण जन्माष्टमी, हरितालिका तीज, ऋषि पञ्चमी, नवदुर्गा, दसैँ, तिहार, छठ, स्वस्थानी र होली आदि पर्दछन् । 

नाग पूजाको दिन नागको पूजा पुरुषहरूले गर्नुपर्दछ भन्ने मान्यता रहेको पाइन्छ । यसमा सर्प दंशबाट कसैलाई पनि गाह्रो नपरोस् भनेर सर्पहरूका राजा नागको पूजा गरिने मान्यता रहेको छ । यदि यसो हो भने त सबैले नागको पूजा गर्नुपर्ने हो । पुरुषले मात्र नागको पूजा गर्नुपर्दछ भन्ने मान्यता रहेको होला ? यस्तो प्रश्न आवश्यक छ । 

आजभोलि नागका चित्र बजारमा किन्न पाइन्छ । तर २५ वर्ष अगाडि यस्तो चलन थिएन । हाम्रो गाउँमा पण्डित बा बाहेक कसैले यस्तो गर्दैनथे । म सानो छँदा आफैले सेतो कागजमा नागको चित्र बनाएर आफ्नो गाउँघरमा नागको फोटो टाँसेर यो मान्यतालाई फरक बनाएकी थिए । पढेलेखेको कन्या हो ठिकै छ भनेर मलाई ब्राह्मणलाई जस्तै गरेर टिका लगाई बढीमा एक मोहर घटीमा एक सुका दिने गर्दथे ।  यस्तो काम अरू ठाउँमा कसै महिलाबाट भयो कि भएन होला ? जिज्ञासा लागिरहन्छ ।

जनैपूर्णिमा पुरुषहरूको जनै फेर्ने तथा मान्यवरबाट पूजा गरेको रक्षा बन्धनको धागो बाँध्ने गरिन्छ । महिलाहरूले जनै लगाउने चलन किन नबनाएको होला ? पुरुषहरूमा पनि सबैलाई जनै लगाउने अधिकार किन नदिइएको होला ? अनि रक्षा बन्धन बाँध्दा महिलाहरूलाई किन देब्रे हातमा मात्र बाँध्ने बाध्यता बनाइएको होला ? फेरि मान्यजन त महिलाहरू पनि त हुन किन पुरुषहरूले मात्रै  रक्षा बन्धनको धागो बाँधिदिने चलन भएको होला ? यस्तो काम अरू ठाउँमा कुनै महिलाबाट भयो कि भएन होला ? यी विषयमा सधैँ कौतूहल लागिरहन्थ्यो मलाई । 

कृष्ण जन्माष्टमीमा पनि व्रतका क्रममा यस्तै फरक देखिन्छ । कृष्ण भगवान् त सबैका हुन् यस दिन तर प्रायः महिलाहरू मात्रै  व्रत बस्ने गरेको पाइन्छ । यति मात्र कहाँ हो र महिलाहरू त धेरैजसो बारहरू, एकादशी, औँसी, पूर्णिमा र अन्य पर्वहरूमा पनि प्रायः व्रत बस्ने गरेको पाइन्छ । स्वास्थ्यको लागि उपवास  बस्नु लाभदायक नै हुन्छ, तर पानी पनि नपिउने गरी श्रीमानको दीर्घायुको लागि, धर्म, मोक्ष, प्राप्त गर्न रोग नै निम्त्याउने गरी लगातार धेरै दिन व्रत गर्ने महिलाहरू पनि धेरै नै पाइन्छ । 

आजभोलि श्रावण महिनाको सोमबारका दिन निराहार व्रत बस्ने चलन बढ्दो  रूपमा पाइन्छ । यसमा साना साना नानीहरूको पनि आशक्ति बढेको देखिन्छ तर बाबुहरूले शिव मन्दिर धाएको देख्न त्यति पाइँदैन । अचम्म के छ भने महिलाहरू मात्र किन गतिविधि लागेका होलान् ? आखिर समृद्ध समाज निर्माणका लागि महिला तथा पुरुष दुवैको मन मिल्ने राम्रो जोडी मिल्नु र सुस्वास्थ्य तथा दीर्घजीवी हुन  त्यतिकै जरुरी हुन्छ । माघ महिनामा महिना दिन सम्मको लामो स्वस्थानीको व्रत बस्ने र शाली नदी नुहाउने रौनक चलिरहेको देखिन्छ । चाहे कोरोनाको महामारीले सहरलाई नै सुनसान किन नपारेको होस् । छोरा नजन्मिएको चिन्ताले ग्रस्त मनहरूलाई स्वस्थानीको व्रतबाट पुत्र लाभ हुने र त्यसबाट मरणोपरान्त स्वर्गको बास गर्न पाइने आशामा जस्तोसुकै कठोर तपस्या गर्न तयार हाम्रा आमा, दिदी, बहिनीहरू आफ्नो स्वास्थ्यभन्दा पनि श्रीमान्को सुस्वास्थ्य र दीर्घ आयुका लागि चिन्तित देखिनुहुन्छ । पुरुषहरूले पनि त राम्रा श्रीमती पाउन र श्रीमतीको सुस्वास्थ्यको कामना गरेर उपवास बसेर मन्दिर जाने गरेको देख्न पाए कति रमाइलो लाग्थ्यो होला ?

सुदूरपश्चिममा मनाइने गौरा पर्वमा पनि महिलाहरूले नै उपवास बसी कुवाबाट तामाको भाँडोमा पानी ल्याएर पञ्चबिरुडा भिजाएर सफा गरिएको घरको कुनामा राख्दछन् । षष्ठीको दिन त्यस ठाउँका कन्या कुमारीहरू नै खेतमा गएर धानसँगै उम्रेका सावाघाँस, कुश, एैसेलु, बेलपत्र र बलजस्ता घाँसबाट गौरादेवीको मूर्ति बनाउँछन् । विवाहित महिलाले उपवास  बसी सगन, फाग, गीत र देउडा गाउँदै नाकको टुप्पोदेखि सिउँदोभरि टिका लगाएर महादेवको र पार्वतीको पूजा गर्ने र रातभरि जाग्राम बस्ने चलन छ । 

पूजा गर्दा जम्मा भएका फलफूलहरू आकाशमा फाल्ने र त्यो छोपेर खाएमा छोरा जन्मिने मान्यता भएकाले गर्भवती महिलाका श्रीमानहरू त्यो छोप्न हानथाप गर्ने चलन छ । पछि नाचगान गर्दा भने पुरुषहरू पनि सहभागी हुने चलन रहेको पाइन्छ । 

गौरा पर्व मनाउनका लागि पनि महिलाहरूले नै दैनिक कामको अतिरिक्त २–३ दिनका लागि बस्तुभाउहरूलाई घाँसपात पुर्‍याउनुपर्ने हुन्छ । तर सबै काम सम्पन्न गरेर घरको व्यवस्था मिलाउने यस्ता महिलाहरूको भने जन्म होस्  भनेर  माथिबाट खसेको फल समाउन कसैले हानथाप नगर्ने किन होला ? हाम्रो समाजमा छोराप्रतिको यस्तो आशक्ति कहिलेसम्म रहने होला ?

तीजलाई महिलाहरूको पर्वको रूपमा हेर्ने बुझ्ने गरिन्छ तर घर गएका छोरी—बुहारीहरूलाई माइत जान पाउने हो कि होइन भन्ने तनाव भइरहन्छ । जान पाउने भएमा घरको चाँजोपाँजो मिलाएर मात्र जान पाइने हुन्छ । दैनिक घरधन्दाको काम बाहेकका ढिकी जाँतोको काम, खेतीपातीको काम, बस्तुभाउको लागि एक हप्तालाई पुग्ने घाँसपातको जोहो गरेर मात्र फुत्कन पाइने हुँदा करिब पन्ध्र दिन अगाडिबाट नै कामको धपडी परिराखेको हुन्छ । 

पहिले पहिले  मोटर बाटोको विकास त्यति नभइसकेको अवस्थामा त माइती जानु पनि पूरा एक दिन हिँड्न पर्ने हुन्थ्यो । कति त एक दिनमा पनि पुगिँदै थियो । वर्ष दिनमा तिन—चार दिनका लागि पाएको बिदामा पनि तीजको दिनमा त उनै श्रीमानको  दीर्घायु  र सुस्वास्थ्यको कामना गरेर व्रत बसेर मन्दिर जाने चलन, जति निराहार बस्न सक्यो त्यति राम्रो हुन्छ भनी शरीरलाई चाहिने पानी पनि नपिउँदा कतिपय दिदीबहिनीहरू बेहोस भएको पनि सुन्नमा आउँछ । आखिर मीठो चोखो खाने दिनमा त पुरुषहरू पनि बराबरी सहभागी भएका हुन्छन् । 

अब फेरि ऋषि पञ्चमीको कुरा त झन् महिनावारी हुँदा नजानेर वा झुक्किएर कतै छोइछुतो भएको भएमा पाप कटाई पाऊँ भनी खालि पेट बस्ने, नदीमा गई तीन सय ६५ पटक नुहाउने, तीन सय ६५ वटा दतिवन चपाएर दाँत सफा गर्ने र ऋषि मुनीहरूको पूजा गर्ने प्रचलन रहेको छ ।  

सरकारले पनि यस दिन महिला कर्मचारीहरूलाई बिदा दिने चलन भर्खरैसम्म थियो । कहलिएका ठुला हस्पिटलहरूमा काम गर्ने नाम चलेका विद्वान डाक्टरहरूले पनि नछुने भएको कति दिन भयो ? भनेर सोध्ने चलन वर्तमानमा पनि छ । 

यसो गर्दा महिनावारीमा महिलाहरूले छोइछुतो गर्न हुन्न भन्ने मान्यतालाई प्रश्रय मिलेको देखिन्छ । श्रीमतीलाई सन्चो नहुँदा, मेरा लागि दीर्घायु  र सुस्वास्थ्यको कामना गरेर  व्रत बस्दा मबाट कुनै सहयोग नभएकोमा, कहिलेकाहीँ मद्यपान गरी घरमा आएर श्रीमतीलाई जानीजानी कुटेर घाइते बनाएकोमा, यौन हिंसा गरेकोमा क्षमा पाऊँ भनी यस्ता खालका पूजा आराधना गर्ने, मन्दिर जाने, व्रत बस्ने पर्व छोरा मानिसका लागि किन भएनन् होला ? मलाई सधैँ कौतूहलले छाडेन । 

दसैँमा पनि दैनिक खेतीपाती, बस्तुभाउको व्यवस्थापन बाहेक सोह्र श्राद्ध र नौरथाका लागि घर लिपपोत गर्नेदेखि ढिकी—जाँतो, कपडा धुने, दुना—टपरी जुटाउने, पूजा सामग्री तयार गर्ने, निम्तारुदेखि पण्डित बाजेलाई छुट्टाछुट्टै  खाना तयारी गर्ने सबै काम महिलाहरूकै जिम्मामा पर्दछ । यति धपेडीका साथ काम गर्नुपर्ने हुन्छ कि उनीहरूलाई फुरौला उफ्रिए जसरी खट्नु पर्ने हुन्छ । पर्व मनाउनुभन्दा पनि कसरी काम फत्ते गर्ने भनी शरीरलाई यस्तो गतिमा चलाउन पर्ने हुन्छ कि उनीहरूको लागि कुनै योगाभ्यासको जरुरी पर्दैन । 

यति गरेर श्रीमान्, सन्तान, सासू—ससुरा, देवर—जेठाजु, नन्द र अमाजु छरछिमेक र इष्टमित्रलाई चित्त बुझाउने महिलाहरूको श्रीमान्भन्दा अगावै मृत्यु भएमा श्राद्ध समेत गर्न नपर्ने चलन बनाइएको छ । तर श्रीमान्को अगाडि नै मृत्यु भएमा श्रीमतीले बाचुन्जेल  सेतो पहिरनमा बसी मिठो चोखो र पोषणयुक्त परिकार, खाना त्याग्नु पर्ने चलन चलाइएको छ । 

सन्तानका लागि आमा र बुवाको भूमिका बराबरी नै हुन्छ । त्यसमा पनि आमाको दुःख कति मात्रमा बढी हुन्छ भन्ने कुरा छोरी मान्छेलाई आफू आमा बनेपछि मात्र थाहा हुन्छ । पुरुषको मात्र श्राद्ध गर्ने  प्रचलन कसरी चल्यो होला ? जान्ने मन लागिरहन्छ ।

तिहारमा पनि भाइ पूजाको लागि सबै खाले तयारी गर्न महिलाहरूलाई धपेडी परेको हुन्छ । दाजुभाइ र दिदीबहिनीहरू बीचमा हार्दिकता हुनु असाध्यै राम्रो पक्ष हो ।  हार्दिकता सबैले सबैका लागि गर्न जरुरी हुन्छ । भाइटिका नामकरण भएसँगै यसको महिमा पुरुषहरूको मात्र चाड हो भन्ने हाम्रो समाजको बुझाइ रहेको छ । 

दिदीबहिनीहरूलाई घरधन्दा सहित १५ दिन अगाडिदेखि नै रोटी, मिठाई बनाउने घर सफा गर्ने, फूल माला, उपहारका सामग्रीहरू तथा भाइटिकाको जोहो गर्ने चटारोका साथै  काग पूजा गर्ने, नरके फाल्ने, कुकुर तिहार तथा गाई पूजा, लक्ष्मी पूजा गर्ने जिम्मेवारीले गर्दा  प्रत्येक पल धपेडीमा बितेका हुन्छन् । उनीहरू न त देउसी खेल्न पाउँछन् न त हेर्न नै । पुरुषहरू भने १५ दिन अगाडिदेखि नै जुवा तासमा जम्नुका साथै भैलो  खेल्ने मनोरञ्जनमा रमेर समय बिताउँछन् । श्रीमानहरू समयमा खाना खान पनि नआइदिँदा महिलाहरू भोक भोकै काममा खटिएका हुन्छन् ।

छठ पर्वमा त झन् महिलाहरू कति दिनदेखि सरसफाइ र घर शुद्धतामा लागि परेका हुन्छन् । कति घण्टादेखि निराहार बसेर चिसो पानीमा डुबेर बस्ने तथा सूर्य भगवान्लाई जल तथा अर्घ चढाएर मात्र पूजाको प्रसाद खाने गर्दछन् । 

होली पर्वमा पनि महिलाहरू मिष्टान्न परिकारहरू बनाउने तथा सरसफाइ र शुद्धतामा खटिइराखेका हुन्छन् । विवाहित महिलाहरू त घरधन्दाबाट फुर्सद पाउँदैनन् । इष्टमित्र तथा नातागोताको लागि खाना, परिकार बनाउँदैमा उनीहरूको होली खेल्ने समय नै निस्किँदैन । 

यसरी मोटामोटी रूपमा चाडपर्वहरू मनाउने तौरतरिकाहरूलाई हेर्दा महिलाहरू फोहोर सफा गर्ने, पुरुषहरूका लागि सबै कुराहरूको तयारी गरी चाडपर्वको रौनक बढाउने व्यवस्था गरिदिने र महिला भएकै कारण पाप कटाउने र अर्को जन्ममा छोरा भएर जन्म लिन पाऊँ भनी पटक—पटक उपवास बसेर  पूजा—आराधना गरिरहनु पर्ने यस्तो परम्परा सिकाउने प्रथा कहिलेसम्म रहला ? 

महिलाहरू सिर्जनाका स्रोत, ममता र  सहनशीलताका खानि, उत्प्रेरणाका स्रोत तथा  समाज परिवर्तनका संवाहक हुन् । यिनीहरूको अस्तित्वविना मानव समाजको परिकल्पना समेत गर्न सकिँदैन । तर, हजारौँ हजार वर्षदेखि महिलाहरू पुरुष प्रधान पितृसत्तात्मक र विभेदकारी स्थितिको  सिकार हुँदै आएका छन् । 

विश्राम, खाना, मनोरञ्जन, शान्ति र अमन—चयन त मानव जाति सबैका लागि उत्तिकै महत्त्वको हुन्छ । आखिर एक रथका दुई पाङ्ग्रा त बराबर चल्नुपर्ने हुन्छ । एउटा पाङ्ग्रा मात्र धेरै गुडेमा त छिट्टै बिग्रिन्छ र रथ लामो समय गुड्न सक्दैन होला । 

परम्परागत रूपमा चल्दै आएका राम्रा चाल चलनहरूलाई निरन्तरता दिनुपर्दछ । सबै अन्धविश्वास संस्कृति होइन र सबै परम्परा अन्धविश्वास पनि होइनन् । विभेदकारी र अन्धविश्वासी कुराहरूलाई सुधार गर्दै सभ्य र समतामा आधारित संस्कृति निर्माण गर्दै जानुपर्दछ ।

  

 

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ९ : ३७ बजे