सर्केगाड गाउँपालिकाको रिपगाउँमा चट्याङ लागेर ५० बाख्रा मरे

सिमकोट । हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको रिपगाउँमा चट्याङ लागेर ठुलो सङ्ख्यामा बाख्रा मरेका छन् । चट्याङले सर्केगाडको वडा नं २ का ५० भन्दा बढी बाख्रा मरेका छन् भने एक जना घाइते भएका छन् ।

रिपको खानी भन्ने स्थानको खर्कमा बाख्रा लगेका बेला परेको चट्याङमा परेर दुई जनाका ५० बढी बाख्रा मरेको सर्केगाड वडा नं २ का वडाध्यक्ष सिद्ध कार्कीले जानकारी दिनुभयो । 

वडाध्यक्ष कार्कीका अनुसार चट्याङले घाइते भएका छक्का कार्कीको अवस्था अहिले सामान्य हुँदै गएको छ । चट्याङ लागेर घाइते हुने बित्तिकै पिठ्युँमा बोकर रिपस्थित मूल घरमा ल्याइएका कार्कीको अवस्था अहिले सामान्य हुँदै गएको हो ।

खर्कमा अचानक परेको चट्याङमा परी स्थानीय कार्की र लुड्प्या महताराका ५० बढी बाख्रा तथा दुई गाई गोरु मरेका छन् । चट्याङ परेको स्थान गाउँबाट टाढा भएकाले क्षतिको विस्तृत विवरण नआएको वडाध्यक्ष कार्कीले बताउनुभयो ।रासस

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ७ : १४ बजे