करको दर हेरफेर गरेर देशका लागि घात हुने काम नगरेको जनार्दन शर्माको दाबी 

काठमाडौँ । संसदीय छानबिन समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग आज बयान लिएको छ ।

सिंहदरबारमा लिइएको बयानका क्रममा शर्माले करको दर हेरफेर गरेर देशका लागि घात हुने काम नगरेको दाबी गर्नुभएको हो ।

उहाँले नियम कानुन र तोकिएको मापदण्ड अनुसार नै करका दर हेरफेर गरेको बयान समिति समक्ष दिनुभएको छ । 

“नियम कानुन र तोकिएको मापदण्ड अनुसार नै करका दर हेरफेर भएको हो । कुनै व्यक्तिको विवेक अनुसार करको दर तलमाथि भएको हैन । करको दर हेरफेरले बाहिर आए जस्तो नेपाली उद्योग नै बन्द हुने अवस्था छैन । नयाँ बजेट उत्पादन, रोजगारी र आत्मनिर्भर तिर जाने किसिमको छ ।” बयानका क्रममा शर्माले भन्नुभएको छ । उहाँले  बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न नरहेको दोहोर्यानुभएको छ । 

शर्मामाथि छानबिनका लागि गठन भएको समितिले शर्मालाई बयानका लागि आज समितिमा बोलाएको थियो । बजेटमा करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माबारे छानबिन गर्न संसद्ले संसदीय विशेष समिति गठन गरिएको थियो भने तत्कालीन अर्थमन्त्री शर्माले राजीनामा दिनुभएको थियो ।

संसदीय विशेष छानबिन समितिमा सांसदहरू लक्ष्मणलाल कर्ण, खगराज अधिकारी, देवप्रसाद गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, शक्ति बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो, सुरेन्द्र यादव र मानबहादुर विश्वकर्मा सदस्य हुनुहुन्छ ।

शर्मामाथि बजेट सार्वजनिक हुने अघिल्लो रात गत १४ जेठमा ‘अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराई करका दर हेरफेर गरेको’ आरोप छ ।

यसअघि, गत मङ्गलवार समितिले बजेट निर्माणमा संलग्न अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीसहित १० जनासँग छलफल गरिसकेको छ ।

 

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  १० : १८ बजे