उच्च अदालत जनकपुरद्वारा ४९ प्रतिशत मुद्दा फर्छ्योट

जनकपुरधाम ।  उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०७८/७९ मा ४९ दशमलव १५ प्रतिशत मुद्दा फर्छ्योट गरेको छ । 

आव २०७८/७९ मा कायम भएका चार हजार ७२४ मुद्दामध्ये दुई हजार ३२२ मुद्दा फर्छ्योट गरिएको थियो । 

अदालतका रजिष्ट्रार खङ्गराज अधिकारीका अनुसार आव २०७७/७८ देखि जिम्मेवारी सरेर आएका दुई हजार ४६६ मुद्दामध्ये एक हजार ७४४ र आव २०७८/७९ मा नयाँ दर्ता भएका दुई हजार २५८ मुद्दामध्ये ५७८ मुद्दा फर्छ्योट गरिएका थिए । 

अघिल्लो आवबाट जिम्मेवारी सरेर आएका ७२२ र आव २०७८/७९ मा नयाँ दर्ता भएका मुद्दामध्ये एक हजार ६८० मुद्दा फर्छ्योट गर्न बाँकी रहेको अधिकारीको भनाइ छ । 

आव २०७८/७९ मा सरल किसिमका १२२, सामान्य किसिमका ४५६, विशेष किसिमका ९९७ तथा मार्ग समूहमा नपर्ने/डिसीएम लागू हुनुपुर्वका ७४७ मुद्दा फर्छ्योट भएका छन् ।  

आव २०७७/७८ मा सो अदालतले ३३ प्रतिशत अर्थात् एक हजार २१६ मुद्दा फर्छ्योट गरेको थियो भने आव २०७६÷७७ मा ५२ दशमलव २० प्रतिशत अर्थात् दुई हजार ७२ मुद्दा फर्छ्योट गरेको थियो । सो अदालतले आव २०७५÷७६ मा सबैभन्दा बढी ७२ दशमलव ९६ अर्थात् तीन हजार २१२ मुद्दा फर्छ्योट गरेको थियो । 

कोरोना महामारी, कानुन व्यवसायीको आन्दोलन र त्यसपछि न्यायाधीशहरूको सरुवालगायत कारणले अपेक्षित रूपमा मुद्दाको फैसला गर्न नसकिएको अदालतका कामु मुख्य न्यायाधीश विनोद शर्माले बताउनुभयो । अघिल्लो आवको तुलनामा यस वर्ष बढी मुद्दा फैसला गर्न सफल भएको उहाँको भनाइ छ ।  रासस

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ९ : ५५ बजे