अब इन्जिनियर बन्न अध्ययन सकिएपछि लाइसेन्स लिनु पर्ने 

काठमाडौं । नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ संशोधन गर्न बनेको विधेयक संघीय संसदबाट पारित भएको छ । पारित विधेयकमा मुख्यतस् : इन्जिनियर बन्नका लागि स्नातकसम्मको अध्ययन सकाएपछि लाइसेन्स लिनुपर्ने र लाइसेन्स लिन परीक्षा पास गर्नुपर्ने प्रावधान छ । 

विधेयकअनुसार डाक्टर र नर्सलेजस्तै इन्जिनियरहरूले लाइसेन्स परीक्षा उत्तीर्ण गरेपछि मात्रै सरकारबाट इन्जिनियरको दर्जा पाउनेछन् । यसका लागि नेपाल इन्जिनियरिङ परिषद्ले परीक्षा लिनेछ । 

२९ जेठ २०७६ मा दर्ता भएको यो विधेयक राष्ट्रिय सभाबाट १४ पुस २०७६ मा पारित भएर प्रतिनिधिसभामा आएको थियो । राष्ट्रिय सभाबाट आएको ३० महिनापछि प्रतिनिधिसभाले पनि पारित गरेको हो । 

प्रतिनिधिसभाबाट पारित यो विधेयक फेरि राष्ट्रिय सभामा जान्छ । प्रतिनिधिसभाले गरेको संशोधन राष्ट्रिय सभाले स्वीकार गरेको खण्डमा राष्ट्रिय सभाका अध्यक्षबाट प्रमाणित हुँदै प्रमाणिकरणका लागि राष्ट्रपतिकहाँ पुग्छ ।

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि इन्जिनियरिङ लाइसेन्स लिन परीक्षा पास गर्नुपर्ने व्यवस्था सहितको यो विधेयक ऐनका रुपमा कार्यान्वयनमा आउँछ ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  २ : ४२ बजे