खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

श्रुतिसम, भिन्नार्थक गठबन्धन धोखा हुनेछ 

नेपालमा पिपलपाते नेताका रूपमा ख्याति कमाएका माओवादी सुप्रिमो कमरेड प्रचण्डको भारत भ्रमणपछि नेपाली राजनीतिमा केही नयाँ राजनीतिक बाछिटाहरू छिरोरिएका छन् । यी बाछिटाहरू बढेर बग्ने हो वा खडेरीमा सुक्ने र बिलाउने हो यो समयको गर्भमा नै छ । सत्ताका लागि साह्रै खरिएकाहरू यही बाछिटाकै चिसोबाट पसिना सुकाउन लाग्लान् र सन्तोष गर्लान् । सबैतिरको बाछिटा सँगालिएर सानोतिनो भेल नै पनि बग्ला । यसरी बगेको हिलोमा माछा मार्ने दाउ ढुकेर बसेकाहरूका लागि ठुलो उपलब्धि पनि बन्न सक्दछ । 

विगतमा चीनसँगको निकटताका कारण तुलनात्मक रूपमा बलियो मानिएका प्रचण्ड पछिल्लो समय भारतका लागि असल र भरोसिला मित्र बन्न खोजेको देखिँदै छ । खास गरी केपी शर्मा ओली नेतृत्वको तत्कालीन नेकपाको सरकार ढलाएर देउवा नेतृत्वमा सरकार गठन गर्ने सन्दर्भमा प्रचण्डले दिएको अभिव्यक्तिमा प्रयोग भएको कम्फर्टेबल सरकारको विषय चर्चित नै रहेको छ । 

यहीँदेखि चीनको विपरीत ढल्किएका प्रचण्डले एमसीसी पारित हुनुभन्दा करिब एक साता अघिसम्म भित्रभित्र अरू नै भए पनि बाहिर चीनकै नजिक देखिने क्रियाकलाप गरेको विषय बिर्सिइसकिएको छैन । प्रधानमन्त्री देउवा र एउटा पार्टीको अध्यक्षका हैसियतमा कमरेड प्रचण्डले कूटनीतिक परम्परा र मर्यादा विपरीत एउटै पत्रमा हस्ताक्षर गरी एमसीसीमा मुख्यालयमा चढाएको कायलनामा छताछुल्ल हुँदा पनि उनको एमसीसी विरोधी अभिनय कायमै थियो । आफ्ना स्वामीभक्त क्रान्तिकारीहरूलाई काठमाडौँको माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्म उफारेर, सुरक्षाकर्मीहरूमाथि सक्दो तम देखाएर खासा राष्ट्रवादी देखिने कसरत गरेकै हुन् । त्यति बेला एमसीसीका पक्ष वा विपक्षमा रहेको जनमतलाई सङ्लिन नदिएर धमिलो पानीमा माछा मार्ने दाउमा खेलेकै हुन् । यहाँसम्म कि अमेरिका र चीन दुवैले विज्ञप्ति निकाल्नुपर्ने परिस्थिति सिर्जना गरेकै हुन् । सदन सङ्घर्षमै रहेको प्रमुख प्रतिपक्षको सहभागिताविना नै एमसीसीको तमसुकमा १२ बुँदे चिर्कटो नत्थी गरी एमसीसी पारित गरेपछि चीनसँगको विश्वसनीयता गुमाएकै हुन् । यसबाट उनको मनोविज्ञानबारे सहज अनुमान लगाउन सकिने कुरा के हो भने देशको हित—अहित जेसुकै होस्, स्वयं प्रचण्डलाई चीनबाट कुनै खतरा छैन र अमेरिकाबाट सुरक्षा सहज छैन । यस कारण उनी चीन, चिनियाँ कम्युनिष्ट पार्टी, चिनियाँ व्यवस्था र सहयोगभन्दा दक्षिण पश्चिमतिरको सम्बन्ध बलियो र विश्वसनीय बनाउन चाहन्छन् । 

अहिले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओको नेपाल भ्रमण लगत्तै आरजू देउवा भारतमा रहेकै बेला प्रचण्डको भारत भ्रमणका सबै पक्ष खुलेको छैन । जे जति खुल्नमा आएको छ, त्यो नै बाछिटाको रूपमा छ । प्रचण्डले सञ्चार माध्यममा भनेका कुराले देशभक्त नेपालीहरूलाई झस्काउने खालको छ । भनिएअनुसार उनले भारतको सत्ताधारी दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा सो पार्टीसँगको सम्बन्ध विस्तारका लागि भारत भ्रमण भएको हो । त्यहीँ आरजूसँगको भेटघाटको आशय के हो ? चिनियाँ कम्युनिष्ट पार्टीसँग राम्रो सम्बन्ध रहेको भनिँदै आएका प्रचण्डलाई एकाएक भारतीय जनता पार्टीले किन निम्त्यायो ? अनि उनले किन त्यहाँ वर्तमान गठबन्धनको दीर्घ जीवनको कुरा गर्नुपर्‍यो ? के वर्तमान गठबन्धनको जबाफदेहिता त्यतै हो ? भविष्यको गठबन्धनको वचनबद्धता पनि त्यतै हो ? यसरी मात्र हेर्दा पनि यो गठबन्धन, प्रचण्ड र देउवाहरूको राजनीतिको जरो भेट्न गाह्रो पर्दैन । 

तर, प्रचण्ड भारत भ्रमणबाट फर्के लगत्तै गठबन्धन दलमा सक्रियता बढेको छ । यस सक्रियतामा बामदेव गौतमको समेत सहभागिता रहेको छ । समाजवादी गठबन्धन निर्माण गर्ने विषय उछालिएको छ, जसमा नेपाली काँग्रेसको नेतृत्वको नेतृत्व रहने छ । त्यस्तै वाम गठबन्धनको चर्चा पनि चलाइएको छ । यसरी चर्चामा रहेको वाम गठबन्धन एमाले बाहेकको हुने चाँजोपाँजो मिलाइँदै छ । केही भएन भने नेपाली काँग्रेस र माओवादीबीचमा मात्र भए पनि गठबन्धन हुने गरी कुरा अघि बढिरहेको देखिन्छ । 

चुनावमा केही ठाउँ विशेषमा तालमेल गर्ने कुरा हुनै नहुने विषय होइन । सिद्धान्त, विचार मिल्नेहरूका बीचमा एकता या गठबन्धन हुनु झनै राम्रो विषय हुन सक्दछ । सिद्धान्त, विचार नमिल्नेहरूका बीचमा गरिने गठबन्धनबाट जनताले कस्तो विकासको आस गर्ने हो ? गठबन्धन देशको आवश्यकताले गर्ने हो कि पराइको आदेशमा गर्ने हो ? 

सन्तुलित परराष्ट्र सम्बन्ध, स्वाधीन र स्वाभिमानी राजनीति भत्काउन र अरूलाई रिझाउनका लागि गरिने गठबन्धनले मुलुकको हित गर्नै सक्दैन । जनादेश आफ्नै बलबुतामा आफ्नै सिद्धान्त, विचारको घोषणापत्रका आधारमा लिनु पर्ने हो । अहिले केही नामधारी वामपन्थी नेताहरूको सघन सक्रियता, जसमा बामदेव, माधव र प्रचण्ड तीनथरि वाम धारका नेता हुन् । उनीहरू बीचमा भएका संवाद वाम तालमेल वा गठबन्धन गरेर मुलुकलाई वाम सरकार दिनेतिर नभई नेपाली काँग्रेससँग सिटको तालमेलका विषयमा केन्द्रित हुँदै गरेको देखिँदै छ । वाम गठबन्धन, समाजवादी गठबन्धन आदि जे भनिए पनि भारतीय सत्ताधारीसँगको खासखुस र अदालतीय सेटिङका लागि गरिने गठबन्धनभन्दा राष्ट्रिय स्वाभिमान र स्वाधीनताका लागि गरिने प्रतिबद्धताको ठुलो अर्थ हुन्छ । 

सुन्दा उस्तै सुनिने भए पनि प्रस्तावित गठबन्धनको अर्थ भिन्न छ भन्ने कुरा छर्लङ्ग छ । जनादेश र परमादेश उस्तै सुनिन्छ । वाम गठबन्धन, समाजवादी गठबन्धन पनि उस्तै सुनिन्छ, तर जे जसरी प्रयत्नहरू अघि बढेका छन्, तिनको अर्थ भिन्न छ । 

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  १२ : १८ बजे